मनोजकुमार कँडेल

कस्तो डा. परेछ कुन्नी ?
न त पैसा कमाउने ध्यान
न महल ठडाउने योजना
न त माफियाले किन्न सके
न सरकारले पेल्न सक्यो ।

“इमान्दार” कति बलवान् हुने रहेछ !
हेर्नुस्, त्यो बौलाहा डा. लाई ।

कस्तो बौलाहा डा. हो कुन्नी ?
विकट गाउँ-गाउँमा रमाउँदै
दिनदुःखीको सेवामा समर्पित सधैँ
घर-घरमा पुगेको छ
डाँडाकाँडा थिचोलेको छ ।

“कर्तव्यनिष्ठा”को जग कसले हल्लाउने
चिन्नुस् त्यो बौलाहा डा.लाई ।

बौलाउन पनि कति बौलाएको कुन्नी ?
न त अन्न चाहिने, न त पानी
न त करोडौंको महल
सडकमा, चिसो भुईंमा, अस्पतालका बेडमा पनि
बाँचेकै छ, ट्वार ट्वार कराइरहेछ ।

“सत्याग्रह”को त्यो राप र तापले
सत्ताधिकारीका निद हराम गराइरहेकोछ ।

सत्तावाल, भत्तावाल, पैसावाल
सबै-सबै थर्किएका, तर्सिएका
अधिकारका, विकासका, समृद्धिका भाका भुक्ने
पद, प्रतिष्ठा, सुविधाको पछि झुक्दै विचरा
“बुद्धिजीवी” भनौँ कि “परजीवी” कति निरीह देखिएका ।

“निःस्वार्थता”को तागत कति वलवान
सत्ताधिकारीका निद हराम गराइरहेकोछ ।

उनै सत्याग्रही, कर्मयोगीको अगाडि नतमस्तक
रुँदै, बहुलाउँदै सम्झौताका नाममा झुक्याउँदै
सर्वहाराका शासक निर्लज्ज नाङ्गिएका छन् आज
खबरदार पूरा गर तिम्रा बाचा
बचाऊ जनताको छोरोलाई, नबढाऊ अझै झूटा भाका ।

“बुलन्दित” हुँदैछ जनताको आवाज हुन्छ बलशाली
संसार बदलेको, राजा महाराजा झुन्ड्याइएको इतिहास छ साक्षी ।

भक्तपुर, कटुन्जे