बतासमा फैलिएको धुलोको
कण जस्तो तिम्रो माया
दुःखमा आफ्नाहरूले लगाएको
वचन जस्तो तिम्रो माया

गयौ छोडी गयौ
सबै सबै छोडी गयौ
फेरि तिमीलाई भुल्नै नसक्ने
यो पागल मनजस्तो तिम्रो माया

अचेल अतितले मेरो मृत
वर्तमानलाई जिस्काइरहेछ
तिम्रै यादहरूमा
यो पागल मन रोइरहेछ
चिच्चाइरहेछ
चिताबाट उडिरहेको
धुँवाजस्तो तिम्रो माया
प्रियसीको याद बोकी हिँड्ने
बेमौसमी बटुवाजस्तो तिम्रो माया

पश्चातापको कारावासमा कैद छ
कुलतमा फँसेको मन मेरो
अब त्यो सुदूर मृत्यु कुरिरहेछ
तिम्रो स्पर्श पर्खिरहेको यौवन मेरो

म त्यहाँ जान पाऊँ
जहाँ तिम्रा सम्झनाहरू जानै नसकून्
म त्यहाँ जान पाऊँ
जहाँ यी पश्चताप मिश्रित वेदनाहरू
जानै नसकून्

म चाहन्छु
मेरा मलामीहरूले
तिम्रो जन्तीको बाटो नछेकून्
म चाहन्छु
तिम्रा ती सुसज्जित नयनहरूले
यो दुःखीको दुःखी चेहेरा
अब कहिल्यै नदेखून्

बाटोमा कतै मलाई देखे
तर्किएर हिँड्नु
तिम्रा सहेलीले मेरा कुरा गरे
झर्किएर बोल्नु

तिम्रो रङ्गीन डायरीमा
कतै मेरो चिठी भेटे
त्यसलाई घमण्डको डस्टबिनमा
फ्याँकिदिनु
तिम्रो सिरानीमुनि मेरो तस्बिर भेटे
च्यातिदिनू/जलाइदिनू

म चाहन्छु
तिम्रो घरबारमा दरकार नआओस्
म चाहन्छु
तिम्रो सुखी त्यो राज्यमा
निर्दयी/ भष्टाचारीहरूको निरङ्कुश
सरकार नआओस्

तिम्रो दाम्पत्य जिन्दगीमा
दुर्दशाको पल नहोस्
तिम्रो मनको बैठक कक्षमा
कहिल्यै हाम्रो अधुरो प्रेमबारे
छलफल नहोस् ।
***