ऋणको डढेलोले बाको तालु नाङ्‌गिसक्यो
साहुको हुलले खुसीको हाँगो भाँच्चिसक्यो

फेरि
आमाको स्वाभिमानले नपुग्ने
बाको पसिनाले नभेट्ने
अलिक जिद्दी छ उसको धनी शिक्षा
जहाँ मारिन विविश छन् उसका गरिब इच्छा

फर्किन्थे
दिउसोभरि अर्कैको जिन्दगी बाँच्दिएर
जे होस्
साँझमा बसेको हुन्थ्यो घर खुसी साँच्दिएर
दैवलाई उनीहरूको नजिकै हुन मन लागेछ
त्यो खबरले खुसी, खुसी हुँदै त्यहाँबाट भागेछ

ल्याप्चे लगाई सम्पत्ति दाउ राखी पढाई किनियो उसको
अँध्यारा दिनको पर्दाफास गर्ने भविष्य छ भनियो जसको

ल्याप्चे पढाइले
च्याम्से भएको बाको मुहारमा खुसी ल्याउला ?

के होला यदि
उज्यालो पर्खिरहेको उसको जिन्दगीमा
सूर्यग्रहण लाग्यो भने ?
वर्तमान भइरहँदा अरुको बन्दगीमा
भविष्य फाँसीमा पर्‍यो भने ?