अधवैंशेहरू छिटोछिटो लम्किन्छन्
गोडा तन्काएर, हात-कुम हल्लाएर
फुर्तिंदै भन्छन्, मर्निङ वाक गरेको
युगल जोडीहरू आरामले हिँड्छन्
हात समाई, कुम जोडाई, मस्किदै
अनि भन्छन्, डार्लिङ वाक हिँडेका
फरक अनेक छन्, दुई वाकहरूमा
हिडिन्छ जति दुई फड्को मर्निङ वाक
त्यति हुन्छ चार फड्को डार्लिङ वाक
झिसमिसमै उठ्ने, निस्कने घरबाट
उत्तर, कहिले दक्षिण हिँड्ने फटाफट
कहिले पूर्व, कहिले पश्चिम दौडने
बनेको छ फेसन, नहिँड्नेहरू छुटे
खै के भनौं, पछि नै परे धेरै कुराबाट
बाटो छेउका फोहोरसँग भेटघाटबाट
दुईपाङ्ग्रे चारपाङ्ग्रेका धुलो धुँवाबाट
कुकुर चराउनेका दन्ते मुस्कानबाट
छिमेकी-आफन्तका कुरा काट्नबाट
अनि आफू साँचिलो बन्ने मौकाबाट
कुनै कुनै दिन म हिँड्छु, नियमित हैन
देख्छु हिड्ने नयाँ पुराना अनुहारहरू
हिँडाई उस्तै हो, मोर्निङ डार्लिङ वाक
सिजनअनुसार पोशाक फरक फरक
सुगर प्रेसर घटाउन, बोसो पगाल्न
तौल बढाउन घटाउन, सन्तुलन राख्न
चिकित्सकीय सल्लाह मानेजस्तो गर्न
कसैलाई जरूरत हुँदो हो मोर्निङ वाक
धेरैलाई बनेको छ रहर डार्लिङ् वाक
जे होस्, फेसन बनेको छ, मोर्निङ वाक
प्रकृति र समाज चलायमान पारेको
दिनचर्याको शुरूवात हो मोर्निङ वाक
हिँडेका छन् एकाबिहानै एक से एक
बोकेका छन् आ-आफ्नै उद्देश्य अनेक
उक्सिएको भुँडी घटाउने उपाय खोज्न
टाक्सिएको पेट उकास्ने काम खोज्न
कोही तन्दुरुस्त लाहुरे बन्ने ध्याउन्नमा
लाहुरमा छँदा मर्केको ढाड सोझ्याउन
एक पन्थ दो काज, सबै मोर्निङ वाक
साथमा बढ्दैछ शोख, डार्लिङ वाक
मनको तनको सुख सबैमा भराई दिने
केही नभए, जसैतसै गफै गर्न त पाइने
उमेरले नछेक्ने, स्थान विशेषले नरोक्ने
मनले नै त हो, तनलाई सबेरमै उठाउने
गोडा तन्काई शरीरलाई बिहानै हिँडाउने
आउनुहोस् तपाईं हामी पनि सबेरै हिँडौँ
रोज्न मोर्निङ वाक र डार्लिङ वाक छँदैछ
चाहना र आफ्ना बहानाअनुसार भिडौँ
नतीजा जेजसो भए पनि फाइदा छँदैछ
सानैदेखि सुनेको सम्झौँ, अर्ली टु राइज
मेक्स मेन एण्ड ओमन हेल्दी, है गाइज !
कोटेश्वर, काठमाडौँ
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।