हिउँका न्याना भुवाहरू ओढेर
सधैं चाँदीको मुस्कानमा चम्किरहेका
लोभलाग्दा हिमालका टाकुराहरू
आजभोलि- हिउँको त्यो न्यानो नपाएर
थरथराउँदै चिसो सिरेटो सहेर
मात्र – आधा ज्यान बाँचिरहेका छन्

भन्छन्, “तिम्रो धुँवाको मुस्लोबाट निस्केको
प्रदूषित आगोको तीव्र रापबाट
मलाई आजको आजै जोगाऊ
र त्यही हिउँको न्यानो ओढेर
तिम्रो हृदय भित्रको लालायित
मायाको अवलोकनमा बाँच्नदेऊ”

वास्तवमा – प्रकृतिको पनि हृदय हुन्छ
सिंगै श्रृष्टिसँग बोल्ने आफ्नै भाषा हुन्छ
जसलाई मान्छेले हृदयदेखि बुझ्न
हृदयकै भाषामा अनुवाद गर्नुपर्छ

अन्यथा – त्यो दिन नआउला भन्न सकिन्न
जुन दिन हिमालमा हिउँ नहुन सक्छ
रोपाइँको बेला बेशीमा बिउ नहुन सक्छ ।

चैनपुर, संखुवासभा
हाल: रातोपुल