एक रात

आमाले छोरो लडेको सपना देखिन्

आत्तिएर बिउँझिइन्

जुरूक्क उठिन्

दौडेर गइन् छोराको निधार छाम्न

छोरो झिँजियो-

‘छोड, सुत्न देऊ !’

आमाले देउता ढोगिन्

धुप-बत्ती बालिन्

बाँकी प्रहर नसुती रात काटिन्

र, छ्याङ्गै उज्यालो पारिन्

अर्को रात

छोरोले आमा रोएको सपना देख्यो

झस्केर बिउँझियो

बिउँझियो तर उठेन

बरू झोक्कियो ऊ-

‘ह्या… सपनामा पनि सुख दिन्नन्, बुढी माउ !’

फनक्क फन्किँदै

कोल्टो फेर्‍यो

र, भुसुक्क निदायो ।