फर्के न ए परदेशी
अब त फर्के
तेरै आशमा कसैको प्राण
झुन्डिरहेछ
तैँ परदेशीको बाटो हेर्दै
डुब्नै लागेको डाँडा
माथिको घाम पर्खिरहेछ

उनको अन्तिम इच्छा
तेरो मुहार देख्नु छ
तेरो बाध्यता धनको
मुहान भेट्नु छ
कति दौडिन्छस् त्यो परदेशमा
सुखका दिन खोज्दै
यता कोही तडपिरहेछ
तेरै पदचाप खोज्दै
तेरै स्पर्श खोज्दै

तेरै बाटो हेर्दै प्राण झुन्ड्याउने
ती अरु कोही होइनन् ती तेरै आमा हुन्
ती तेरै बा हुन्
फर्के न ए परदेशी फर्के
नत्र डाँडा माथिको घाम डुबी जाला
तैँले सन्तान हुनुको धर्म पूरा गर्न नपाउलास्
फर्के

थाहा छ,परदेशमा दुःख छ
तँलाई पनि
थाहा छ,बाआमाको झल्को
आउँछ तँलाई पनि

तैँले पठाएको धनले मात्रै
आमाको मन कहाँ बुझ्छ
केवल तेरो स्पर्शले
बाको मन खुसी हुन्छ

थाहा छ
आमाको फाटेको चोली फेर्न
बाको पुरानो कोट फेर्न
परिवारमा खुसी ल्याउन
तँ परदेश पसेको होस्

फर्के ए परदेशी फर्के
जस्लाई सुख दिन
पसिना बगाएको थिइस्
उनै नरहेपछि
तेरो पसिनाको अर्थ छैन

बरु अर्थ छ
अन्तिम पलमा पाएको तेरो
स्पर्शको
बाआमालाई यतिमै शान्ति छ
सन्तोष छ
फर्क न ए परदेशी फर्के ।