जिन्दगीको भागदौडमा धेरै दशक बिते
निकै समय बित्यो प्रगतिको गोरेटो खोज्दै
पूर्वको मेचीदेखि पश्चिमको महाकाली
उत्तरको हिमालदेखि दक्षिणको तराई
भित्री-मधेशका खोंचदेखि सुदूर पहाड
नदीकिनाराका बस्तीदेखि शहरका महल
बाँकी रहेनन् कतै यो दौडधुप र खोजभित्र
तर सकिएन कोर्न प्रगति-पथको सिंगो चित्र

मिठा मिठा भाषण पाइयो विकासका सूत्र
व्यवहारमा सधैं तिता अनुभव पाइयो भोग्न
खाद्यान्नसँग श्रम साटियो, बाँडियो विकास
समानता र सम-विकास भन्दै ढाँटियो दुनियाँ
देश र जनविकासका गाथा साटिए द्रव्यसँग
फर्की हेर्दा कतै केही छैन टीठलाग्ने आफैँसँग

झन् झन् पर हुँदै गए आफ्नो सम्वृद्धि र सुख
युवा सबै विदेश उडे़, घटेन बरु, बढेको छ दु:ख
पैसा आयो, आय बढ्यो, बढेन है मानवता
गाउँ रित्तिए, भरिए शहर, फैलिएन हाम्रो मन
मपाईँत्वले साँघुरियो सोच, हरायो आफ्नोपन
‘तेरो र मेरो’ प्रतिस्पर्धामा मर्दैछ ‘हाम्रो’ चलन
स्वावलम्वी र मेहनती-स्वभाव, सहयोगीपन
हराए सबै, बढ्यो परनिर्भरता र निराशापन

अर्काले गरेन भन्ने, आफैँ नगर्ने कस्तो यो चलन
अगाडि सरी सबै आफैँ गरौँ हित हुन्छ सबैको
ठुलो सानो हुँदैन काम, मुख नताकौँ कसैको
व्यक्ति, घर, समाज, देश बने हुन्छ भलो सबैको
‘हामी सक्छौँ’ सोचले मात्र त्यो शिखर पुगिन्छ
दुरगम्य प्रगति-यात्राको लक्ष अवश्य चुमिन्छ ।

कोटेश्वर, काठमाडौँ