अन्तराष्ट्रिय बाल दिवसको उपलक्ष्यमा बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण मन्त्री कल्याणी देवीले फरिया सुर्की सुर्की भाषण छाँटिन् ।

“बालबालिका सडकमुक्त, श्रममुक्त हुनेछन् र कुनैपनि बालबालिका, पढ्ने अवसरबाट वञ्चित हुनुपर्ने छैन । यो हाम्रो सरकारको पहिलो प्राथमिकता हो ।”

भिडबाट तालीका पर्रा छुटे र उनले सबैबाट वाहवाही पनि पाइन् ।

कार्यक्रम समापन गरेर घर पुग्दा आँगनभरि प्रहरी र पत्रकारको भिडभाड थियो । भिडबाट आवाज आयो–

 “मन्त्री महोदय ! तपाईंविरुद्ध तेह्र वर्षकी बालिकालाई मजदुर बनाई श्रमशोषण र कुटपिट गरेको आरोप लागेको छ । यस विषयमा तपाईंको केही भनाइ छ ?”

मन्त्री महोदय नतमस्तक भइ शिर निहुराएर मुचुल्कामा हस्ताक्षर गर्न अघि बढिन् ।