गगन ढकाल । झापा ।
झापा मेचीनगर– १० धुलाबारीमा वि.सं. २०५३ सालमा स्थापना भएको त्रिफला राष्ट्रिय पुस्तकालय रहेको छ । उक्त पुस्तकालयमा ५० हजार माथिको संख्यामा पुस्तकहरु रहेको पुस्तकालयका सञ्चालक एवम् अध्यक्ष प्रेमप्रकाश फलाहारी बताउँछन् ।
पुस्तककालय सञ्चालनमा आएदेखि यसको नेतृत्व सम्हालिरहेका फलाहारीले पुस्तकालयमा आधुनिक साहित्य, पाश्चात्य साहित्य, इतिहास र पूर्वीय दर्शनका पुस्तकहरु रहेको बताए । पुस्तकालयमा आख्यान, गैर–आख्यान, कविता र काव्य सबै किसिमका पुस्तकहरु रहेका छन् । त्रिफला आधुनिकदेखि पौराणिक पुस्तकहरुको एक सेतुको रुपमा ठडिएको छ ।
प्रेमप्रकाश फलाहारी, कुलबहादुर भण्डारी, मोहनकुमार खड्का, भक्तिप्रसाद सिटौला र विष्णुभक्त पराजुली गरी जम्मा पाँच जना पुस्तक प्रेमीहरुको लहडमा खुलेको त्रिफला पुस्तकालय आज नेपाल, भारत, भुटान र बर्माका नेपाली भाषी साहित्यप्रेमीहरुको साझा थलोको रुपमा स्थापित भएको छ ।
त्रिफलाले सुरुवाती दिनमा घुम्तीबाटै पुस्तकप्रेमीहरुको तिर्खा मेट्ने काम गरेको थियो । सञ्चालक फलाहारी पुस्तकालयको औपचारिक उद्घाटन भएको दिनको स्मरण गर्दै भन्छन्, ‘पुस्तक पढेर पुस्तकालयको उद्घाटन त गरियो तर ती पुस्तक कहाँ सङ्ग्रहित गर्ने कुनै निश्चितता थिएन, मैले सबै पुस्तक घरै लगेर एउटा घुम्ती खोली त्यहीँबाट पाठकहरुलाई पुस्तक उपलब्ध गराए । कतै डेरा खोजेर पुस्तक राख्ने पैसा पनि थिएन ।’
विविध विषयका हजारौं पुस्तकहरुको सङ्ग्रह र आलिशान भवन भएको उक्त पुस्तकालय जानेर नखोलिएको सञ्चालक फलाहारी बताउँछन् । उनी भन्छन्, ‘मलाई सन्तहरुको सङ्गतले पुस्तकालय र पुस्तकप्रति प्रेम बडेको थियो, त्यसै प्रेमको प्रेरणाले पुस्तकालय खोल्न पुगेँ ।’
हजारौं पुस्तक रहेको पुस्तकालयलाई स्थानीय सरकारले खासै वास्ता नगरेको फलाहारीको गुनासो रहेको छ । उनी भन्छन्, ‘बाटो–घाटो, कुलो–कुलेसाको विकास मात्र अनिवार्य होइन, पुस्तकालय पनि अनिवार्य हो तर हाम्रा शासक यो मान्दैनन् ।’
‘सरकारलाई पुस्तकालयमा लगानी गर्नुपर्छ भन्ने नै छैन । यतिसम्म कि, पुस्तकालय दिवस मनाउने बजेटसमेत पाइँदैन’, उनले थपे, ‘हामीलाई स्थानीय सरकारबाट खासै केही चाहिएको छैन, बस दुई जना पुस्तकालय सञ्चालन गर्ने विज्ञ कर्मचारी उपलब्ध गराइदिए पुग्छ ।’
केही वर्षअघिसम्म पुस्तकालयमा पाठकहरुको नियमित उपस्थिति हुने गरेको तर हाल पुस्तकालय धाएर अध्ययन गर्ने पाठकहरुको संख्यामा कमी आएको सञ्चालक फलाहारीले बताए । सरकारी निकायले पनि पाठकको कमी भएकै कारण पटक–पटक ‘अब पुस्तकालयको काम छैन’ भन्ने गरेको अनुभव सुनाउँछन् । भन्छन्, ‘समाज डिजिटल भयो भन्दैमा पुस्तकालयलाई कम आँक्नु हुन्न । पुस्तकालय भनेको ज्ञानको भण्डार हो, यो सबै विधाका अध्यताहरुको साझा थलो हो । यसको काम छैन भन्नु भनेको ज्ञान चाहिँदैन भन्नु हो ।’
आजभोली समाजको आधुनिकीकरणसँगै नवपाठकहरुको छनोटमा पुस्तकालय कमै मात्र पर्ने गरेको सञ्चालक फलाहारी बताउँछन् । भन्छन्, ‘नयाँ पाठकहरु छैनन् भन्न नमिले पनि कमी चाहिँ भएकै छ । युवापुस्तामा पुस्तकालय प्रेम कमै देखिन्छ ।’
युवापुस्ताको पुस्तकालयप्रति चासो कम भएको विषयमा कुरा गर्दैगर्दा बाहिरबाट आवाज आयो, ‘सुन्नु त ! भित्रको हुनुहुन्छ ?’……
‘सुन्नु न… को हुनुहुन्छ ?’
बाहिर त्रिदेव बहुमुखी क्याम्पसको शिक्षा संकायअन्तर्गत स्नातक दोस्रो वर्षमा अध्ययनरत तीन जना विद्यार्थीहरु उभिइरहेका थिए । उनीहरुले पुस्तकालयको बारेमा जानकारी लिए, र आफूहरु पुस्तक पढ्न आएको बताए ।
उनीहरु भन्छन्, ‘पुस्तकहरु हेर्न पाइन्छ ?’
त्रिदेव बहुमुखी क्याम्पस चारआलीबाट पुस्तकालय खोज्दै आएका ती विद्यार्थीहरु मेचीनगर –१५ स्थायी बसोबास गर्ने समीक्षा सुब्बा, निकिता करुवा र चन्द्रकला खड्का थिए । उनीहरुले करिब दुई घण्टा पुस्तकालयको अवलोकन गरे, र छुट्नेबेला भने, ‘त्रिफलाभित्र त हजारौं फलहरु रहेछन् ।’
कुनै समय घुम्तीमा अटाएको त्रिफलासँग हाल तीन तलाको बडेमानको भवन र ५० हजारभन्दा धेरै पुस्तकहरु रहेको छ । जसको कूल सम्पत्ति करिब २० करोडमाथि रहेको सञ्चालक फलाहारी बताउँछन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।