नवीन प्यासी

सुसाइड नोटमा लेखिएको छ-
‘यदि अर्को जुनी सम्भव छ भने
म मानिस भएर जन्मन चाहन्छु’ ।
प्रमाणको नाममा उसको घाँटी रेटिएको छ
छ मुखमा अलिकति फिँज
र छेवैमा तरकारी काट्ने चक्कु !
मानिसहरू भनिरहेछन्-
‘यस्तो प्रतीभाको कसले हत्या गर्यो ?
यो आत्महत्या होइन, हत्या हो’
ऊ पेन्टर थियो-
रङहरूमार्फत पोत्थ्यो निसास्सिँदो विचारहरू
ऊ कवि थियो-
कवितामार्फत लेख्थ्यो हजार पैतालाले थिचेको मुस्कान
ऊ संगीतकार थियो-
सूरमार्फत निकाल्थ्यो गहिरो पीडाको मेलोडी
ऊ मानिस थियो-
आवाजमार्फत बोल्थ्यो मानिसको पक्षमा ।
संविधानको धारा-उपधारा थिएन उसका लागि
न थियो कुनै आरक्षण
थिएन कुनै पार्टीको घोषणापत्रमा नक्कली आस्वासन
किनभने ऊ भोट बैंक थिएन
किनभने दर्ता थिएन उसको नाम निर्वाचन आयोगमा ।
ऊ नागरिक थिएन यो देशको
बनेको थिएन नागरिकता ।
थियो त- सधैं सधैं उसलाई गिज्याइरहने समाज
थियो त- सधैं सधैं विवाहको प्रस्ताव ल्याइरहने परिवार
थियो त- सधैं सधैं प्रश्न गरिरहने साथीभाइ ।
ऊ भनिहिँड्थ्यो-
नागरिकतामा मेरो फोटो कस्तो देखिएला ?
रुन छाडेको थियो, सक्किएको थियो आँखामा आँसु
दुख्न छाडेको थियो, ढुंगो बनिसकेको थियो मुटु
किनभने,
मानिस भएर बाँच्न खोजिरहेको ऊ तेस्रो लिंगी थियो ।