धन्य ! बुद्ध
तिमी जन्मियौ यो धर्तीमा
र हटायौ अन्धकारलाई
एउटा चम्किलो तारा बनेर
सिकायौ सबका मन मनमा
उज्यालो शान्ति दीप बाल्नलाई
ती कुरीति र अहंकारहरूलाई हटाउन
सहयौ कति कष्टहरू तिमीले
तैपनि कत्ति विचलित नभईकन
सर्वोच्च उदाहरण बनेर त्यागको
सिकायौ पाठ शान्तिको
प्रिय जननायक बनेर
शान्तिको रहस्य बुझेर
ज्ञानको ज्योति फैलाएर
हाँसीहाँसी सुधार्यौ मूर्खजनलाई
यो पवित्र भूमिमा
रोप्यौ बीजहरू शान्तिका
ती निरन्तर फलिरहून्, फुलिरहून्
नत्र यो शान्ति भूमिमा
के के अनिष्ट हुन्थ्यो होला
कल्पना गर्छु म
पान्डवलाई कौरवले सताए झैँ
सत्यानाश हुन्थ्यो होला
देवतालाई राक्षसले अत्याए झैँ
हाहाकार हुन्थ्यो होला
कति लडाईं हुन्थे होलान्
कति झगडा बुन्थे होलान्
मरूभूमि बनाउँथे होलान्
तिम्रो हाम्रो प्यारो मातृभूमिलाई
कहिलेकाहीँ त बिर्सन्छन् क्यारे तिमीलई
लोभी पापी मनुवाहरू
तिमीलाई थाहै छ
गृहयुद्ध पनि भोगियो
हत्या हिंसा पनि देखियो
सबै तहसनहस सबै सखाप
अब चाहना छ त केवल
बाँकी सन्ततीहरूलाई
लड्नबाट जोगाउने छ
शान्तिपूर्ण जीवन बाँच्ने छ
बुद्ध! पुन: तिमी आइदेऊ
फेरी एकपटक
देश सम्हालीदेऊ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 






