शङ्का त थियो – त्यसैबेला
हाम्रो घर कसैले भत्काइरहेछ
कसैले जलाइरहेछ

तर अपसोच
सिंगै घर – आधा खरानी भएपछि मात्र
आगो लगाउनेहरू चिनिदैछ

कसरी शङ्का गरूँ –
त्यस्तो असल छिमेकी र मित्रहरूलाई
जसले आफ्नै छोरालाई – आफैँमाथि
प्रहार गर्ने हतियार बनाउँछ भनेर
फूलको कलिलो सुवासमा – यसरी
निर्मम भएर विष खन्याउँछ भनेर

आफ्नै छोरा भनेर पनि के गर्नु
आफ्नो भन्दा बढी अरुको भएपछि

तर केही छैन – समयको चक्रमा
त्यो समय पनि आउँदैछ
जुन समयले –
साथ दिनेलाई लात दिनेछ
र लात दिनेलाई साथ दिनेछ ।

चैनपुर, संखुवा सभा
हाल: रातोपुल, काठमाडौँ