धुपीजस्तै हरियो बाँच्न
उसले पिउँछ
अहङ्कारको एउटा खिली
चिथोर्छ प्रेमवृक्षको छाती
र निमोठ्छ एक मुठी सास फेरिरहने पातहरू
उमेरका जराहरू खोतलेर
भत्काउँछ
नानीहरूको आयुको सिरानी
मिसाएर रोगी नङ्ग्राहरू
धमिलो पानीमा
हेर्न खोज्छ आफ्नै भविष्यको नीलो छाया
प्वाल पार्न सम्बन्धको आकाशमा
उडाउँछ कार्बनजस्ता विषाक्त सोचहरू
विश्वासका रूखहरू ढालेर
बनाउँछ अहम् चढ्ने भर्याङका खुट्किलाहरू
छरेर रासायनिक विचारहरू
कमजोर पार्छ आफ्नै पैताला अढिने माटो
उठाएर कुकीर्तिका अस्त्रहरू
पातलो पार्छ ओजोनको छाती
आक्रोसको सलाई कोरेर तातो निधारमा
जलाउन खोज्छ
भरोसामा झुलिरहेका
सिमलीका शितला हाँगाहरू
निधारलाई थाहा छ छैन
धुवाँको भर्याङ ओर्लंदै खसिरहेछ आकाश
निधारैनेरका आँखाहरूमा
+
आत्मदाह गर्न
++
उसलाई यही थाहा छ
धुपीको हत्या गर्नु
धर्म हो
+++
अहङ्कारको धुवाँ उडाउँदै
सम्बन्धको ओजोन जलाउनु
बहादुरी हो !
++++
ओ आकृतिहरू
आऊ सलाई कोरौं
र डढाऔं सलाईजस्ता अहम्हरू
आऊ धुपी गोडौं
र बचाऔं सम्बन्धजस्ता पातहरू !
अमेरिका



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










