त्यो भेट तिम्रो र मेरो थिएन
त्यसरी त हजारौं महरू
हजारौँ तिमीहरूसँग भेटिएका थिए

आँखाको स्पर्श सामान्य थिएन
मन पनि त नानाथरिका मनहरूसँग
ठोकिएका थिए

त्यो भेट अझ भनौँ मिलन हाम्रा
आँखाहरू को थियो
जसलाई वर्षौंदेखि एकअर्काको
तलासी थियो

सायद नयनबाट सुरुवात भएको
संगम चयनमा टुङ्गिनु थियो
अब ती आँखाहरूलाई अर्कैको
संसारमा रङ्गिनु थियो

हिजोआज त्यो आकृति मेरो
वरपर आउँदैन
बतास पनि पर .. पुगिसकेछ
फर्केकै छैन
अनि…
मलाई तिम्रो याद फिटिक्कै आउँदैन
याद आउँछ त त्यो केवल बतासको

संसार घुमेर फर्किसकेको बतास हामीलाई
नै खोज्दै छ कि कतै ?
ऊ बतासिँदा ऊभन्दा हलुका हुने हामी जस्तैलाई
रोज्दैछ कि अन्तै ?