म एक शिक्षिका हुँ
म नारी हुँ, म एक सृष्टिको छाया हुँ
अनमोल, ममता र माया हुँ
प्रश्न गर्न मन लाग्छ, म कति सुरक्षित छु
दूधे बालक घरमा छोडेर
सुरक्षित मातृत्वको पाठ पढाउने म
नवौं महिना पुग्नै लाग्दा
सुरक्षित गर्भावस्था पढाउने म
कहिले भित्तोले आड दियो
कहिले फलामे डेस्क बेञ्चले
म चिच्याउँदै सिकाउन खोजेँ
उनलाई रजस्वला चक्र
बिडम्वना आफ्नो रजस्वला
चक्रले चक्कर लागिरहेको थियो
र पनि मेरो अनुहारमा
दीप जागिरहेको थियो
विगतका वर्ष अन्तिम घण्टी
सधैं छोड्ने विरु
स्कुलमा बिठ्याई गरी
मान्छे जोड्ने सिरु
आज मन्त्रि भए रे
नियमित स्कुल आउने इमान्दारहरु
परीक्षामा काट्नै नमिल्ने गरी उत्तर लेखे
तर पनि आफ्नो भविष्यलाई दाउमा देखे
आजै तिनै कर्णधारहरू परदेशीको
ट्याग भिरिरहेका छन्
आफ्नो विवेकले उनलाई गिज्याइरहेछ
आफैँसँग गिरीरहेका छन्
शास्त्रले भन्छ गुरुको आसन माथि हुन्छ
कलियुगमा झुठको खेती जाती हुन्छ
यहाँ पाप गर्नेहरूलाई फलिफाप भएको छ
गुरु, गुरु नैं बन्न खोज्दा अभिशाप भएको छ
शिष्यप्रति आज गुरु नै छक खाएको छ
सिक्न होइन बिक्नका लागि स्कुल धाएको छ
‘जीवनको लक्ष्य’ मा निबन्ध लेख्न दिएँ
ऊ लेख्छ विदेशिने लक्ष्य
ऊ देख्छ देशको मात्र नकरात्मक पक्ष
ऊ सबथोक बन्न खोज्छ
तर ‘म’ जस्तो बन्न खोज्दैन
जीवनको अधिकांश समय अक्षरमा रोज्दैन
ऊ अल्मलिएको छ
आफ्नै घर उजाडेर
छिमेकीको घर बनाउन धाएको छ
मेरो मार्गदर्शन, पुस्तकका अक्षर
देखेर दङ्ग खाएको छ
गुरु आदर्श हुन्, अनुकरणीय हुन्
म उसलाई सम्झाउन खोज्छु
सत्कर्ममा लाउन खोज्छु
म देखाउन खोज्छु जिन्दगीको जिउने ढंग
उनीहरू खोज्छन् मात्र परीक्षाको लागि अंक
परीक्षाको नतीजामा धेरै विद्यार्थी फेल भए
म रुनु न हाँस्नु, आँखामा आँसुको भेल भए
मेरा विद्यार्थी किन हुन्थे पास
म सधैं पढाउँथे एकथोक
उनीहरू गर्थे अर्को थोक
मैले सिकाउन खोजें किताबका अक्षर
अक्षरलाई जीवनसँग जोड्न सकिनँ
यी अक्षरले उनको सपना मोड्न सकिनँ
र पनि अझै हार मानेकी छैन
पास र फेल हुनुमा कुनै अपराध ठानेकी छैन
अक्षरले भोक फकाउने माड दिएन
घुँडा टेक्नै लागेको झुपडीलाई आड दिएन
छनलाई त छ नि सर्टिफिकेट हातमा
के गर्नु यसले मात्र, छैन सीप साथमा
मलाई अब एउटै रहर छ
उसलाई माटो सुहाउँदो ज्ञान दिन सकूँ
पास र फेल भन्दा नि सीपमा ध्यान दिन सकूँ
देशको शीर उँचो राख्दै समर्पणका साथ
ज्यान दिन सकूँ।