हरेक दिन मिर्मिरेमा भेट्छु
शहरको सडकका पेटीहरूमा
ठेलामठेल गर्दै दौडिन्छन्
देश प्रेम बिनाका युवा सपनाहरू

छिनमा भरमै खचाखच भरिन्छन्
कन्सल्ट्यान्सीका कक्षाहरू
अटेस् मटेस् हुन्छन्
विदेशीभाषाका स्कूलहरू
त्यस्तै परीक्षा पास गर्नु छ होला शायद
दाया बाया नहेरी
पण्डितले संस्कृतका श्लोकहरू भट्याए झैं
छाङ्छुङ्, छाङ्छुङ् भट्याउँदै भेटिन्छन् कोही
कति ध्यानले लागिपरेका छन् यिनीहरू
कान थापेर सुनी हेर्छु
के पढ्दैछन् ती
कुनै भेऊ पाउँदिन
कोही टोफेल, आईएलट्स् र जिआरई बर्बराउँछन्
बिना सीपकालाई पनि डर छैन
पासपोर्ट र भिसाका लाइनमै देखिन्छन्
थोरै मात्र भेटिन्छन्
शिक्षक, कर्मचारी, प्रहरी र सेना बन्न खोज्नेहरू
लोकसेवाका किताब किनेर पढ्नेहरू
बरू नेता हुने लहड देखिन्छ
किसान बन्ने त कुनैले
सपना पनि देख्दैनन् शायद

उद्देश्य एउटै छ तिन्को
जाने विदेश नै जाने
परदेशमा बोट मै पैसा फल्छ लाग्दो हो
यो देशमा बसी
गर्ने हैन खेति किसानी
हाम्रा हैनन् साना तिना काम
अरूले झैं सुट्केस गुडाउँदै
चढ्न जाने हो हवाइजहाज
फर्कने हो सुकिलो लाहुरे भएर

खेर गइरहेका छन् आफ्ना खजाना
देख्दैननौ स्वदेशमा केही ?
मनमनै प्रश्न गर्छु
र तिनको मुहारको भाव पढ्छु
बुझेझैं लाग्छ उनका भाव
चित्त बुझ्दो रोजगारी छैन
यो देशमा बसेर के गर्छस्
नातावाद कृपावादमा कति मर्छस्
लाग विदेश नै लाग

बाह्रौँ कक्षा सक्नै हतार छ
भिसा नपाएसम्म कलेजमा नाम लेखिन्छन्
भिसा पाएपछि
क्याम्पसका कक्षाहरू रित्तिन्छन्
ओल्लो घरे, पल्लो घरे तल्लो घरे सबै विदेश
राष्ट्र सेवक बन्छु भन्न कोही सक्दैन
मानिदिन्छन् यहाँ असक्षम नालायक
र विवश भई लाग्नु त छ
तिमीहरूलाई परदेश

आधुनिकताका नाममा
चाउचाउ, चुईंङ्गम् र कुर्कुरे चपाउँदै
पिजा, बर्गर र मोमोमा रमाउँदै
खोल फाल्दै हिँडेकाहरू
यो शहर सफा होस् लाग्दैन
यो देशको माया नै छैन
आफू बस्ने कोठा आमाले सफा गरिदिनु पर्छ
बाबु आमाले वयस्क सन्तानलाई पाल्नु पर्छ
त्यै पनि
आमाले पकाएको खाना रूच्दैन
बाबुले दिएको उपदेश पच्दैन
स्वदेशी पहिरन लाउनू त कहाँ
राष्ट्रिय पोशाक शायद चिन्दैनन्
जान्दछन् त विदेशी फेशन
मनाउँछन् बर्थ डे र भ्यलेन्टाइन डे
बोल्छन् डार्लिङ् र बेबी
खै के सिक्यौ के जान्यौ
यथार्थमा हैन
भर्चुवल संसारमै रमाउँछौ
शायद हामीले सिकाउन सकेनौं देश प्रेम
बुन, तिमीहरू बिदेशका सपनाहरू बुन

म तिनीहरूकै जमातमा बसेर
तिनीहरूलाई नै नियाल्दै छु
तिमीहरूलाई अत्तोपत्तो छैन
र थकित भएर सुस्केरा हाल्दैछु
आमाको काखमा हुन्जेल त हो
जे गर सहुँला बाबु नानी हो
सुन्दैनौ त बा आमाले बोलेको
माया गर भन्दा माटोको

परदेशी भएपछि बल्ल बुझौला
कस्तो हुन्छ स्वदेश भनेर
विदेशी नागरिक भनि लखेटिनु पर्ला
परदेशका नियम कानुनले बाँधिँदा
कस्तो हुन्छ अनुशासनमा बस्दा
तिमीहरूले देख्नु छ एक पटक
उनीहरूको खटाई
उनीहरूको विकास
जाऊ जाऊ
महंगोमा बुद्धि किनेर फर्किएर आऊ ।

धोविघाट, ललितपुर