“मबाट उनले आत्मबल पाएनन् । न समयमा खान पाए । त्यही भ’र आज यो हविगत भयो । अब मेरो जिन्दगी सेतो फरियामै बित्ने भो,” निका डाँको छाड्दै सुसेलिरहेको नदीमा रोदनलाई मिसाइरहेकी थिइन् । सबै मलामीहरू मानको लाशलाई ओल्टाइपल्टाइ गर्दै अस्तु बनाउनै आँटेका थिए । सूर्यले अमिलो मन बनाएर आगोलाई हेरिरहेको थियो । निका आफ्नो चर्को आवाज निकाल्दै बेसुरमा बोल्छिन्, “हे पापी मलाई किन एक्लै छाड्यौ ?”
चौध वर्षमा मानुसँग विवाह गरेर कर्मघर आएकी थिइन् निका । आफू जेठी बुहारी, घरमा सासुआमा सँगै बस्ने गर्नुहुन्थ्यो । एकदिन बिहान चार बजे उठेर डालीभरि ठेला पारिएको मकै लिएर गुरुङ्सेनी फुपूको घर मकैको आँटो बनाउन जान्छिन् । खरको छानो गेरुले पोतिएको पिँढी र डिल अनि डिलको छेउमा फुलेका लाहुरे फूलले फुपूको घर निकै आकर्षक देखिन्थ्यो । खाली मसीको सिसामा कटनको तुना बनाएर मट्टितेल राखी डुबाएको ढ्याब्री टिलपिल गर्दै बलिरहेको थियो ।
भित्रबाट फुपूले भन्छिन्, “निका दुःख पनि कति गर्छेस् ? भाग्य पनि कस्तो रहेछ तेरो त ? जुन भन्ने श्रीमान् नै दानव जस्तो छ । घरमा भएका बलिया बाङ्गालाई जाँतो रिंगाउन पठा, त्यो खिएको शरीर लिएर यो दुई धार्नीको जाँतो कसरी रिंगाउछेस् ? भगवान्ले पनि कस्ता कस्ता मान्छेलाई जन्म दिन्छन् । अचम्म लाग्छ मलाई त ?”
“होइन फुपू उहाँ पनि निकै थाक्नुभा’छ । हिजो कर्मी काम गरेर राति आउनु भाथ्यो । यति त म सकाई हाल्छु नि ! फेरि छोराछोरी उठिसके कि ?”
निका आफूले दलेको आँटो डालीमा उठाएर घर जान्छिन् । तीन छोरीपछि जन्माएको छोरा निल बिस्ताराबाट उठेर बाहिर आँगनमा भैंसीलाई कुँडो पकाउँदा बनेको अँगेनाको खरानी खेलाएर बसिरहेको थियो ।
आँगनभरि खरानी छिरलेर दाईं गरिरहेको थियो । निकाले उसको जीउमा लागेको खरानी हातले टक्टकाएर निललाई पछ्यौरीको सप्कोले पछाडि पिठ्युमा बोक्छिन् । सुपोमा राखेर आँटो छिन्कदै पीठो एकातिर अनि आँटो अर्कोतिर राख्छिन् ।
सासूले नित्यकर्म सकाएर धोतीको सप्को मिलाउँदै भित्र आँटो ओडाल्न थाल्छिन् । साना भुराभुरीहरुले हजुरआमाको वरिपरि थाल लिएर बसिरहेका थिए । मानुले मोही पारेर नौंनीघ्यू आरीमा राख्दै थियो ।
आमाले निकालाई बोलाउँछिन्, “दुलही ल तीतेकरेलामा आज पारेको मोही राखेर कडी बनाऊ । अनि सुन त, आज औंशी हो लसुन नराख्नू !”
“हस् आमा !” निका भोटे कराईमा कालो तोरीको तेल राखेर जीरे खुर्सानी फुराउँछिन् । त्यसमाथि तीते करेली भुटेर मोहीको कडी बनाउँछिन् ।
“होइन गाउँ नै बसाउने गरी के पकाउँदै छौ निका ?”
पल्लो घरकी मेनुका दिदी निकाको घरमा आउँछिन् ।
“अनि सुन त निका, हाम्रो घरमा तिम्रो एक पर्म बेच्नुपर्यो । पारि खरबारीको खर स्याहार्नु थियो । तिमीलाई पैसा पनि हुने ।”
निका खुसी हुँदै आफ्नो पर्म मेनुकालाई बेच्छिन् । पर्ममा झण्डै दश जनाको समूह थियो । पर्मेहरु निकै रमाइलोसँग काम गर्दै थिए । कोही पात बजाउँदै थिए । कोही सुसेल्दै थिए । कोही आफ्नै तालमा गुनगुनाउँदै काम गरिरहेका भेटिन्थे । बेलुका घर फर्कंदै गर्दा सानो गोरेटोमा काभ्रोको पातबाट चिप्लिएर निका भीरबाट खस्छे । सबैको रुवाबासीले गाउँलेहरु घटनास्थलमा आउँछन् । डोली बनाएर निकालाई हतार–हतार अस्पताल पुर्याइन्छ । शरीरमा रगतको कमी भएकाले अस्पतालले तुरुन्त रगतको बन्दोबस्त गर्न भन्छ । निल पैसाको जोहो गरेर हतारमा अस्पताल पुग्छ । उसले बेडमा लडिरहेकी आफ्नी वृद्ध आमालाई देख्छ । त्यो सेतो फरियामा धुलैधुलो लागेको, नीलो ओठ । तैपनि बुहारी बचाउनलाई त्यो बुढेसकालमा पनि आफैँ रित्तिएर रगत दिइरहेकी । निलले आफूलाई थाम्न सक्दैन । उसलाई भक्कानो छाडेर अनि मन फुकाएर रुन थालेको थियो तर पुरुषत्वले दिएन । बल गरेरै भए पनि उसले आँसुलाई बाहिर आउन दिएन । किनकि आमाको आत्मबल घट्ला भन्ने चिन्ताले उसलाई पिरोलेको थियो । निकाको स्वास्थ्यमा केही सुधार आयो । उसका हातहरु चल्मलाउन थाले । आँखाका पर्दाहरु उघारिए । अनि ती सुकेका ओठहरु बिस्तारै रसाउन थाले ।
“बाबु ! बाबु !!” उसको मुखबाट त्यही सानो छोरालाई गुहारेको सुनिन्थ्यो । भाकल गरेर पाएको छोरो, त्यो पनि तीन छोरीपछि निकै प्यारो थियो सबैको । हजुरआमाको मुटु नै थियो ऊ । छोरो नपाए अर्को बिहे गर्छु भन्दै बरालिएको निल पनि छोरो जन्मिएपछि घरमै थन्किएको थियो । निकाको मनोरोगको औषधी बनेको थियो उसको छोरो । निकामाथि हात उठाउने दुस्साहस गर्ने निलको व्यवहार पनि परिवर्तन भएको थियो त्यही छोराको जन्मपछि । निकालाई आफ्नो काखमा राख्दै पहिलो पटक प्रेमले निललाई सुम्सुमाएको थियो । अस्पतालको शैय्यामा मरेतुल्य अवस्थामा आफ्नी श्रीमतीलाई देख्दा पृथ्वी उल्टो भएको महसुस गरेको थियो उसले । आफूले निकामाथि गरेका ती यावत् व्यवहारहरुलाई स्मरण गर्दै लाचार र लज्जित बनेको थियो ।
समय आफ्नै गतिमा चलिरहेको थियो । निकाको छोरा सूर्य प्रकृतिसँगै आफ्नो विकास र परिपक्वतालाई बलियो बनाउँदै थियो । ऊ गाउँको पढाइ सकेर काठमाडौँ पढ्न जान्छ । घरमा आर्थिक अवस्था कमजोर भएको हुँदा एउटा स्टेसनरीमा काम गर्दै आफ्नो पढाइलाई अगाडि बढाउँछ । कलेजका साथीहरुले “पढेर नेपालमा के नै हुन्छ र ? साथी अब अष्ट्रेलिया जाने तयारी गर्नुपर्छ” भनी सल्लाह दिन्छन् । अष्ट्रेलियामा बस्दै गरेकी उसकी साथीसँग पेपर म्यारिज गरेर सूर्य पनि विदेशतिर लाग्छ ।
उतै घरजम गरेर झण्डै आठ वर्षपछि घर फर्कन्छ । घरमा आउँदा ढोका लगाएको थियो । पिँढीभरि मुसाले माटो थुपारेको । आँगनमा कुच्चिएको गिल्टेको गाग्री लडिराखेको । यस्तो परिदृष्यले सूर्यलाई ननिको लाग्छ । सूर्यले छिमेकी कान्छी आमासँग सोध्छ “कान्छी आँवै ! हाम्रो घर कोही हुनुहुन्न ? आमा कता जानुभएछ ? अलि अस्ति मात्रै हजुरकोमा फोन गरेर आमासँग बोल्याथेँ तर घरको चाला हेर्दा त वर्षौंदेखि कोही नभएजस्तो देखिन्छ । किन होइछ कान्छी आँवै?”
कान्छी आमा बोल्नै सक्दिनन् । एकछिन पछि भन्छिन्, “हेर बाबु, दुःख नमानेस् । तँ गाको केही महिनामा हजुरआमा बित्नुभो । आमा बितेलगत्तै तेरो बुवा नि ओछ्यान पर्नुभो । तँलाई खबर पठाम्न तेरै बुवाले रोक्नु भा हो । भर्खरै विदेशाँ गाको छोरो । फर्केर आ’र याँ के अर्छ त्यस्ले । अहिलेको जमानाँ नि म जस्तो भरिया बनेर कसरी जीवन कटाम्नी हो र ! तेरै चिन्ता गरिर’नुथ्यो । पछि निमुनिया भ’र थलिनु भो । निका दिदी मेलापाताँ धाउँदै ठिक्क । त्यो नअरि फेरि कसरी गर्जो टार्नी ? एकजना मान्छे जताततै कसरी भ्याउनी हो र ? त्यस्तो भ‘सि बिरामीले राम्रोसँ स्याहार पाउनी कुरै भएन । खै एक महिना जति भयो कि कुन्नी ! तेरी कान्छी दिदीले आफ्नै घरमा लगेर राखेकी छे ।”
सूर्यको मनमा ज्वारभाटा उठ्न थाल्यो । उसले कमाएको पैसा र पाएको शिक्षा बेअर्थ लाग्छ उसलाई । ऊ कान्छी दिदीकोमा पुग्छ । कहिल्यै कसैलाई फोन नगर्ने उसको बानी । दिदीहरुले फोन गर्दा जहिलेसुकै बिजी छु भनेर फोन काट्थ्यो । दिदीले छातीमा बिरामी बुवालाई राखेर एउटा चम्चाले सुप खुवाउँदै थिई । आमा एकातिर टोलाएर बसेकी थिइन् । तीन छोरीपछि भाकल गरेर पाएको छोरो आफूबाट धेरै टाढा थियो । सूर्य आमाको खुट्टा छोएर दर्शन गर्छ । बुवाको अनुहारमा छुट्टै उज्यालो छाउँछ । दिदी बरर्र आँसु खसाल्दै भान्सातिर पस्छे । सूर्यको आगमन बुवाको लागि धेरै बेरको खुसी भएर रहन सकेन । उनलाई अस्पताल पुर्याइन्छ । तर अस्पतालले मृत्यु भइसकेको जानकारी गराउँछ । आफ्नो बुवाको सद्गत गर्दागर्दै आफ्नी आमाको अनुहारमा हेर्छ । कुनै रङ नभएको सादा अनुहार अनि उनलाई बेरिएको त्यो सेतो फरिया । अनि सुकेको स्वरमा रुँदै थिइन् । “मलाई पनि लैजाऊ पापी यो सेतो फरियाले बाँधेर नराख ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।