घर छोडेँ
देश छोडेँ
मैले मनमा रहर
सजाउन छोडेँ
दुःखका शब्द कोरी
सरकार, तँलाई चिठी
पठाउन छोडेँ

थाप्लामा
ऋणको भारी बोकी
दुःखसुख पढेकै हुँ
आफ्नै देशमा दुःख गर्छु
अठोट पनि गरेकै हुँ

पढिरहेँ रोजगार छैन
ऋण झन् झन् बढ्दै गयो
मेरो मास्टरको सर्टिफिकेट भन्दा
राहदानी नै बलियो भयो

उता खाडीमा सानोतिनो
जागिर पाइन्छ रे
जान्छु उतै पसिना बगाउन
रेमिट्यान्स पठाउँला सरकार
तँलाई खर्च चलाउन

तिमी बच्चाको पौष्टिक
आहारमा पनि भ्रष्टाचार गर्छौ
तिमी वृद्धको
आधारमा पनि भ्रष्टाचार गर्छौ

मन्त्रीज्यु, म जागिर खोज्दै
अफिस अफिस धाउन छोडेँ
सरकार ! मैले दुःखका शब्द कोरी
तँलाई चिठी पठाउन छोडेँ

कृषि प्रधान देश मेरो
भोकै सुत्छन् कृषकहरू
जनता झुक्याई
सिंह सरी बसेका छन् ! शासकहरू

न कुनै पार्टीको झन्डा बोकेँ
न कसैको टाउको फोडेँ
सरकार ! अब त मैले देशै छोडेँ ।