मलाई श्रृङ्‌गारी देऊ
सामान्य म मलाई मन परेन
मलाई रङ्‌गाई देऊ
फिक्का म मलाई मन परेन

मेरो मुहारमा शान्तिको लेप लगाई देऊ
मेरो ओठलाई विद्रोहको लालीले रङ्‌गाई देऊ
मेरा आँखालाई बद्‌लावको गाजलले चम्काई देऊ
मेरो पहिरनलाई स्वतन्त्रताको रङले सजाई देऊ

अनि,
श्रृङ्‌गारिक मलाई देखेर
नाजायज ऐना कसो नफुट्ला
मेरो धप्प बलेको मुहार हेरेर
कुशासनको बैंस कसो नसुक्ला

म शान्तिको चमकसँगै
विद्रोहको मुस्कान पहिरिएर
बेथितिको बद्‌लावसँगै
स्वतन्त्रताको रङमा सजिएर

झुमा देउकीलाई मेरो सुन्दरताको राज सिकाइदिन्छु
कुरीतिको वस्त्र फुकाली हरेकलाई स्वतन्त्रता पैराइदिन्छु ।