
हिजोअस्ति भर्खरै चर्चामा आएको कुरा हो – ‘राई माइलाले गाउँ छाड्यो रे !’ पहिले पहिले भण्डारी काइँला, दाहाल अन्तरे र बस्नेत कान्छाहरूले गाउँ अनि देशै छोड्दा समेत हल्लीखल्ली भएको थिएन । हाम्रा बुवा–आमाले पनि हामीले धेरै नै अघि छोडेको प्यूरेगाउँ भरखरै राई माइलाले पनि छोडेको सुन्नुभएछ र मलाई, “किन के भएर उसले गाउँ छोडेछ”, भनेर सोध्नुभयो ।
यसबारे मलाई पनि सबै कुरा थाहा नभएको तर राई माइलाले गाउँ छोडेको कुरा चैँ पल्लोगाउँ शान्तिनगरका सुनिता, कालीप्रसाद र उनीहरूका साथीहरूले गीत नै बनाएर रेडियो, एफ एम र टिभीमा फुक्दै हिँडेपछि सुनेको बताएँ । हल्लीखल्ली निकै भएको र हाम्रा नब्बे वर्ष हाराहारीका बुवाआमाले समेत चासो राखेर सोधेपछि, “सबै कुरा बुझेर भन्छु,” भन्दै म पनि राई माइलाले केही समयअघि छोडेको प्युरेगाउँतिर लागेँ ।
= = =
धुलाबारीदेखि शान्तिनगरको गौंडासम्म सार्वजनिक बस समाएर जोरसाँघु तरेर उकालो चढेर प्युरेगाउँमा बुझ्दा दुई छोरी र एक छोराको बावु राई माइला आफ्नी ८० वर्षे आमा र श्रीमतीसहित दुई छोरी र एक नातिनी साथ लिएर गाउँ नै छाडेर गएको रहेछ । कता गएको भन्ने चैं कसैलाई थाह रहेनछ । एक महिना जति अगाडि कसैलाई जानकारी नै नदिई झिसमिसे मै गौंडाबाट गडीचौर, टिमाई, खुट्टीडाँगी, धुलाबारी, बिर्तामोड हुँदै भद्रपुर र झापाको तल्लो भाग बनियानी (बगान) सम्मको रूटमा चल्ने बाँसुरी यातायातको बस चढेर राई माइलाको परिवारले प्युँरेगाउँ सधैंका लागि छोडेको रहेछ ।
मैले राई माइलाको घर नजीकैका छिमेकी कार्की कान्छा, तामाङ ठूल्दाइ र सङ्ग्रौला साइँला दाइहरूलाई भेटें । वहाँहरूले पनि राई माइला बसाइँ हिंडेपछि गाउँ नै शून्य जस्तो भएको बताउनुभयो । अब गाउँमा मर्दापर्दा, सामाजिक कार्यहरू र मेलापातका लागि अघि सरेर लागिपर्ने, सबै छरछिमेकी र गाउँलेका लागि उत्तिकै प्यारो भूपू भारतीय लाहुरे राई माइलाको अभाव सधैंका लागि खड्किने भएछ ।
उमेरले करीब पचपन्नको हाराहारी मात्र पुग्न लागेको राई माइला भारतीय सेनामा अठार वर्ष काम गरेर अवकाशप्राप्त लाहुरे भएकोले गाउँघर र छिमेकी गाउँमा समेत धेरैले भूपू माइला भनेर पनि चिन्दथे । तीन तीन महीनामा धरानको गोर्खा पेन्सन क्याम्प गएर बहत्तर हजार नेपाली रुपियाँ पेन्सन थाप्ने राई माइला सिजन अनुसार आफू चटक्क परेर सफा लुगा, क्रस खुकुरी सहितको ढाकाटोपी, काँधमा तेर्छे झोला र झोलाभित्र दापसहितको सानो खुकुरी बोकेर हिंड्थ्यो । कहिलेकाहीँ आर्मी कलरको कार्गो पाइन्ट, टी–सर्ट र ह्याट लगाएर साँच्चैको भूपू लाहुरे जस्तो देखिने राई माइला छिमेकीहरूले बताएअनुसार मेहनती, इमानदार, सहयोगी र सबैको हितैषी थियो ।
तर, खै के कस्तो भाग्य र दिनदशाले हो भूपू माइलाको पारिवारिक, घरायसी र आर्थिक अवस्था भने गएको चारपाँच वर्ष यता धेरै खच्किँदै गएको रहेछ ।
राई माइलाका बाबुले जोडेको अठार रोपनी पाखोबारी र प्यूँरेगाउँका खतिवडा श्रीधर बाजेको मोहियानी कमाएको टिमाई बेँसीको एक बिघा जग्गा मोही लगतकट्टा गर्दा पाएको दश कट्ठा खेत राई माइलाको परिवारको सम्पत्ति थियो ।
दश वर्षअघि लाहुरबाट फर्किंदा ल्याएको केही नगद रकमले राई माइलाले एउटा राम्रो जातको भैंसी किन्यो, गाउँमा बसेर ब्रोइलर कुखुरा पाल्न खोर बनाउनेदेखि प्राविधिक तयारीमा निकै खर्च गर्यो । जेठी छोरी निताको विवाह पहरीगाउँको आफ्नै जातको साथी भूपू लाहुरेको छोरासँग धुमधामले गरिदियो, कान्छी छोरी भालुझोडाको लेप्चा केटासँग आफू खुसी भागेर गएपछि उनीहरूलाई पनि घरमा बोलाएर समाज राखेर जाँडरक्सी र सुँगुरको मासुको भोज खुवाएर धूमधामसँग वैवाहिक सम्बन्धलाई मान्यता दिने काम गरायो ।
यत्तिकैमा उसको बुवालाई लामो समय खोकी लाग्यो, ज्वरो पनि लाग–छाड भइरह्यो । गाउँको स्वास्थ्य चौकीमा जाँच गर्दा टिबी देखियो । धेरै समय उपचार गर्दा पनि पूर्ण रूपमा बिसेक नभएपछि भद्रपुर अस्पतालमा रगत र छातीको जाँच गर्दा राई माइलाका बाबुलाई फोक्सोको क्यान्सर अन्तिम अवस्थाको भएको भन्ने पत्ता लाग्यो । चिकित्सकहरूकै सल्लाहमा बिरामी बाबुलाई घरै फर्काएर घरेलु ओखतीहरूको भरमा दुई महीना जति बाँचेर बावुको मृत्यु भयो ।
राई मुन्धुम र विधिविधान अनुसार बावुको लागि आफ्नै बारीको पल्लोछेउमा चिहान बनाएर त्यसमाथि मान्द्रोको छानो भएको टहरो बनाई दैनिक बत्ती र फूल चढाउने ठाउँ बनाएर राख्यो । धेरै समयदेखि वृद्ध र रोगी आमाबावुको सेवासुश्रुषामा समय दिनुपरेकोले आफूले घरभित्र, खेतीपाती र भैँसी अनि कुखुराहरूको रेखदेख राम्रोसँग गर्न पाएन राई माइलाले । उसकी श्रीमती पानसराको पनि ढाडको नशा च्यापिएको सात वर्ष भइसकेको थियो र उनले घरबाहिरको काममा केही गर्न नसक्ने अवस्था परिवारले वर्षौंदेखि भोगिरहेको थियो ।
अस्सी वर्षकी वृद्ध आमालाई दम र खोकीको समस्या भएको धेरै वर्ष भइसकेको थियो । नियमित औषधि ख्वाइरहनु परेको थियो । एसइई राम्रैसँग उत्तीर्ण भएको भए पनि राई माइलाको छोराले बाह्र कक्षा उत्तीर्ण गर्नसकेन, फूटबल खेलमा अलिक रुचि भएको ऊ साथीहरूसँग यताउता हिँडिरहने, घरको काम नसघाउने र बिहान बेलुकी खाने वेलामा मात्र घरमा आउँथ्यो । आफूले मात्र सबैतिरको राम्रो हेरचाह गर्न नसक्ने भएर राई माइलाले भैंसी बेच्यो, कुखुरापालन बन्द गर्यो ।
त्यही वेला राई माइलाको छोरा नितेशले वैदेशिक रोजगारीमा रोमानिया जान सात लाख रुपियाँ चाहियो भनेर दिनैपिच्छे करकर गर्यो । विर्तामोडको एक मेनपावर कम्पनीले चार महीनापछि भिसा आउने तर कागजपत्र र पूरै पैसा चैं अहिले नै दिनुपर्ने भनेको रहेछ ।
आफ्नो गाउँको र देशको गरीबीको अवस्था र युवाहरू बेरोजगार भएर विभिन्न कुलतमा लागेका र बिग्रेका देखेको राई माइलाले पनि छोरालाई यतै रोक्ने उपाय देखेन, आफूसँग भएको दुई लाख नगद र बाबुकै पालादेखि चलाई आएको साहु कुल बहादुरकोमा आफ्नो पेन्सनपट्टा र टिमाईबेँसीको दश कट्ठा खेतको सक्कल धनीपुर्जा धितो राखेर पाँच लाख रुपियाँ एक वर्षमा फर्काउने भाखा गरी कर्जा लिएर छोरालाई दियो ।
राई माइलाले पैसा दिने वेलामा छोरालाई सम्झायो, “नितेश तँ सोझो छस्, अहिले संसारभरि नै छट्टुहरूको बिगबिगी छ, पैसा त डुबाउँदैनस् होला नि ?” गाउँका अरू पनि साथीहरू सँगै जाने र पठाउने मेनपावरको एक जना साहु सुनमाईको चिनजानकै मान्छे भएको र त्यस्तो फटाइ नहुने विश्वास लागेको छोराले बतायो ।
तर दुर्भाग्य नै भन्नुपर्छ, राई माइलाको छोरा लगायत पन्ध्र-सोह्र जना युवायुवतीको पैसा र कागजपत्र जम्मा गरिसकेपछि उक्त मेनपावरको बिर्तामोडको अफिसमा ताला लगाएर सञ्चालकहरू फोन समेत बन्द गरेर फरार भएछन् । राई माइलाको छोरा र उसका साथीहरू अहिले केही सुराक लागिहाल्छ कि भनेर काठमाडौं गएका रहेछन् ।
छोरो विदेश जान र त्यहाँ गएर पैसा कमाएर पठाउने नभएपछि वार्षिक चौबिस प्रतिशतको व्याजदरमा काढेको साहुको ऋण कसरी र केले तिर्ने राई माइलालाई अत्यास लाग्न थालेको कुरा छरछिमेकीमा उसले भन्ने गर्दथ्यो रे ।
अझ चिन्ता र दिग्दारीको कुरा त त्यही समयमा राई माइलाका दुवै छोरीहरूको घर–परिवार बिग्रियो । जेठीको केटाले कामको सिलसिलामा धरान बस्दैगर्दा उतै अर्को घरजम गरेछ । यता सासूससुराले बुहारीलाई दुर्व्यवहार गरेर पहरीगाउँको घरमा बस्न नदिएपछि विगत छ महीनादेखि राई माइलाकी जेठीछोरी र चार वर्षकी नातिनी माइतमा नै राई माइलासँगै बस्दैथिए ।
उता कान्छी छोरीको ज्वाइँ दमकबाट रबि हुँदै यासोक रूटमा चल्ने यात्रु बोक्ने बोलेरो जीप चलाउने गर्थे । एक वर्षअघि पञ्चमी (चिसापानी) बजारनजिकै जीपसहित सडक दुर्घटनामा परेर साठीसत्तरी मिटर जति तल खस्दा अरू चारजना यात्रीसहित ठाउँको ठाउँ मृत्यु भएपछि कान्छी छोरी पनि माइतमा नै बस्दै आएकी थिई । कान्छीका बालबच्चा भएका थिएनन् । यस्तै कुराहरूले राई माइलालाई भित्रभित्रै जलाएको उसको अनुहारमा प्रष्टै देखिन्थ्यो ।
राई माइला पछिल्लो समय आफ्नै घरको आँगनको डीलमा रहेको बाँसको फप्ल्याँटाले आफैँ बनाएको बेन्चमा बसेर चुरोट तान्दै टोह्लाएर पारि इरौंटार र शान्तिनगरका गाउँ, टारी खेतबारी अनि डाँडाकाँडा हेरिबस्थ्यो ।
दुई वर्षअघि असोज महीनामा परेको मुसलधारे पानी र त्यसपछिको बाढीपहिरोको चपेटामा परी राई माइलाको घरबारीको अठार रोपनीमध्ये करीब छ-सात रोपनी बारी बगेको थियो । त्यहाँ भएका डालेघाँस र फलफूलका बोटबिरुवा सबै पहिरोले लग्यो । अझ दुःखको कुरा त बारीको त्यो भागमा भएको राई माइलाको बावुको चिहान र बारीको छेउमा भएको यौटा समीको रूखमुनि राई माइलाका बुवाकै पालादेखि थपना गरेको एउटा अनौठो आकार र अरू सामान्यभन्दा फरक रङको शिलालाई देवीदेवता र पितृहरूको रूपमा विभिन्न चाडपर्व र विशेषगरी उँधौलीउँभौली पर्वका दिन राई माइलाको परिवारले पूज्नेगरेको देवीथान र त्यहाँ भएका सम्पूर्ण सामग्रीहरू बगेका थिए ।
पहिरो थामिएपछि राई माइलाले कतै ती थानका शिलाहरू वा सामग्रीहरू भेटिन्छन् कि भनेर खोजिहेर्यो तर भेट्न सकेन । ती शिलालाई राई माइलाका बुवा शेरधनले श्रीमती विवाह गरेर ल्याएकै साल तोरीबारी (मधुमल्ला) बाट ढुकुरपानी, चुलाचुली, महमाई, दानाबारी, खुदुनाबारी, होक्से हुँदै सुनमाईको बाटो भएर प्यूरेको घरसम्म ल्याएर थपना गरेका थिए ।
पहिला पहिला राई माइलाकी आमालाई उँधौली उँभौली पर्वहरूको वेला शरीरमा देवता आउने गर्दथ्यो । उनलाई बुवा हर्कधनको शेखपछि कुलले पछ्याएको भन्ने गर्दथे । आफ्ना घरपट्टिको कुलथानसहित ससुरालीतिरको कुलको थान पनि आफ्नी श्रीमतीका लागि राई माइलाका बुवाले सँगै ल्याउनु परेको थियो । राई माइलाका बुवा मरेपछि त्यो थानमा दैनिक धूपबत्ती गर्न छुटेको थियो, आमालाई पनि शरीरमा देवता आउन छोडेको थियो । त्यसैले पहिरोमा परी नष्ट भएको देवीस्थानको खोजी बिस्तारै कम भएर गएको थियो । त्यही पहिरोमा बगेको बारी हुँदै घरमा ल्याएको खानेपानीको मूल र पाइपलाइन पनि नष्ट भएको थियो, त्यसपछि राई माइलाको घरमा छिमेकी कार्की कान्छाको घरबाट पानी बोकेर काम चलाइरहेका थिए ।
यतिका दुःखमाथि दुःख, पीरमाथि पीर तर पनि गाउँछिमेकमा राई माइलाको सहयोगीपन र सबैका लागि सहजै उपलब्ध हुने स्वभाव र व्यवहारमा कुनै कमी आएको थिएन । तामाङ ठुल्दाइ र सङ्ग्रौला साइलादाइबाट राई माइलाले जीवनमा भोग्नुपरेको पीडा र सकस सुन्दा मेरा पनि आँखा रसाए ।
= = =
त्यही वेला तल्ला गाउँका प्राथमिक विद्यालयका शिक्षक चन्द्रकान्त हामी भएका ठाउँमा आइपुगे । फेरि पनि कुरो राई माइला कै चल्यो, चन्द्रकान्तले भनेअनुसार राई माइलाले लाहुरबाट फर्केकै साल विद्यालयमा एक लाख रुपियाँको अक्षयकोष राखेर वार्षिक परीक्षामा अब्बल नतिजा ल्याउने दुई जना केटा र दुई जना केटीलाई जनही पन्ध्र सय रुपियाँको दरले पुरस्कार दिने व्यवस्था गरेको रहेछ ।
विगतमा दुई कार्यकाल विद्यालय व्यवस्थापन समितिमा रहेका वेला राई माइलाले विद्यालय भवनबिस्तार र अरू भौतिक संरचनाहरूको थप व्यवस्था गर्न गराउन उल्लेख्य भूमिका खेलेको कुरा पनि चन्द्रकान्तबाट थाह भयो । राई माइलाले गाउँ छोड्दा स्थानीय विद्यालयले एक असल अभिभावक र संरक्षक गुमाएको रहेछ ।
कार्की कान्छाले राई माइलाको रसिक स्वभाव पनि सम्झे । कहिलेकाहीँ साथीभाइसँग बसेर रक्सी पिउँदा राई माइला एकदुई पेग पिएपछि आफ्नी श्रीमती पानसरासँग कसरी तोरीबारी (मधुमल्ला) मावली गएको वेला मधुमल्ला बजारमा भेट भयो । कसरी मायाप्रिति बस्यो । अनि केटी माग्न भनेर मामाहरू लिएर केटीको घर जाँदा केटो कालो र डल्ले रहेछ भन्दै केटीका माइतीले दिन राजी नभएपछि बजारको दिन पारेर मधुमल्ला बजारबाट केटी भगाएको र इलाम दानाबारी, शुक्रवारेमा काकाको घरमा पन्द्रदिन लुकेर बसेको कहानी भन्ने गर्दथ्यो । अनि, “लाहुरे कालो रेलको धुवाँले, म त कालो छाता हजुर ओड्दै नओड्नाले,” भन्दै नाच्ने र खित्का छोडेर हाँस्ने गर्दथ्यो राई माइला ।
मलाई लाग्यो – कालीप्रसादहरूले राई माइलाले उसले गाउने गीत पनि सँगै लग्यो भनेको यसैलाई होला । होइन रहेछ, तामाङ ठुल्दाइले सुनाए अनुसार राई माइला साँच्चै एक जमानामा गाउँमा युवाहरूका माझ, “गाउँगाउँबाट उठ, बस्ती बस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ,” भन्ने अति नै लोकप्रिय र समाज परिवर्तनका लागि उत्प्रेरित गर्ने गीत भाका हालेर गाउने गर्दथ्यो । पोहोरको तिहारमा सामाजिक देउसीमा समेत आफैँ मादल बजाएर त्यही गीत गाउँदै गाउँघर घुमेको थियो । राई माइला हिँडेपछि त्यस्तै भाका मिलाएर त्यो गीत गाउने मान्छे गाउँभरि नै छैनन् ।
राजनैतिक चेतनाको कुरा गर्दा राई माइला वामपन्थी विचारधारासँग नजीक थियो, तर सक्रिय कार्यकर्ताको रूपमा होइन । सबै ढङ्गले सोच्दा राई माइला जस्तो सचेत र जानेबुझेको मानिसले अचानक गाउँ छाड्नु सबैलाई अचम्मको विषय बनेको रहेछ ।
राई माइलाले परिवारसहित विसं. २०८० चैत्र ३० गते (चैत्र शुक्लचतुर्थी) का दिन बिहानका राति नै गाउँ छाडेको रहेछ, छरछिमेकी र गाउँलेहरूले सोही दिन दश–एघार बजेतिर मात्र यो कुराको पत्तो पाए र उसको घर गई हेर्दा ढोकामा ताला लगाएर नागबेली र कुकुरडाइनी लहराले छेकबार लगाएको रहेछ । बाहिर फेरका सामानहरू जस्ताका तस्तै यत्रतत्र छरिएका थिए ।
= = =
छरछिमेकीले बताए अनुसार चैत्रको दोस्रो हप्तातिर राई माइलाको घरमा चिसापानीतिरका एकजना राई ङोपाको आइजाइ देखिन्थ्यो ।
सोध्नेहरूलाई राई माइलाले आमा बिरामी भएकोले घरभित्रको कुलपूजाआजा गर्न कुलधामी बोलाएको भनेको थियो । चैत्र २६ गते सोमबार औंसीको बेलुका राई माइलाको घरमा धामी चिन्ता बसेको र ढ्याङ्ग्रोको आवाज सुनिएको रहेछ, अर्को दिन बिहानै राई माइला पछिपछि र ती कुलधामी अघिअघि भएर घरतल्तिरको बारीमा र दुई वर्षअघि गएको घरछेउको पहिरो पछ्याउँदै घरभन्दा तलको खोल्सीसम्म के के खोजे जस्तो गर्दै गरेको छिमेकी कार्की कान्छाले देखेका रहेछन् तर राईको घरपरिवारको दुःखाइपिराइ, कुलपूजा र धामीझाँक्रीको कुरा भएकोले गर्दा खासै चासो पनि राखेनछन् ।
त्यसपछिका दिनहरूमा राई माइला अलिक हताश जस्तो, एकोहोरो जस्तो, र छरछिमेकी साथीभाइसँग पनि कम बोल्ने र के भयो भनेर सोध्दा पनि ठीकै छ मात्र भनेर पन्छिने गर्नथालेको रहेछ । राई माइला घरीघरी घरमुनिको जमीनमा के के खोजे जस्तो गरी तलमाथि र वरपर गर्ने गरेको र अझ तलको खोल्सीबाट माथि बारीतिर हेर्दै धेरै बेर टोह्लाउने गरेको पनि तामाङ ठूल्दाइले देखेका रहेछन् तर ती सबै कुरा खेती किसानी गर्नेहरूको फुर्सदका दिनचर्या जस्तै लागेर खासै चासो दिएर सोधीखोजी पनि गरेनछन् ।
= = =
यति कुरा सुनेपछि मलाई अझ खुल्दुली भयो, राई माइलाभन्दा अझ धेरै दुःखी, धेरै व्यथा र पीडा भएका, र समाजमा सकारात्मक छाप छोड्न नसकेकाहरू त अझै गाउँमै बसेका छन् भने उसले चैं किन गाउँ नै कसैलाई थाह नै नदिई छोड्नुपर्यो होला ? के उसका छरछिमेकी, साथीभाइ आफन्तहरूले राई माइलालाई गाउँ नछोड्न भनेर नैतिक, भौतिक, आर्थिक सरसहयोग, भरथेग र सान्त्वना समेत दिएनन् कि वास्तव मै कसैले थाह पाएनन् राई माइलाको पीडा ?
राई माइलाले पाँच–छ महिनाअघि मझुवातिरको टाढाको आफन्तसँग टिमाई र ठोट्ने खोलाको दोभानछेउको राईनी ठूलीको भट्टीपसलमा ठर्रा (लोकल रक्सी) पिउँदा आफ्ना पारिवारिक पीर र बेथाहरू अनि एकपछि अर्को दुःखले सताएको, आफूलाई सपनाहरू पनि नराम्रा मात्र आउने र आफ्नो परिवारमा कुलदेवता र पितृहरूको नराम्रो छाया परेको जस्तो लाग्ने गरेको कुरा सुनाएको रहेछ । साथै आफूलाई टाढा कतै कसैले नभेट्ने ठाउँमा बसाइँ सरेर जाऊँ कि भन्ने सोच आउने गरेको बताएको रहेछ । पछि तामाङ ठुल्दाइसँग भेट्दा ती राई माइलाका टाढाका आफन्तले राई माइलाले भनेका कुराहरू सुनाउँदै, “के कसरी हुन्छ राई माइला जस्तो असल मान्छेलाई सबैले सरसहयोग र ढाडस दिएर गाउँ छोड्न दिनुहुन्न है,” भनेका पनि रहेछन् ।
यो कुरा बुझेका तामाङ ठुल्दाइले राई माइलालाई, “मानिसको जिन्दगीमा सानाठूला दुःख–पीर सबैलाई हुन्छ अत्तालिनु हुन्न, हामी गरीब दुखीहरूलाई, कर्मा गए नि कर्मसँगै भनेजस्तो पीर बेथा र अभावले कहिले नछोड्ने,” बताउँदै बरु आफूले सकेको सबैखालको सहयोग गर्ने वचन भूपू माइलालाई दिएका रहेछन् ।
छोराको लागि राई माइलाले लिएको ऋणको बोझले गाह्रो भएको हो कि भनेर तामाङ ठुल्दाइ एकदिन राई माइलालाई साथ लिएरै कुलबहादुर साहुकहाँ गएर सबै बेलिविस्तार लगाएछन्, कुलबहादुरले पनि, “त्यसको धेरै पीर नलिनू म दुई वर्षसम्म सावाँब्याज लिन्न, त्यसपछि अवस्था हेरेर फेरि सल्लाह गरौंला,” भनेका रहेछन् । बरु राई माइलालाई सजिलो होस् भनेर उसको धरौटी राखेको पेन्सनपट्टा समेत फिर्ता दिएछन् । केही समयपछि राई माइला र तामाङ ठुल्दाइ दुवैजना पहरीगाउँ साथै गएर जेठी छोरीका सासू ससुरासँग पनि भेटघाट गरेर जेठी छोरी र नातिनीको भरणपोषणको लागि खर्च दिने सर्तनामा र मन्जुरी गराएर आएका रहेछन् । नातिनीलाई पनि प्यूरे गाउँ कै प्राथमिक विद्यालयमा शैक्षिक सत्रको बीचमै भए पनि विद्यालय अध्यक्ष र प्रधानाध्यापकलाई भनेर बालकक्षामा भर्ना गराएछन् ।
यति कुराले पनि राई माइलालाई धेरै राहत महसूस भएको थियो भन्ने बुझियो । राई माइलाका अरूले हेर्दा झट्ट देखिने र बाहिर थाहा भएका ठूला समस्या थिए जस्तो कसैलाई लागेको थिएन ।
तर मानिसको जीवन समस्यारहित र तनावमुक्त त कहिले पो हुन्छ र ? जस्तै भए पनि आफ्नु दुःखको भारी आफैँले बोक्नु नै पर्छ, र आफ्नो भाग्य आफैँले भोग्नु नै पर्छ । सबै कुराकानी सुनेर राई माइलाको बारेमा यति धेरै बुझिसक्दा पनि उसले किन अचानक गाउँ छोड्यो होला र कहाँ गयो होला भन्ने अनुमान समेत गर्न सकिएन ।
म पनि कार्की कान्छा, तामाङ ठुल्दाइ, सङ्ग्रौला साइँला र चन्द्रकान्तसँग बिदा मागेर राई माइलाले भरखरै छोडेर गएको ढोकामा ताल्चा लगाइराखेको चिटिक्क परेको ढुङ्गा माटोले बनेको पुरानो जस्तापाता लगाएको घरलाई नियाल्दै जोरसाँघुतिर ओह्रालो लागें ।
= = =
मेरो विचार साँझ नपर्दै जोरसाँघु नजीकैको घट्टे होमस्टेसम्म पुगेर बास बस्ने थियो । होमस्टे सञ्चालक मेरो आफ्नै काकाको छोरा विमल थिए, मैले मोबाइलबाट आफू त्यहाँ बस्न आउन लागेको बताएँ । विमल राति त्यहाँ नबस्ने तर उनको सहयोगी चिसापानी इरौंटारका उमेश राई बस्दारहेछन् । खाना र बासको प्रबन्ध भएपछि म बिस्तारै पुगे पनि हुने भयो ।
त्यसैले म ठोट्नेखोला माथिको झोलुङ्गे पुल तरेर ढोडेनीको पुछारमा भएको राईनी ठूलीको भट्टीपसल पुगेँ । त्यहाँबाट राई माइलाले गाउँ छोडेको बारे केही मेसो पाइन्छ कि भनेर । नभन्दै केही चाखलाग्दा कुराहरू जानकारीमा आए ।
गाउँ छोड्नुभन्दा एक–दुई हप्ताअघि राई माइला चिसापानीतिरको एकजना ङोपा (राई कुलधामी) सँग दुईतीन पटक त्यो बाटो ओहोरदोहोर गरेको र राईनी ठूलीको पसलमा खाजा (लोकल रक्सी र मासुचिउरा) खाएका रहेछन् । उनीहरू बीच के कुरा हुन्थे त्यो त राईनी ठूलीलाई थाह भएनछ तर राई माइला पहिले पहिले भन्दा अलिक बढी नै पिउन थालेको र चिन्तित देखिन्थ्यो रे ।
= = =
यति सुनेपछि म ती कुलधामीलाई भेट्न सके राई माइलाबारे अझ बढी जानकारी पाइने रहेछ भन्ने सोच्दै टिमाई खोलामाथिको झोलुङ्गेपुल तरेर घट्टे होमस्टेतिर लागें ।
बाँकी अर्को साता…
कोटेश्वर, काठमाडौं



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

