चुप लाग शक्ति सञ्चय गर
गर
आँखैअघि कोही मरे पनि
नदेखेको अभिनय गर
सडकमा नारा लगाउँदै हिँड्ने
तमाम ती ठिटाहरूको
बालै नगर
खाडीमा पसिना बगाएर
काठको बाकसमा
स्वदेश फिर्ने युवाहरूको तिमी
बालै नगर
वस्त्र च्यात्तिएर झाडीमा फ्याँकिएकी
निर्मलाहरूको तिमी
बालै नगर
लुट
इज्जत लुट
पसिना लुट
गरिबको आलाप विलापको तिमी
बालै नगर
भोट माग्दा सम्झेर आउनू
जनताका समस्याहरू
संसद् पस्दा सबैसबै भुलेर जानू
बालै नगर्नू
भोट माग्दा
म सबैको साझा भन्नू
पत्याएर औँठा छाप हानुँला
संसद् पस्दा दलहरुको दले बन्नू
जनताको बालै नगर्नू
अपराधीलाई तिमी
शिरमा राख
दलालहरूलाई काँधमा राखेर हिँड
म – हामी कर तिरिरहौँला
हाम्रो- मेरो झुपडीलाई
तिमी कुल्चेर हिँड
बालै नगर
हिजो बन्दुकको गोली खाएका
देशबासीले
सिटामोलको गोली
नखाए पनि हुन्छ
बालै नगर
पहिला राम्रो गाडी किन्नु
हामीलाई तुइन छँदैछ
बालै नगर
विचौलियाको लगौटिया यार बन्नु
हामी हलो जोतिरहुँला
तिम्रो दलको दले बन तिमी
हामी हलेहरूको बालै नगर
देह व्यापारीको देहजस्तो
तिम्रो बाली
आसेपासेको मुख टाल्दै बस्
यता नेपाल आमाको चोली फाटेको छ
बालै नगर
तिम्रै गुणगान गाउने
झोलेहरूलाई
खोले खुवाउँदै हिँड
किसान भोकै मरे पनि बालै नगर
तिम्रै आँखाअघि कसैले
आत्मदाह गरे पनि
बालै नगर
यी हरकुराको बालै नगरे पनि
एउटा कुराको ख्याल गर
एकदिन माटोले सराप्ने छ
एकदिन देशले सराप्ने छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।