कहिलेकाहीँ आँखा भरिन्छन्,
तर किन र कसको लागि ? — थाहा छैन ।
बोल्न खोज्छु शब्दहरू ओठमै थामिन्छन्,
र, मनको गर्जन मौनतामै हराउँछ ।
थुप्रै कुरा छन् —
जुन गुनासो बन्न खोज्छन्,
तर आवाज बन्द छ,
शब्दहरूले पनि साथ छाडेका छन् ।
बरु हिजोआज आँशुहरू बोल्न थालेका छन् —
शब्दविहीन सन्देशहरू झर्दछन् बर्गेल्ती,
अनि मनको गल्लीमा बगिरहन्छन्
अदृश्य पीडाको खोला बनी ।
कसलाई के भनौं खोई ?
जब भित्रै एक युद्ध चलिरहेको हुन्छ,
जहाँ शत्रु म नै हुँ,
र पीडित पनि म नै ।
तर, थाहा छ तिमीलाई ?
म भाँचिएको छैन,
तर लाग्छ कतै,
केही कुरा चुँडिएको छ,
मनको कुनामा एक अनुभूति,
जसले सारा संसार बेग्लै देखाइरहेको छ।
किन किन, आज सबै कुरा अज्ञात लाग्छ,
चिनेका अनुहारहरू अपरिचित,
र आफ्नो अस्तित्व नै पराइ ।
तर यो मौनता नै मेरो चिच्याहट हो,
यो आँशु नै मेरो कविता,
र, यो मौन युद्ध नै मेरो साहस ।
किनकि जब शब्द मर्छन्,
भावनाहरू झन् प्रबल बन्छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१० कार्तिक २०८२, सोमबार 








