बालाई अतीतले साह्रै पिरोले जस्तो छ
अनिश्चित भविष्यले चिन्तित पारेको छ
विस्तारै बाको हास्यचेत स्तर घटेको छ
बोली र गालीपुराण समानार्थी बनेको छ
बा हिजोआज अझ खच्किएका छन्
खै के भन्ने! हाम्रा बा हतासिएका छन्
पहेंलिएर झरेका पातको चिन्ता गर्छन्
निचोरेर फालेको पिलोको पीर मान्छन्

सबैभन्दा बढी सद्माले बालाई कपेको छ
दिनदिनै घर्कंदो उमेरले अझ पीर थपेको छ
खै किन हो, बाले धेरै कुण्ठा पालेका छन्
बाहिर ठीकै देखिए पनि भित्र जलेका छन्
बासँगै दौँतरीहरू पनि अल्मलिएका छन्
हिजोका ठीक कुरा आज बेठिक भन्दैछन्
फुटेर घर चर्किए पनि अझै सग्लो ठान्दैछन्
आशनबाट झरेको बिर्सन गाह्रो मान्दैछन्

बा चलाखी गर्छन्, दिनदिनै बोली फेर्छन्
आफ्नु फाइदा बेफाइदा परैबाट देख्छन्
छिमेकीहरूलाई स्वार्थमा उचाली हेर्छन्
स्वार्थ मिले साथी-संगाति तुरुन्तै फेर्छन्
घर छोडेकालाई नानाथरी गाली गर्छन्
आफैसँग बस्नेलाई किन बस्यौ भन्छन्
संग्लिन थालेको पानीमा हिलो घोल्छन्
अब चेते कि भन्यो, झन् तीतो बोल्छन्

बालाई नचिन्ने धेरैलाई अझै लाग्न सक्छ
बाले चाहे भने घर अझै मिलाउन सक्छन्
दुखेको मन सदभावले सिलाउन सक्छन्
टुटेका सपना फेरि पनि जोडाउन सक्छन्
बाले अब शकुनी र दुर्योधनहरू छोड्छन्
विदुर, भीष्म, कृप, द्रोणलाई सुन्न थाल्छन्
युद्ध हैन, कृष्णको शान्ति प्रस्ताव मान्छन्
‘पिता’बाट अब ‘राजा धृतराष्ट्र’ बन्छन्

विडम्बना ! बासँग कोही बिसे नगर्ची छैन
याज्ञवल्क्य, गार्गीजस्ता प्रश्नकर्ता छैनन्
घाँसीले जतिको अर्ती दिने साथी रहेनन्
सम्राट नाङ्गै भएको भनिदिने कोही भएनन्
त्यसैले गाह्रो छ, बालाई बाटो मोड्नलाई
नानीदेखि लागेको आनीबानी छोड्नलाई
बा खरानी बन्छन्, मान्दैनन् बद्लिनलाई
कोटरी छोडी सक्दैनन् घर समाल्नलाई ।

कोटेश्वर, काठमाडौँ