
कि युरोप, अमेरिका जाओ
कि युके, अष्ट्रेलिया जाओ
भाँडा मस्काओ, ट्वाइलेट चम्काओ
उतैको पीआर ले’राओ
उतैको पास्पोर्ट बनाओ
सके बाउ-आमा उतै लैजाओ
नसके वृद्धाश्रम पठाओ
चाहे खुसीले रमाओ
चाहे दुःखले कराओ
बस्, फर्केर स्वदेश नआओ
धेरैलाई डाँडा कटाउनु छ
यहाँ गरिबी हटाउनु छ
कि कुवेत, मलेसिया जाओ
कि साउदी अरेबिया जाओ
तातो आकाशमुनि जेलजीवन बिताओ
उतै पसिना बगाओ, बलिन्द्र आँसु खसाओ
सके रेमिट्यान्स पठाओ
नसके आयु घटाओ
चाहे रगतै रित्याओ
चाहे जीवनै सिध्याओ
बरू, बाकसमा फर्केर आओ
धेरैलाई डाँडा कटाउनु छ
यहाँ बेरोजगारी घटाउनु छ
देशमै बस्यौ भने
मायाजालमा परौला
बिहेवारी गरौला
घरबार बसाउला
सन्तान जन्माउला
झन् बेरोजगारी बढ्दैन ?
सन्तान बाठो भो भने
हामी भन्दा माथि चढ्दैन ?
त्यसैले, अझ धेरै मतियारहरू
छ्यप्छ्याप्ती खटाउनु छ
हाम्रा युवा बेरोजगारहरू
ठाउँठाउँमा पठाउनु छ
यहाँ गरिबी हटाउनु छ
धेरैलाई डाँडा कटाउनु छ
यहाँ बेरोजगारी घटाउनु छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
