शिरै काटी चढाइदिन्थेँ पाउमा मागेको भए बरु
झुक्याई तिमीले छोडेर गएछौ हे भाइ कसो गरूँ
सुनेर खबर पिएझैं जहर मूर्छा परें म जसै
उडेर आउँथें पंक्षीझैं हरर बिदा मिलेन कसै
(१)

आमा छिन् बिमारी पीरले बिचरी रुँदिहुन् छाती पिटी
के भयो हे छोरा, भनेर बुढा बा रुँदाहुन् टोपी झिकी
दाजु र भाउजू, दिदी र भिनाजू तिम्रै भलो सोच्दथे
भतिजा भतिजी भानिज र भान्जी तिम्लाई नै खोज्दथे
(२)

ती बाला कलिला आँखा छन् रसिला जीवनसाथी पनि
भाइ र बहिनी काका र काकीको सातो उडीगो अनि
तिम्रो दिव्य मुहार सम्झिदै यहाँ रुन्छु म पर्देशमा
कस्तो हालत होला आफन्त जनको बिचरा घर्देशमा
(३)

देखेथें सपना ढलेको रुख त्यो आवाज ठुलो गरी
सहारा नपाई ढलेछौ हे भाइ, त्यै रुख ढले सरी
जानु त एकदिन पर्दछ सबैले ढिलो या चाँडो न हो
उमेरै नपुगी गयौ नि तिमी त मुटु चुँडियो अहो !!
(४)

बिरामी हुँदा औषधि उपचार गरि बँचा’का थियौं
भाइले अब ता सन्तोष देला कि भनि रमा’का थियौं
असी साल जेठको एघार कप्टी कालो अँध्यारो अत्ति
चुँडेर लगि’गो प्रियजन हाम्रो भैगो नि ठुलो खति
(५)

राजा या त जोगी समान हुन्छ यो भन्थे हेर्नेले पनि
दैवको कानुन सहेरै बाँचौंला यस्तै रहेछ भनी
समय रहेछ बलिष्ठ बलियो कस्को के लाग्दोरै’छ
खुसुक्क आएर बिगार गरेर लुसुक्क भाग्दोरै’छ
(६)

बन्धु-बान्धव इष्टमित्र छिमेकी आफन्त सबै आए
मुक्तिघाटको त्यो पवित्र चितामा श्रद्धाञ्जली वर्षाए
यो दूर देशमा दुखिया दाजुको कलेजो काटियो नि
आकाश खसेर थिचेझैं भैगयो धरती भासियो नि
(७)

माता र पिताको छोरा र छोरीको जिम्मा मेरै छ सदा
हे भाइ, स्वर्गमा शान्तिले रहनू चिन्ता नलिनू एता
ईश्वरको खटन सकिन्न काट्न बुझेर राजी हुनू
प्रार्थना यही छ हरदम तिमीले वैकुण्ठबासी हुनू
(८)

***

(विक्रम सम्बत् २०३७ साल कार्तिक १५ गते पिता मीनबहादुर खड्का र माता मीना खड्काको कोखबाट जन्मिएका हाम्रा परमप्रिय / सदास्मरणीय कान्छा भाइ केदार खड्काको विक्रम सम्बत् २०८० साल जेठ ११ गते ४३ वर्षको अल्पायुमै अकल्पनीय, आकस्मिक र असामयिक निधन भएकाले हामी स-परिवार मर्माहत भएका छौं । स्व. भाइ केदारको अमर आत्माप्रति चिर शान्तिको कामना तथा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै यो शोक काव्य गुच्छा समर्पण गरेको छु ।)

दाजु : गणेश खड्का
इटहरी- ४ सुनसरी, नेपाल
हाल : फ्रिगेट आइल्याण्ड, सेसेल्स (पूर्वी अफ्रिका)
२१ जेठ, २०८० आइतबार
तदनुसार : ४ जुन २०२३