ढकमक्क अहङ्कार फुलेको
अटेसमटेस टाउको बोकेर
ऊ फूलको सामु गई
र भनी
तँ किन मभन्दा राम्रो ?
फूलले संवाद गर्न चाहेन
त्यसैले उसले उत्तर पाइन
र
आफैँ भनी
हो, तैंले स्वीकार गरिस्
तँभन्दा मै राम्री
अर्को दिन रूखलाई सोधी
तँ मभन्दा किन अग्लो ?
उत्तर पाइन
र आफैँ भनी
हो, ठिकै गरिस्
मभन्दा अग्लो भनिनस्
आखिर तँ होचै होस्
अर्को दिन
पुस्तक पढिरहेको मान्छेलाई सोधी
मेरो अनुहार कि पुस्तक गहिरो ?
उत्तर पाइन
र आफैँ भनी
त्यो पुस्तक मेरैबारे हुनुपर्छ
अर्को दिन
महात्मासँग भेट भो
र सोधी
म कति राम्री ?
म कति असल ?
महात्माको उत्तर आयो
रानीजस्तै
ऊ गदगद भई
र फेरि फर्केर सोधी
कहाँकी रानीजस्ती ?
सबै कुरा बुझेका
महात्माको औंला
जङ्गलतिर फर्केको थियो ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला