गीत सुन्दै एउटै सवारीमा
म अनि तिमी
मेची-काली आठसय कि.मि
चिल्लो फराकिलो सडक
सलल आठघण्टामै पुग्ने
खै, कहिले हुने ?

आवश्यक सरकारी सेवा
आधुनिक प्रविधिसँगै
घरै बसी बसी
चट्ट लाएर विना झमेला
टक्कसँग लिन मिल्ने प्रणाली
खै, कहिले हुने ?

संसार कहाँ पुगिसक्यो
नगद पैसा चल्न छोड्यो
नगद बेगरको ‘अर्थ’
चलाउन सक्ने, बुझ्न सक्ने
इज्जतिला मान्छे हामी
खै, कहिले हुने ?

सत्तामा ढलिमली गर्छन्
कुप्रा-हजुरबुबा पुस्ता
झर्ला खाउँला भन्दै बस्छन्
हजुर बा र बुबा पुस्ता
छोरा-नाति पुस्ता हेर्या हेर्यै
पालो कहिले मिल्ने?

पढेलेखेका र पाखुरी भएका
युवा उडे
उजाड बन्दैछन् गाउँ सहर, खेतपाखा
देश र समाज विनाशतिर
जोगाउने सम्वृद्धिको खाका
खै, कहिले बन्ने ?