ध्यानमा बस्न खोज्छु
आँखाभरि चित्र आइरहन्छ
प्रश्न उठिरहन्छ
चलाउने को होला ?
त्यो प्राकृतिक शक्तिलाई
युगौँ देखि शान्त त्यो विषाणुलाई
यति उग्र रिसाउने पारेर
बिच्क्याउने को होला त्यसलाई ?
संसारै कब्जा गरेर
देखाउँदैछ ऊ आफ्नो शक्ति
अदृश्य छ आफू
यी सादा आँखाले के पत्तो लाउँनु ?
औषधि उपचार कहाँ छ र पाउँनु ?
सर्वत्र फिजाई आफ्ना सेनाहरू
एक एक गरी आक्रमण गर्दैछ
सखाप पार्छु भन्दैछ
यो धराको मानवको अस्तित्व
अवतारै लिई आएको हो की ?
यो कलियुगमा
मान्छेको ज्यादति
अति र खति
सुधार्न पो आएको हो की ?
विवेकहीन मान्छेहरू
पशु पङ्छीलाई चिथोर्न त
पल्किएकै थिए
यो विषाणु त उल्टो देखियो
जो मान्छेलाई नै पछार्न पल्कियो ।।
यति कडा महामारी
कहिले भोगेको थियो र मान्छेले ?
मान्छे उन्नति गरेँ भन्छ
विकासको शीखर चढेँ भन्छ
आफैँले आफूँलाई वरिष्ठ ठान्छ
तर आज त नतमस्तक छ !
यी आँखा खोल्नै मन छैन
यी अत्यास लाग्दा
मानव मृत्युका खवरहरू
कुनै खराब सपना होस्
यो सुन्दर संसारका
पवित्र आत्माहरू
अनि मेरो सौम्य, शान्त, स्वर्गीय गाउँघर
यो अदृश्य विषाणुको आतङ्कले
कदापि सखाप नहोस् ।।