हाम्रा बालाई हिजोआज सञ्चो छैन
सहरबाट फर्केपछि तनमन चंगा छैन
गम्भीर सोचमा बा घरिघरि छटपटाउँछन्
उतै फर्किन्छु भन्दै सपनीमा कराउँछन्

सहरमा बाको शानशौकत ठूलो थियो
बालाई दशा लागेर लागेर सबै गुम्यो
पत्यार लाग्दैन बालाई, नहुनु जे भयो
बाको आफ्नै मतिले गर्दा सबै डुब्यो

हाम्रा बाको छटपटी दिनदिनै बढ्दैछ
घरिघरि बार्दलीबाट आँगनतिर हेर्छन्
मुर्रिमुरिँदै चाहिने नचाहिने बर्बराउँछन्
कहिले सोफामाथि सोचमग्न बन्छन्

के आइलाग्यो हाम्रा प्यारा बालाई ?
देख्दैछु बाको सबै स्फुर्ति हराएको छ
दैनिकीमा विस्मृतिपन थपिएको छ
बोलीव्यवहारमा बेसुरोपन घुसेको छ

के भएको हो, बा धेरै बद्लिएका छन्
खाना र ओखतिको समय घर्काउँछन्
वरिपरि जसलाई भेटे पनि थर्काउँछन्
खै के सोचेर हो, फेरि फकाइहेर्छन्

हिजोआज बा छुस्क्याहा भएका छन्
माइत फर्केकी चेलीलाई तर्साउँछन्
छुल्याहा नातिलाई काखी च्याप्छन्
छरछिमेकी सबैलाई छुस्की हान्छन्

कहिले आफ्नो इतिहास सुनाउँछन्
कहिले गुनासाका पोका फुकाउँछन्
सबलाई ठीक पार्छु भन्दै मुर्मुरिन्छन्
फेरि के सोचेर, आफैँ सुस्ताउँछन्

बा त्यसै त्यसै उदासिन भएका छन्
खाना अरुचिसँगै निद बिच्केको छ
साँच्चै हाम्रा बा अचेल बिरामी छन्
बालाई अब विश्रामको खाँचो छ ।

कोटेश्वर, काठमाडौँ