हिंड्दैहिंड्दै बाटो
नाप्दैछु आयुले छापेका पैतालाका डोबहरू
काट्दैछु सुस्केराका टुक्राहरू

घटाउँदैछु आँखाको दूरी

जति घटाउँछु अगाडि आउनेबाटाहरू
उति नै लम्बिन्छन् पछाडि
हिंड्नुपर्ने नयाँ बाटाहरू

हिंड्नु कहीं पुग्नु होइनरहेछ
पुग्नु पनि कहीं पुग्नु होइन रहेछ
पुगिसक्दा एउटा घुम्ती
अर्को घुम्तीले बोलाउँदोरहेछ
कुरिबस्यो भने घुम्तीमा
घुम्तीहरूले घुम्तीकै जालो बुन्दारहेछन्
समयको नयाँ बाटोमा

एउटा घुम्ती सकेर हेर्छु
लाम लागेको देख्छु अरू लामा घुम्तीहरू
लामो घुम्तीलाई छल्न
सानो घुम्तीमाथि नाप्दै जान्छु बित्ताहरू
थपिंदै जान्छन्
नापिन सोझिएर नयाँ बित्ताहरू

त्यसैले
आजकल
हिंडिरहेछु
कहीं नपुग्नलाई
पर्खिरहेछु थकाइ लाग्दा
कहीं नपुग्नलाई
+

हिंड्नु कहीं पुग्नु होइनरहेछ
पुग्नु पनि कहीं पुग्नु होइनरहेछ
हिंडिसक्दा अगाडिको बाटो
झनै लम्बिदोरहेछ पछाडिको बाटो ।
++

त्यसैले
म आफैँ बनिरहेछु बाटो
म खनिरहेछु नयाँ बाटो
ओ हिंड्ने मान्छेहरू
आऊ तिमीहरू पनि मसँग
र हिंडौं
बाटोले बनाएको कहिल्यै नसकिने नयाँ बाटो ।