
२०८१ वैशाख १४, शुक्रवार बिहान ६:३५ मा धुलाबारीबाट हामी तेजराज, मुना, देवेन्द्र, अनिता, सुशिला, सविना र सार्थक, नागरडुवा (ढाटचोक) बाट दमन्ता र इटहरीबाट कविता गरी १० जनाको टोली जम्मा भयो । स्कर्पियो गाडीमा सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको त्रिकोणीय सीमा तीनजुरे क्षेत्रलाई गन्तव्य बनाएर त्यस क्षेत्रको गुराँस अवलोकन गर्ने उद्देश्य लिएर यात्रामा निस्क्यौं ।
तीनजुरे, मिल्के र जलजले क्षेत्रका गुराँसका वनहरूलाई समेटेर २०५४ सालमा नेपाल सरकारले राष्ट्रिय गुराँस एवं वातावरण संरक्षण क्षेत्रको रूपमा घोषणा गरेको गुराँसको राजधानीका नामले पनि चिनिन्छ । यस क्षेत्रमा २८ भन्दा बढी प्रजातिका गुराँस पाइने कुरा अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन् । तीनजुरे हालका वर्षहरूमा यातायातको पहुँच, यसको भौगोलिक र प्राकृतिक सौन्दर्य र गुराँस फुल्ने वनपाखाका कारण आन्तरिक पर्यटनका लागि पूर्वी पहाडको एक प्रमुख र आकर्षक गन्तव्य बनेको छ । झापाबाट तीनजुरेको दुरी लगभग १८० किमी छ ।
हाल पूर्व-पश्चिम राजमार्गलाई स्तरोन्नति र पुनर्निर्माण गरी एसियाली हाई वे बनाउने प्रयोजनका लागि बाटोछेउका हरियाली दिने रुखहरू काटिएकाले गर्दा बाटो उजाड देखिएको थियो । राजमार्ग दुवैतर्फ नयाँसडक ट्र्याक खन्ने, पुर्ने, सम्याउने, ठाउँ ठाउँमा रूख ढाल्ने, पन्छाउने कामहरू साथै कलभर्ट र पुलहरूका काम समेत धमाधम भैरहेकोले गर्दा कतै धुलो, कतै केही समयका लागि बाटो एकतर्फी बनाउनु पर्दा सवारी जाम भई यात्रामा ढिला हुने क्रम बढेको रहेछ । दमकमा इन्धन भर्ने र शौचालय प्रयोग गर्ने विश्राम र पथरीको जङ्गल सडकछेउ पोलेका मकै खाएर धुलाबारीबाट करिब ९० किमीको दूरीमा रहेको इटहरी पुग्दा घडीमा साढे आठ जति बजेको थियो
इटहरीबाट तरहरा हुँदै ‘हर्क साम्पाङको धरान’ जाने सडकको स्तर र सौन्दर्य प्रशंसायोग्य छ, इटहरी – धरान सडकको १७ किमी दुरीमध्ये केही खण्डमा निर्माण कार्य सक्न बाँकी नै रहेछ, ती बाँकी भाग पनि बनिसक्दा त सो सडक हुँदै गरिने यात्रा ‘आहा’ हुने कुरामा कसैको दुई मत हुन्न । धरानबजार भित्रैको बसपार्क, सानाठुला सवारीहरूको भिडभाड, बजारिया हल्लाखल्लामा खासै फरक नआए पनि केही मुख्य सडकहरू र चोकहरूमा शहर सौन्दर्यीकरणका लागि फूलका गमलाहरू, हरिया बोटबिरुवाहरू लगाइएका र यातायात व्यवस्थापनका लागि केही स्थानमा सवारी एकतर्फी मात्र गरिएको देख्न सकिन्छ ।
धरान पूर्वका लागि धेरै कुराहरूमा पथप्रदर्शक शहर हो, धरानको हंगकंग-यूके कनेक्सन, सहरिया फेसनदेखि जीवनशैली, प्राविधिक शिक्षा र स्वास्थ्य सेवा सुविधाको केन्द्र, अनि यहाँको सांस्कृतिक र धार्मिक समावेशिता अहिले मात्र हैन, धेरै अघिदेखि धरानका विशेषताहरूमा पर्दछन् । हाम्रो यात्रा धरान बजारलाई छिचोलेर भेडेटारतर्फ लम्कियो, बेलायत सरकारको सहयोगमा ४६-४७ वर्षअघि निर्माण भएको कोशी राजमार्गको ५० किमी धरान-धनकुटा खण्डको १६ किमीमा अवस्थित भेडेटार आन्तरिक तथा वाह्य पर्यटकहरूको राम्रो गन्तव्यको रूपमा विकास भएको छ । पूर्वी नेपालका कन्याम, श्रीअन्तु (इलाम) जस्तै भेडेटार पनि एक प्रमुख पहाडी मनोरञ्जन, विश्राम र पर्यटकीय केन्द्रको रूपमा प्रख्यात छ, मधेशबाट नजिकैको दुरीमा चिसो हावापानी र सुन्दर पहाडी प्राकृतिक वातावरणले भेडेटारको आकर्षण सबै उमेर समूहका आन्तरिक र वाह्य पर्यटकहरूका लागि उत्तिकै छ । सुविधा सम्पन्न होटल, लज, रिसोर्टहरू देखि साना रेष्टुरेण्टहरू, चियाकफी पसलहरू, स्थानीय उत्पादनहरू – सिजन अनुसारका फलफूल र सागसब्जीहरू बिक्री गर्ने पसलहरू प्रशस्त छन् ।
हामी भेडेटारमा रोकिएनौं, बरु फर्कँदा चियाखाजाका लागि भेडेटारमा रोकिने सल्लाह भयो । नमस्ते झरना चोकमा यौटा होटलमा खाना पकाउन लगाएर १५-२० मिनटको हिँडाइपछि पुगिने नमस्ते झरना हेरेर फोटाहरू खिच्यौं । अनि होटलतिर लाग्यौं । अर्डर नै गएर हिँडेता पनि पर्खिनु पर्ने बाध्यता भयो । र पनि हामी आनन्दसँग आफ्नो रुचिका खाना खायौँ । भोजन मिठो भयो भन्ने सन्तुष्ट भाव सबैबाट सुन्न पाइयो । त्यसपछि हाम्रो टोली स्कर्पियोमा अघि बढ्यो ।
गाडीमा केही बेरको ओह्रालो र तेर्सो गुडेपछि मुलघाट, तमोर पुल पुगियो । तमोर पुलका दुवैतर्फका बजारमा सिजनअनुसारमा स्थानीय उत्पादनहरू – फलफूल, सागसब्जीहरू साना पोकाहरूमा बेच्न राखेका हुन्छन्, व्यापारी युवायुवती, वयस्क महिला पुरुषहरू पुलछेउमा रोकिने सवारी साधनहरूका यात्रुहरूलाई सामान बेच्न तँछाड मछाड गरेर भिडभाड पनि गर्छन् । हामी गएको समय मध्य-वैशाखमा उखु, बेल, सजिवन, टमाटर, हरियो सागसब्जीहरू बेच्न राखेको देखिन्थ्यो । मुलघाटमा तमोर नदीमाथि वि.सं. २०३५/३६ तिर निर्मित २०० मिटर लामो सुन्दर फलामे पुल र यसको आकर्षक डिजाइन फोटो खिच्नका लागि छुटाउने कुरै भएन, पुललाई पृष्ठभूमिमा राखेर सिङ्गल, युगल, समूह छाया चित्रहरू एन्ड्रोइड देखि आईफोनसम्म मोबाइल फोन क्यामेरामा कैद गर्न भ्याइयो । फोटो खिची सकेपछि हाम्रो धनकुटातर्फ उकालो यात्रा लाग्यौं । धनकुटा पुगिन्जेल बाटोमा सडकछेउका ससाना बस्तीहरू र बजारहरूमा स्थानीय उत्पादन गोलभेँडाका पोकाहरू बेच्न राखेको देखिन्थ्यो ।
हाम्रो यात्रा अघि बढ्दै जाँदा धनकुटा बजारलाई दाहिनेतर्फ छोड्दै जिरो किलोमिटरबाट हिलेतर्फ लाग्यौं, निगाले छेउछाउ सडक किनारमा केही बोटमा फलेका ऐसेलु टिपेर चाख्न सम्म पाइयो, हामी कतिपयलाई ऐसेलु नौलो कुरा थियो, अझ ऐसेलु टिप्दा काँडाले कोतरेको मज्जा अर्कै ! टोलीको अर्को विश्राम हिलेबजारमा भयो ।
तोङ्वाको स्मारक हिलेसँग तस्बिरहरू खिचिसकेपछि हिलेलाई पछि छोड्दै मध्य-पहाडी लोकमार्गलाई पछ्याउँदै पाख्रिवास कृषि अनुसन्धान केन्द्र तर्फ लाग्यौं । हाल नेपाल सरकार मातहत कृषि अनुसन्धान परिषद्को व्यवस्थापनमा रहेको पाख्रिवास कृषि अनुसन्धान केन्द्र वि.सं. २०२९ मा स्थापना भई र वि.स. २०५५ सम्म बेलायत सरकारको प्रत्यक्ष व्यवस्थापन, प्राविधिक संलग्नता र वित्तीय सहयोगमा सञ्चालनमा रहेको र नेपालमा कृषि र पशु अनुसन्धान, प्रचारप्रसार साथै कृषि र पशु विषयगत विज्ञहरू, सिनियर, जुनियर प्राविधिकहरू तयार पार्ने कार्यमा धेरै महत्त्वपूर्ण उपलब्धि र योगदान पुर्याएको थियो । हामी पनि केही समय केन्द्र भित्रको सुन्दर भू-बनौट, विभिन्न विषयगत शाखा उपशाखाहरू, बगैँचा र फूलबारीको मनमोहकताको अवलोकन गर्दै तथा केन्द्र भित्रको क्यान्टीनमा स्वादिलो चिया पिउँदै बितायौँ ।
पहिलो दिनको हाम्रो गन्तव्य बसन्तपुरसम्म भएकोले पाख्रिवासको छोटो भ्रमणलाई टुङ्ग्याएर पुनः मध्य-पहाडी लोकमार्ग हुँदै हिले फर्किएर सिंधुवा, गुराँसे हुँदै वसन्तपुरतर्फ लागियो । सिंधुवाको चोकबजारमा रहेको काउलीको स्मारकमा तस्बिर खिच्न केही समय गाडी रोकियो । पहाडी बजारको स्वरूप नै बेग्लै, चिटिक्क परेका कपडा पसल, किराना पसल, भाँडाकुँडा पसल, स-साना होटल, भट्टीपसल, फलफूल र तरकारी पसल – सबैजसो ठाउँमा यस्तै यस्तै हुन्छन् ।
वसन्तपुर पुग्दा अझै केही समय दिनको उज्यालो बाँकी रहेकाले लिम्बु किराँत संस्कृति झल्काउन बनाइएको चोलुंग पार्क – ढुङ्गाका प्राकृतिक संरचनाहरू, लिम्बु किराँत संरचना झल्किने भवनहरू र दृश्यावलोकनका स्थलहरूको भ्रमण गरियो, दिनभरको यात्रा र गाडी चढ्ने र उत्रने गर्दा भएको थकानले गर्दा किराँत सङ्ग्रहालय भित्र चैँ पसिएन । २०५४ सालमा प्रख्यात कवि वैरागी काईलाले उद्घाटन गर्नु भएको चोलुंग पार्क लिम्बु संस्कृति झल्काउने सङ्ग्रहालयको रूपमा विकाश गरिएको हो । लिम्बु भाषामा चो को अर्थ लक्ष्य (target) र लुँग को अर्थ ढुङ्गा (stone) हुन्छ । सांस्कृतिक खुलास्थल, संरचनाहरू र सङ्ग्रहालयका बारेमा यात्रीहरूलाई अलिक जानकारी गराउने पुस्तिकाहरू वा सूचना पार्टीहरूको व्यवस्था गर्न सके किराँत सभ्यता र संस्कृतिको परिचय गराउने, तथा प्रचारप्रसार, संरक्षण र संवर्द्धन गर्ने कार्यमा योगदान पुग्ने देखिन्छ । चोलुंग पार्क घुम्नका लागि प्रतिव्यक्ति रु २० प्रवेश शुल्क र सङ्ग्रहालयभित्र समेत घुम्नलाई रु ५० प्रतिव्यक्ति प्रवेश शुल्क लाग्ने रहेछ । राम्रो मौसम भई आकाश खुल्दा वरिपरिका डाँडाकाँडाहरू, पूर्वोत्तरतर्फ कुम्भकर्ण हिमालको शृङ्खला देखिने ठाउँमा रहेको चोलुंग पार्कको भविष्य राम्रो छ ।
गुराँसको सिजन अन्तिम हुन लागेको र सप्ताहान्तको अघिल्लो साँझ शुक्रवारको दिन सबै होटलहरू हामीजस्तै यात्रुहरूले भरिभराऊ हुने रहेछन् । वसन्तपुर तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिकाको केन्द्र हो । हाम्रो समूहको सविना बहिनीको एकजना साथी त्यहीँ वसन्तपुरमा जागिरको सिलसिलामा रहनुहुँदो रहेछ, उहासँग चोलुंग पार्कमा भेट भयो, वहाँबाटै होटलहरू खालि नभएको र होम स्टेटहरूमा बुझ्ने सल्लाह पाइयो । यौटा सम्पर्क नं लिएर होम स्टे सञ्चालकले दिएको लोकेसनमा पुगेर कोठाहरू र खाना खाने प्रबन्ध बुझ्दै जाँदा खासै चित्तबुझ्दो नभएपछि, दुईतीन जना भएर होटल, लजहरू खोज्दै जाँदा तीन वटा सुत्ने कोठा र खानाको प्रबन्ध हुने भयो ।
समूहमा पाइलटसमेत तीनजना पुरुष र छ जना महिला अनि दुई बच्चाहरू भएकोले महिला टोलीलाई दुई कोठा र पुरुष टोलीलाई एक कोठा गरेर बाँडफाँड गरियो, बाथरुम र शौचालय चैँ साधारण खालको र सबैले यौटै शेयर गर्नुपर्ने पाइयो ।
बस्ने बासको व्यवस्थापछि वसन्तपुर बजार चक्कर लगाइयो, चोक बजारको गुराँसको स्मारकमा तस्बिरहरू खिचियो । वासस्थानको अग्रिम व्यवस्था नगरेकाले सानो टोली भए पनि अलिक दुःख नै भयो, खाना खाने ठाउँमा सरसफाइको कमी, शौचालयमा पानीको अभाव जस्ता अवस्थाबाट गुज्रनु पर्यो ।
अझ रमाइलो त बाथरुममा पानी नभएपछि सविना बहिनीले बिहान पसलबाट मिनिरल वाटर ल्याएर बाल्टीमा खन्याई नुहाउन ठीक परेको, फेरि होटलवालाले पानीको व्यवस्था गरिदिएको, मिनिरल वाटरले अरू साथीहरूले मुख धुने लगायत कार्यहरू गरेको अनि मिनिरल वाटरले अनुहारमा चमक आएको भन्ने जस्ता सधैँ सम्झनामा रहने कामहरू भए ।
बिहानका नित्यकर्म सकाएर र बजारमा चिया बिस्कुट, सुख्खा रोटी खाएर हाम्रो यात्राको मुख्य गन्तव्य तीनजुरे तर्फ लागियो । वसन्तपुरबाट केही माथिबाट तेह्रथुमको म्याङ्लुङ जाने बाटो छुट्टिंदो रहेछ, म्याङ्लुङसम्मको दूरी २६ किमी रहेछ । म्याङ्लुङ जाने बाटो छुट्टिने ठाउँबाट उकालो केहीमाथि टुटे-देउराली बजार छ, यहाँबाट मुढे शनिश्चरे बजार, सङ्खुवासभातर्फ जाने बाटो छुट्टिन्छ, हामी चैँ तीनजुरे-गुफापोखरी जाने बाटोतर्फ हाम्रो यात्रालाई निरन्तरता दिन्छौं, यहाँबाट नै गुराँसको जङ्गल सुरु हुन्छ, गाडी भित्रबाटै गुराँस फुलेको हेर्दै उत्तरतर्फ अघि बढ्दै जाँदा करिब ६ किमी दूरीमा वसन्तपुर-गुफापोखरी-दोभान सडकको बायाँपट्टि अग्लो डाँडामाथि सङ्खुवासभा र तेह्रथुमको सिमाना (तामाफोक गाउँपालिका) मा पाथीभरा देवीको मन्दिर छ ।
यहाँबाट मौसम सफा भएको बेला तेह्रथुम, सङ्खुवासभा, भोजपुरका डाँडाकाँडाहरू, कुम्भकर्ण हिमशृङ्खलाका कञ्चनजङ्घा, मकालु जस्ता हिमशिखरहरू र सगरमाथाका केही भागसम्म देख्न सकिने कुरा जानकारहरूले बताए । केहीवर्ष अघिदेखि यो मन्दिरमा भक्तजनहरूको भीड लाग्न थालेको रहेछ, निकै उकालो चढ्नु पर्ने भएकाले भर्यांङ् बनाइएको छ । हामी चैँ तल बाटोबाटै पाथीभरादेवीलाई हृदयदेखि नमन गर्दै ‘या देवी सर्वभूतेषु शक्ति-रूपेण संस्थिता; नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।’ भन्दै अघि बढ्यौं ।
त्यहाँबाट करिब ३-४ किमीको दुरीमा हाम्रो गन्तव्य तीनजुरे पुगिंदो रहेछ । ४-५ वटा होटलहरू र घर भएको यो सानो बजारमा पनि वस्ने खाने ठाउँहरू उपलब्ध हुने रहेछन् । तीनजुरेमा गाडीबाट उत्रेर ढिला नगरी गुराँसको जङ्गलतिर लागियो, गुराँसको जङ्गल र फूलहरूको अवस्था हेर्दा हामी करिब दुईहप्ता जति ढिलो पुगिएछ कि जस्तो भान भयो । धेरै बोटहरूबाट गुराँसको फुल सुकेर झरिसकेका वा ओइलाएका ! केही बोटहरूमा भने अझै पनि ताजा गुराँसका रङ्गीविरङ्गी फूलहरू फूलेका र डाँडाभरिको बनमा रङ्गिन मनमोहक दृश्यले जो कोहीको मन लोभ्याउने नै रहेछ । हामी पनि सबैजना प्रफुल्ल भइयो । आफै पुगेर गुराँसको जङ्गल र २८ भन्दा बढी प्रजातिका रङ्गीविरङ्गी गुराँस फुलेका आफ्नै आँखाले नदेखुन्जेल मानिसहरू किन मरिहत्ते गरेर यति लामो यात्रा गरेर ‘गुराँस’ हेर्न गएका होलान् भनेजस्तो लाग्थ्यो, तर आफैले प्रकृतिको नजिकबाट नेपालको राष्ट्रिय फूल लालीगुराँस सहित त्यति धेरै प्रजातिका गुराँसको जङ्गल र फुलहरू देख्दा मनभित्र आउने खुशीका भावनाहरू शब्दमा पोख्न गाह्रो छ ।
हाम्रा टोलीका सदस्यहरू पनि गुराँससँगको सामीप्यलाई सम्झनास्वरूप तस्बिरमा कैद गर्न को भन्दा को कम जस्तो गरी हस्याङ्फस्याङ् गर्दै यताउता दौडेको देखियो, कतिपय गुराँसका बोटहरूमा त फोटो खिच्न पालो पर्खनु समेत परेको देखिन्थ्यो । फूलेका गुराँसका बोटहरूलाई पृष्ठभूमिमा राखी घुमीघुमी नाच्ने र भिडियो खिच्ने देखि लिएर तस्बिर खिच्नेहरूको धीत नै नमरे जस्तो पनि लाग्दथ्यो । हामी कतिजना कम्मर मर्काउन नजान्नेले पनि दिल खोलेर नाचियो, समूहमा, सिंगल र युगल नृत्यहरू गुराँसलाई पृष्ठभूमिमा राखेर भिडियोमा कैद गरियो, जिन्दगीमा प्रकृतिसँग रमाउन जान्नु पनि एक खालको कला नै त हो । केही अरू समूहका मानिसहरू गुराँस वन छेउछाउमा आफ्नै तम्बु टाँगेर गीत-सङ्गीतमा रमाउँदै प्रकृतिसँग आफूहरूलाई हराउँदै गरेका समेत देखिन्थे ।
आन्तरिक पर्यटनलाई अझ बढावा दिन त्यहाँको गुराँस संरक्षण र सामुदायिक वन समितिहरूले पालिकासँग मिलेर पदमार्ग, विश्रामस्थल, पिकनिक स्थल र गुराँसका बिरुवा रोप्ने साथै बारबेराको कामहरू गर्दै गरेका पनि देखिन्थ्यो । गुराँसका फूलहरू टिप्न नपाइने, हाँगाहरू भाँच्न नपाइने कडा नियमहरू रहेछन्, त्यस्ता गर्न नहुने कार्य गरेको पाइएमा दोषीलाई रुपियाँ ५ सयदेखि ५ हजारसम्म जरिवाना गरिने नियमहरू भएको थाह भयो । यी सबै व्यवस्थाहरूले हाम्रा भावी पुस्ताका लागि प्रकृतिको अनुपम सौन्दर्यमध्येको एक गुराँस फूल संरक्षण र संवर्द्धन गरेर गुराँसका वनहरूका प्राकृतिक सुन्दरतालाई जोगाई राख्न मद्दत पुग्ने देखिन्छ । संरक्षण समिति र वन व्यवस्थापनसँग सम्बन्धित निकायका जिम्मेवार व्यक्तिहरूले वन प्राविधिकहरूको सहयोग लिई विभिन्न प्रजातिका गुराँसहरूका रूखमा तिनीहरूका नेपाली, अंग्रेजी र वैज्ञानिक नाम लेखेर राख्ने तर्फ सोच राख्नु भए राम्रो हुने थियो, यसले गर्दा गुराँस सम्बन्धी जिज्ञासुहरूलाई केही ज्ञानगुनका खुराक पनि हुन्थ्यो ।
गुराँस हेर्न मानिसहरूको भिडभाड हुने प्रमुख स्थलहरूमा शुद्ध पिउने पानी र सार्वजनिक शौचालयको व्यवस्था गर्न सके घुमन्ते यात्रीहरूलाई तिर्खा मेटाउन पानीको सुविधा साथै दिशा पिसाबको अपर्झट परेर रूखपछाडि एकान्त र झाडीहरू खोजिरहनु पर्ने थिएन । आशा गरौं, बिस्तारै यस्ता सुविधाहरूको पनि व्यवस्था हुँदै जानेछन् । बरु त्यस्ता सुविधाहरूको व्यवस्थापन लगायत अन्य सूचना र सेवाहरूका लागि टुटे-देउराली छेउछाउ तिर चेकपोस्ट राखेर प्रत्येक यात्रु तथा सवारीहरूलाई न्यूनतम प्रवेश शुल्क लिएर मात्र प्रवेश गर्ने गराउने व्यवस्था गर्न सकिन्छ ।
हाम्रो टोली फिर्तियात्राको तयारीमा पुनः गाडी भए ठाउँमा भेला भयौं, मौसम पनि न जाडो न गर्मी, आनन्दको रह्यो ।
फर्कँदा बाटो छेउमा फुलेको र टिप्न मिल्ने ठाउँको केही थुँगा गुराँस हाम्रा पाइलट एस के फुयलले सडकको पर्खालमाथि चढेर टिपेर चिनो दिनुभयो – सुन्दर फुल अब ओइलाएर र सुकाएर औषधिको रूपमा प्रयोगमा आउने भयो । लसुनेमा लसुन सस्तो छ भनी किन्न खोजेको मधेश कै भाउ पर्ने बुझेपछि लसुने बजारमा भएको लसुनको स्मारकको फोटो मात्र खिचियो, त्यो पनि गाडीभित्रबाट । फर्केर पुनः वसन्तपुर हुँदै ओह्रालो लाग्दा सिंधुवा बजार छेउमा स्थानीय महिलाहरूले सडक किनारामा बेच्न राखेका साग, मटरकोशा र सिमीजस्ता ताजा तरकारीहरू किनेर अघि बढियो । धनकुटामा बजारभित्रको बाटो भएर फर्किंदा धनकुटा बजार पनि देख्न पाइयो – शनिश्चरवार धनकुटा बजार साप्ताहिक बन्द हुने रहेछ । त्यसपछिका छोटा विश्राम धनकुटा कै यौटा पेट्रोल पम्पमा वायो ब्रेकको रूपमा र मुलघाटमा उखुका टुक्रा किन्नलाई गरियो ।
हाम्रो टोली भेडेटारमा चियाखाजा र किनमेलको लागि करिब १ घण्टा रोकियो । प्रायः सवैका झोलामा केही सागसब्जी र सखरका भारी थपिए, साथै मोबाइल क्यामेरामा भेडेटारको बजार र शंखपार्कमा खिचिएका केही थान तस्बिरहरू थपिए । यात्राको अन्तिम भाग भेडेटारबाट ४:३० बजे तिर छुटेको स्कर्पियो धरानबजार, इटहरी (तरहरा), दमक हुँदै बेलुकाको ७:०० बजे धुलाबारीमा यात्रा शुरु भएकै बिन्दुमा पुगेर गाडी रोकिएपछि १ रात २ दिनको छोटो मिठो धुलाबारीदेखि तीनजुरेसम्म र फिर्तीयात्रा टुङ्गियो ।
खुशीको कुरा, यात्रा अवधिभर कसैलाई पनि बिसन्चो भएन, स्कर्पियो पाइलटको सादगीपन र सहयोगीपनको सबैबाट प्रशंसा भयो । मौका मिले अर्को भ्रमण पनि साथै गर्ने चाहनासहित यात्रा टोली छुट्टियो । यस संस्मरण
आलेखमा प्रयोग भएका सङ्ख्यात्मक तथ्य र जानकारीहरू खुला रूपमा गुगलमा खोज्दा पाइने सूचनाहरूमा आधारित छन् । हाम्रा टोली सदस्यहरू सबैजनामा सफल यात्राका लागि बधाई र धन्यवाद ! सबैको जय होस्!



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

