भोट त हामीलाई नै हो हजुर
अब गर्न के बाँकी छ ?
देश समृद्धिको लागि त
हाम्रो घोषणापत्र नै काफी छ।।

लेख्ने बोल्ने स्वतन्त्रता दिलायौँ,
ढुङ्गा हान्न सिकायौँ ।
मोबाइल इन्टरनेट दिलायौँ
र त गाली गर्न सिकायौँ ।।
भएका सबै उद्योगहरू बन्द गरायौँ,
कबाडीमै बिकायौँ ।
राहदानी सजिलै दिलायौँ
र त श्रम अन्तै गर्न सिकायौँ ।।

भोट त हामीलाई नै हो हजुर,
अब गर्न के बाँकी छ ?
देश समृद्धिको लागि त
हाम्रो घोषणापत्र नै काफी छ।।

ठेक्कापट्टा, पद-पदवीहरू
किन्ने र चिन्नेलाई दिलायौँ ।
गुन्डा भ्रष्टलाई जोगायौँ
र जोरीलाई जेलमा फसायौँ ।।
वृद्ध अशक्तलाई भत्ता दिलायौँ
चढ्नेलाई टावर ठड्यायौँ ।
जनतालाई बोकी नसक्ने गरी,
ऋणको भारी लदायौँ ।।

भोट त हामीलाई नै हो हजुर
अब गर्न के बाँकी छ ?
देश समृद्धिको लागि त
हाम्रो घोषणापत्र नै काफी छ।।

कानुनमाथि श्री ५ थिए,
अब भुरे-टाकुरे सबैलाई बनायौँ।
कालोलाई सेतो र सेतोलाई कालो हो
भन्नेसम्म गरायौँ ।।
सत्ता टिकाउन साम-दाम-दण्ड-भेद
सबै-सबै चलायौँ ।
अर्थको कमी छैन महोदय
यसपालि घरलाई नै बैंक बनायौँ ।।

भोट त हामीलाई नै हो हजुर
अब गर्न के बाँकी छ ?
देश समृद्धिको लागि त
हाम्रो घोषणापत्र नै काफी छ।।