विगत र वर्तमानबीच च्यापिएको
सपना विपनाको यथार्थ भोगेको
पिंडीबाट ऊ सधैँ नियाल्छ समय
त्यहीं बसी सबेरै देख्यो सूर्योदय

मध्याह्नको खेप्यो गर्मी अथाह
बन्यो अपराह्न सूर्यास्तको गवाह
झेल्नुछ अझै पट्यार लाग्दो रात
अनिद्रामा देखिने सपनाका साथ

आँखाभरि बुढेसकालीन चित्र नाना
नभोगेका विपना, नदेखेका सपना
सपना गिज्याउँछ, ठट्टा गर्छ विपना
आफैँ भन्छ, ‘बुढेसकाल बसी खाने?’
‘तिम्रो सपना मात्र थियो त्यो त!’
भित्रबाट जवाफ दिन्छ आशालु मन,
‘हेर, कहिल्यै मर्दैन र हार्दैन सपना,
बरू फेरिई रहन्छ भोगाइको विपना’

जिन्दगी रेल-इञ्जीन भयो भोगाई
सपना र विपनाको सधैंको लडाईं
बाफले शुरू भएथ्यो छुकछुके रेल
अहिले उड्छन् बिजुलीको खेल

अझै कोही घिस्रँदैछन् कोइलाले
कोही कोही दौडदैछन् डिजेलले
यता देख्दैछ ऊ संग्रहालय सपना
बिसाउन सधैँलाई उसका विपना

कठपुतली सोच्छ आफूलाई मन
गडिएका आँखा, थलिएको तन
सिंह छविमा मुसे भाग्य पाएको
अरूकै ओैंलाहरूले नचाएको

डुब्दो सिन्कालाई त्यान्द्रो सहारा
‘अझै बाँकी छन् धेरै धेरै सपना
‘हेर त,’ अझै सास र आश चल्छ
यो अन्त होइन’, भरोसा बोल्छ

गहिरो जरे बूढो पीपलझैँ पर्खन्छ
आश मारेको छैन, वसन्त फर्कन्छ
केही थोपा पानी र घाम पुगेपछि
सपना विपनाको ताल मिलेपछि

अब सपना विपनाको संघारमा
चेपिएको हैन, नयाँ सोच खोज्दैछ
अझै नियाल्छ सुदूर क्षितिजलाई
साँझपख उदाउँदो जून हेर्नलाई

नक्षत्रका ताराजस्तै छुन नसकिने
धरतीको धूलोझैं बिर्सी नसकिने
सपना र विपनाबीच द्वन्द्वको संसार
सोचाइ र भोगाइ छुट्याउने संघार

पुस्तैनी मूल्य र फेरिएका सपना
समयचालले बद्लिएका विपना
विगत-वर्तमानमा नचेपिएको रहर
बोल्दैछ, संघारमा आशाको स्वर!

कोटेश्वर, काठमाडौँ
(हालः ब्रिसवेन, अस्ट्रेलिया)