१.
ईश्वर बल्लभ (११.०७.१९३७-२२.०३.२००८) आधुनिक नेपाली साहित्यका प्रातः स्मरणीय प्रतिभा हुन्। उनको विधागत क्षेत्र कविता, कथा, निबन्ध र समालोचना हो। साहित्यिक स्तरीयता र योगदानका दृष्टिले उनका सबै क्षेत्रका रचनाहरू महत्त्वपूर्ण मानिन्छ। उनले टुकी, प्रज्ञा, फूल-पात-पत्कर र तेस्रो आयाम पत्रिकाको सफल सम्पादन गरेर नेपाली साहित्यिक पत्र–पत्रिकाको विकासमा पनि महत्त्वपूर्ण योगदान दिएका छन्।
बल्लभ बहुमुखी प्रतिभा भए तापनि नेपाली साहित्य संसारमा उनी कवि प्रतिभाकै रूपमा धेरै चर्चित र लोकप्रिय छन्। सङ्ख्यात्मक रूपमा पनि उनले कविता सिर्जनामा नै धेरै ऊर्जा र समय खर्चेका छन्। मदन पुरस्कार, साझा पुरस्कार, रत्नश्री स्वर्ण पदक, मुक्ति पुरस्कार, व्यथित सिन्धु पुरस्कार र प्रेस काउन्सिल पुरस्कारले उनका कविताहरू वा काव्यिक योगदानको मूल्याङ्कन भएबाट पनि उनको खास विधा क्षेत्र कविता नै रहेको पुष्टि हुँदछ। उनका चारवटा कविता सङ्ग्रहहरू क्रमैले आगोका फूलहरू हुन्, आगोका फूलहरू होइनन् (सन् १९७२), एउटा सहरको किनारामा (सन् १९७७), समानन्तर (सन् १९८१ ) र कस्मै देवाय: (सन् १९८५) प्रकाशित छन्।
ईश्वर बल्लभ मूलत: प्रयोगवादी कवि हुन्। आफ्ना कविता यात्राको आदिदेखि अन्त्यसम्म उनले यस प्रवृत्तिलाई कायम राखेको देखिन्छ। नवीनता प्रतिको मोह र आफ्नोपन प्रतिको सजगता उनका सबै कविताहरूमा प्रतिविम्बित हुन पुगेका छन्। कविताको भाव, भाषा, शिल्प, शैली, प्रस्तुति, संरचना आदि सबै अवयवहरूले उनको प्रयोगधर्मितालाई सशक्त ढङ्गमा आत्मसात गरेका छन्। वस्तुत: उनका आयामिक मान्यता र कविताहरू उनमा अन्तर्निहित प्रयोगवादी प्रवृत्तिकै विशिष्ट अभिप्राप्तिहरू हुन्।
वस्तुतालाई आयामिक लेखनको सबैभन्दा महत्त्वपूर्ण तत्त्व मान्ने बल्लभका कविताहरूमा वस्तुको स्वतन्त्र अस्तित्व जे-जस्तो छ त्यसलाई त्यसमै रहन दिने उद्यमले अनुप्रेरित छन्,
मैले हाँगा, पात नभएर रुख जिउँछु।
-नितान्त
बल्लभका कविताहरू वस्तुको आन्तरिक, सूक्ष्म, अमूर्त र अगोचर पाटाको अन्वेषणमा प्रतिबद्ध छन्। उनका कविताहरूमा वस्तुको घनत्त्व वा गहिराई पक्षको उत्खनन पाइन्छ,
एउटी बूडी आइमाईले ऐना हेरेर
आङ्गमा बैँस कन्याएको जस्तै म अभिशप्त छु।
-हिज मेरो घर
आद्यताको माध्यमद्वारा सम्पूर्णताको प्रकटीकरण बल्लभका कविताहरूको अर्को आयामिक विशेषता हो,
मभित्र एउटा मानिस नाङ्गो सुतिरहेको छ
मबाहिर एउटा मानिस नाङ्गो सुतिरहेको छ
ऊ चलमलाउँदैन कहिल्यै
ऊ जहिल्यै अल्झिन्छ
ऊ घाउजस्तै बल्झिन्छ।
-अग्निद्वीप
आद्यताले नै वस्तुको वस्तुता र सम्पूर्णतालाई मूर्त रुप दिन्छ भन्ने आयामिक आस्थाको दह्रिलो प्रयोग बल्लभका कविताहरूमा पाइन्छ,
उसका सबै ठाउँहरूलाई
सुमसुम्याउन थालेको उहिलेको युगदेखि
तिमीले र मैले सहीद भैदिएको आस्थाको क्षण
एउटा पुराण हो
एउटा बहुला कार्निवलको चिहान हो
आदिम सत्य यस्तै हुन्।
-एउटा सहरको किनारामा
बल्लभका कविताहरूमा चित्रकलाको सोझो-साम्य भाषाको कलात्मक प्रयोग पाइन्छ। तत्क्षण अनुभवले चित्रकलामा जुन अनुभूति पाइन्छ त्यसलाई झ्वाम्म भाषामा टिप्न बल्लभका कविताहरू कटिबद्ध देखिन्छन्,
धुपीका रुखहरू बिउँझेर उक्लिएर पहाडका शिखरहरू
निहारिका चिहाउँछ हातमा आँखा लिएर।
-त्यो बगेको पानी दजला र फरातको
कवि बल्लभ जीवनवादी कवि हुन्। अर्को अर्थमा मानवतावादी कवि। उनका कविताहरूमा हताशा, कुण्ठा, नैराश्य आदिको भाव निकै बाक्लो देखिए तापनि जीवनप्रति उनको गहिरो आस्था र अनुराग छ। मानवीय मूल्यहरूको स्फूरणमा पनि उनका कविताहरू आग्रही छन्,
आकाश मात्रै नहेर
धरती पनि हेर्नु पर्छ।
-मानिसको पयर
बल्लभ विम्बवादी कवि हुन्। विम्बहरूको बाक्लो घारी पाइन्छ उनका कविताहरूमा। उनका कविताहरू आद्योपान्त विम्बात्मक हुने गर्छन्। शब्दमा मात्र होइन, पङ्क्तिमा मात्र होइन सिङ्गो पङ्क्तिपुञ्ज वा कविता नै विम्बमा प्रस्तुत गर्नसक्ने कला उनमा निहित छ। यसैर समालोचक इन्द्रबहादुर राई भन्छन्– कवि बल्लभ विम्बमा कविता लेख्नुहुन्छ। नमूनांश हेरौँ,
गहिरो निलो सरीरको देव
गहिरो निलो पानी
गहिरो गगन निलो।
– अग्निद्वीप
यसै गरी सार्वभौमिकता, विद्रोह चेतना, व्याकरणिक विचलन, गद्यात्मकता, अनुप्रासीय सङ्गीतात्मकता, लामा आयाम, आख्यानात्मक संरचना आदि उनका अन्य कविता प्रवृत्ति एवम् विशेषता हुन्।
२.
अङ्ग्रेजीमा प्रचलित कन्फेसनल पोएट्रीको निम्ति नेपालीमा ‘साबिती’ कविता उपयुक्त नाम देखिन्छ। नेपालीमा यसलाई कायलनामा कविता वा मञ्जूरीनामा कविता भन्दा पनि कुनै अनर्थ नहोला।
साहित्यिक परम्परामा पारिवारिक दुर्मृत्यु वा अस्वाभाविक मृत्युको स्वप्रयत्नको स्वीकारण लगभग वर्जित विषय हो। वास्तवमा व्यक्ति जीवनका दुर्घटना, चारित्रिक दुर्गुण, मानसिक विकार, गुप्तरोग, यौनकुण्ठा, प्रेम निराशा, वैवाहिक जीवनको असफलता, आत्महत्या प्रवृत्ति, पारिवारिक कलह, अनुवांशिक रोग, पारिवारिक दुर्मृत्यु आदि जस्ता जीवनका अँध्यारा र सार्वजनिक गर्न असजिला पाटाहरूलाई इमान्दारपूर्वक स्वीकार गर्दै कवितामा साझा गर्नु साबिती कविता हो। व्यक्ति जीवन वा पारिवारिक जीवनका अँध्यारा पाटाहरूदेखि भागेर वा ढाकछोप गरेर होइन तर तिनलाई निर्भय र इमान्दारीसँग कवितामा अभिव्यक्ति दिनु साबिती कविहरूको अभीष्ट हो।
कविताको एउटा नयाँ जनरको रूपमा साबिती कविता अमेरिकी चिन्तन परम्पराको अवदान हो। पश्चिममा (खास गरेर अमेरिकामा) कविताको नयाँ जनरका रुपमा कन्फेसन कविताको सुदीर्घ परम्परा बसिसकेको छ। कविता लेखनका यस अनौठो र विवादस्पद धाराको सर्वाधिक चर्चित प्रतिभा हुन्– सिल्भिया प्लाथ (सन् १९३२-१९६३)। सिल्भिया प्लाथले आठ वर्षको कलिलो उमेरमा बाबुको आत्महत्या आफ्नै आँखाले प्रत्यक्ष देखिन्। जन्म र मृत्युको अभेद्ता कलकलाउँदो उमेरमै बुझिन्। बाबुको अस्वाभाविक मृत्युले जीवनभरी ऐंठन पारिरह्यो प्लाथलाई। सामान्य मनोदशामा जीवन भोग्न पाइनन् उनले। आफैँले पनि पटक पटक आत्महत्याको कोसिस गरिन्। तिनलाई निर्भीकतासहित कवितामा साबिती गरिन्। बाबुको आत्महत्या, असामान्य बालखपन, तनावग्रस्त मनोस्थिति, जीवनप्रतिको अनास्था र आत्महत्याको असफल कोसिस प्लाथको कवितालाई प्रेरणा बन्यो। कालजयी कनफेशनल कविताहरू सिर्जन गरिन्, प्रतिष्ठित पुलित्जर पुरस्कार पाइन्। अन्तत: प्लाथले एकतीस वर्षका अल्पायुमा आत्महत्या नै गरिन्। जोन बेरीमेनका पिताले आफ्नै आँखासाक्षी गोली ठोकेर आत्महत्या गरे, आमा पोइल गइन्। ती घटनाहरूले बेरीमेनको कलिलो मनोकाशमा सधैँका निम्ति अँध्यारो छरिदिने काम गऱ्यो। अन्तत: आफैँले पनि वासिङ्गटन ब्रिजबाट मिसिसिप्पी नदीमा हाम्फालेर आत्महत्या गरे तर पारिवारिक कलह, दुर्मृत्यु, जीवनगत अनास्था आदिलाई आफ्ना कविताहरूमा निर्भीकतासहित अभिव्यक्ति दिए। कमला दासले आत्महत्या गरिनन्। पचहत्तर वर्षको आयु बाँचिन् तर पटक पटक आत्महत्याको कोसिस गरिन्। आफ्नो असामान्य मनोस्थिति तथा गृह कलह, यौन असन्तुष्टिजस्ता नितान्त व्यक्तिगत समस्याहरूलाई आफ्ना रचनाहरूमा इमान्दारपूर्वक नाङ्गोझार पारिन्।
पश्चिममा कविताको साबिती जनर दोस्रो विश्व युद्धकालतिर नै स्थापित र रूढ भइसकेको हो। नेपालीमा भने यस प्रकारको रचना आमाको आत्महत्याइतर पाउनु गाह्रो छ।
३.
रूपरेखा पत्रिकाको दुई अङ्कमा (वर्ष १२, अङ्क ४, वि.स. २०२८ र वर्ष १२, अङ्क ५, वि,स, २०२८) क्रमश: छापिएको ‘मेरी आमाले आत्महत्या गरेको देश’ कवि ईश्वर बल्लभको सर्वाधिक चर्चित कविता हो। चित्रभाषाको कलात्मक प्रयोग, विद्रोह चेतना र अनुभूतिको सम्पूर्णता यस कविताको महत्त्वपूर्ण उपलब्धि हो।
कति कविता यस्ता पनि हुन्छन् जसको अन्तर्वस्तुलाई पर्गेल्न पाठेतर सामग्रीमा धेरै निर्भर पर्नुपर्ने हुन्छ। प्रसङ्गत: बल्लभको मेरी आमाले आत्महत्या गरेको देश कविताको सारवस्तुलाई राम्ररी छिचोल्न बल्लभको जिन्दगानी तथा उनका पारिवारिक, सामाजिक र राजनीतिक पृष्ठभूमि नचिहाई सम्भव बन्दैन।
ईश्वर बल्लभका पिता पण्डित मुरलीधर भट्टराई नाम चलेका पण्डित र विद्वान् थिए । राजनीतिमा उनको चासो थियो तर सक्रिय राजनीतिमा उनी थिएनन् । चन्द्रशमशेर जङ्गबहादुर राणाको राजसत्ताले नेपाली काङ्ग्रेसमा राजनीति गरेको अभियोगमा पण्डित मुरलीधर भट्टराईलाई छ-सात वर्ष जेलमा थुने । उनकी आमा राममाया भट्टराईले त्यस कालखण्डमा ठूलो कष्ट सहिन् । गिट्टी कुटेर दुईजना छोरालाई लालनपालन गरिन् र पढाइन् । एक्लो अभिभावकको कर्तव्य सकुशलतापूर्वक निर्वाह गरिन् । तर पिताजी जेलबाट निस्केपछि त्यसभन्दा ठूलो कष्ट पाइन् । चन्द्रशमशेरले मुरलीधरलाई दिएको सजायभन्दा ठूलो सजाय मुरलीधरले राममायालाई दिए । एउटी नारीका लागि सौता हाल्नुभन्दा ठूलो सजाय के हुन सक्छ । पण्डित मुरलीधरले राममायामाथि त्यही अन्याय गरे र उनले नगरेको अपराधको सजाय दिए । अनि, एकदिन यही असह्य अपमान र पीडाबाट मुक्ति खोज्न एउटी स्वाभिमानी नारीले खुकुरीले सेरिएर आत्महत्या गरिन् । त्यस समय विश्ववल्लभ बालक नै थिए तर ईश्वर बल्लभ सोच्ने-विचार्ने तेह्र वर्षको उमेरमा हिँडिरहेका थिए । मर्दै गरेकी आमाको छटपटी र त्यस असह्य पीडाको द्रष्टासाक्षी छोरा ईश्वर बल्लभले त्यस पूर्वदृश्यलाई कति वर्षसम्म मुटुमा गाँठो पारेर मन्थन गरेर हिँडे भनेर साध्य छैन । जीवनकालभरि बल्लभलाई आमाको आत्महत्याले पिरोलिरह्यो । अन्तत: लामो समयको पीडामय छटपटीपछि बाफिएर कागजका पन्नामा तपतपी चुह्यो – मेरी आमाले आत्महत्या गरेको देश (यस परिच्छेदको निर्माण गुगल सर्चबाट लिइएको सामग्रीबाट भएको छ, अहिले खोज्दा स्रोत विवरण अनुपलब्ध रहेछ, क्षमा चाहन्छु)।
इन्द्रबहादुर राई लेख्छन् – प्रासङ्गिक हुन्छ यहाँ भारतीय एक आध्यात्मिकले सोधेकोमा पवित्र दलाई लामाको उत्तर। प्रश्न गरिएको थियो: किन तिब्बती गुम्बाहरूमा नवशिष्यहरूलाई पात्र मृतकको (पाइँदो मृत कुनै गुरुको) खोपडी दिइएको, बजाउनलाई नलीहाड र हड्डीको माला दिइएको। दलाई लामाले बुझाइदिनुभएको छ: जीवन र मृत्युको अभेदता, अरू पनि अभेदता, आत्मासात् गराउनलाई छ त्यो प्रशिक्षण। मृतकीय वस्तुहरूसितको सदा सामीप्यले, छुँदाको अभ्यस्तताले र तिनीहरूको सधैँ उपयोगले अभेदता बुद्धिले सँगै मनले पनि गृहीत बन्छ। कविले योगीय अभेगतामा पुग्नलाई, त्यो अभेदता अनुभूत गर्नलाई मृत्यु र मृत्युका पार्यायिक समवेत क्लेशदहरूसित अभय खेल्न सक्नुपर्ने रहेछ। आत्महत्या कवितामा कवि ईश्वर बल्लभलाई यस फाँटमा पुगेका पाउँछौँ। छोरो बल्लभ आमाको आत्महत्यासित खेलिबस्छन्। यसरी सधैँ उठबसको निरन्तरताले छोरो बल्लभमा आत्माहत्या विषयक सामाजिक–नैतिक धारणाप्रदत्त लाज, ग्लानि, भयजस्ता भावहरू टकटकिँदै जान्छ र तिनलाई प्राज्ञिक अवस्थाबाट अवलोकन गर्न सक्ने सामार्थ्यको विकास हुन्छ। छोरो बल्लभको त्यस प्राज्ञवस्थालाई कवि बल्लभले प्रेरकतत्त्वको रूपमा आत्मसात गर्दछन्।
आमाको आत्महत्या छोरो बल्लभका निम्ति जिन्दगीभरलाई गाडेघाउ भयो। त्यस घाउले बल्लभलाई नदुखाएको कुनै पल थिएन। कविको दिनचर्या नै आमाको सम्झनाबाट सुरू हुन्छ, काकाकुलीले चारैतिर रगतै रगत देखेजस्तो बल्लभ पनि जहीँतहीँ र जहिलेतहिले आमाको क्षत-विक्षत लास मात्र देख्छन्,
म बिहान उठेर एउटा सिङ्गो आकाशलाई जब हेर्छु,
त्यसको वरिपरि रातो दाग लागेका हुन्छन् ; थुप्रै
सूर्यहरू
अस्ताउन आँटेका हुन्,
मेरा अग्लिएका हात पाखुराहरू तिनलाई भेटाउन
खोज्छन्
उम्किदै गइरहेका आभास भएर
उम्किदै गइरहेका क्यानभास भएर
आफ्ना सत्यहरू भएर,
तिमीले कहिलेकाहीँ देखेका छौ
परको आकाशलाई अझै परको क्षितिजलाई
अझै परको रातो रङ्गलाई भने – त्यो मेरो आमा हो
बिहान आँखा उघारेर पहिलो पटक जब कवि आकाश हेर्छन्, आकाश रातो दागले रगताम्मे हुन्छ। त्यस्तो देख्दा कविलाई मानवीय सभ्यता असामयिक मृत्यु पर्खिरहेको, आफ्नो चेतनाले सभ्यताको उद्धार खोजिरहेको तर केही गर्न नसकेको लाचार अवास्थामा आफूलाई पाउँछन्। कवि रगताम्मे आकाशमा आमाको प्रतिबिम्ब पाउँछन्। आमाको आत्महत्या आफ्नै आँखासाक्षी घटेको तर आमालाई आत्महत्यादेखि रोक्न नसकेको आफ्नो लाचारीपन वा विवशतालाई आकाशको गाडा रातो चित्रबिम्बद्वारा अघि सार्छन्।
कविलाई लाग्छ, आत्महत्या गहिरो घाउ हो, जीवनभर ननिको हुने गाडे घाउ हो। आत्महत्या फूलजस्तो फक्रन सक्छ, क्रान्तिको प्रेरक बन्नसक्छ, प्रगतिको आधार बन्नसक्छ। घाउले मानिसलाई जिउन पनि सिकाउँछन्। कविलाई के अनुभूति हुन्छ भने आजसम्म कसैले नपाएको निर्मम पुरस्कार आमाको आत्महत्याको रूपमा मैले पाएको छु र त्यो पुरस्कार मलाई देशको व्यवस्थाले दिएको हो।
बल्लभले आमाका दुर्मृत्युलाई भुल्न कति कोसिस गरे होलान्, भनेर साध्य छैन। आमाको त्यस दुर्मृत्युलाई जतिसक्दो भुल्नु कविको लक्ष्य छ,
र फलस्वरूप म त्यो खुकुरी धोइरहेको हुन्छु।
अथवा
किनभने मैले यसलाई मेरी आमाको रगतदेखि
मुक्त गर्नु छ
मात्र फलाम बाँकी रहोस भनेर
अथवा
त्यो आश्चर्यको रुखलाई माटोले प्रशस्त बाँध्छ
माथि उम्रन सक्दैन त्यसैले
धरतीदेखि उम्किन नसक्ने वाध्यता
उसको तिम्रो पनि होइन, मेरो पनि
त्यसैले किन चिन्तित हुने।
बरु केही तितेपातीका स्याउला र मंत्रले भजाएका अक्षता
चौतारीका धुलो लिएर मन्छिन चाहन्छु यस स्वप्नलाई।
तर सक्दैनन् कवि। भुलेर भुल्न सकिने त्यति सहज विषय पनि त होइन आमाको आत्महत्या। कविलाई राम्ररी थाहा छ, आफ्नो जरा,
त्यो मेरो आमाको रगत
मेरो रुख हो।
आफूले भोगेका असह्नीय पीडा अरूले भोग्न नपरोस् भन्ने कामना गर्दछन् कवि। कुनै पनि छोरोले आमाको आत्महत्याको द्रष्टासाक्षी हुन नपरोस् भन्ने अभीष्ट पाल्दछन् कवि। कवि आफ्नो अनुभवको होसियारी र सचेतता साझा गर्छन्, यसरी,
भन्ने छु तिम्री आमा पल्लो कोठामा
गइन अब एउटा आवाज आउने छ।
यौटा ठूलो ढिलो भैसकेपछि तिमी भन्ने छौ
यो मेरो आमाले आत्महत्या गरेको देश
अथवा
गएर हेर – कसैले खुकुरी लुकाएको त छैन
(सायद तिम्री आमाले लुकाएको होला)
पल्लो कोठाबाट आवाज आउन्जेल नपर्खिनु
त्यसबेला – तिम्री आमा मरिसकेकी हुन्छे
उसले आत्महत्या गरिसकेकी हुन्छे
कहिलेकाहीँ कविलाई आत्महत्या मानवीय कायरता लाग्छ, सङ्घर्षदेखि पलायन लाग्छ,
जब यौटाले आत्महत्या गर्छ
उसले नै गर्छ –
उसले भोग्छ
ऊ कायर पनि हो – त्यो कायर मेरो आमा हो।
फेरि कविलाई आमाको आत्महत्या बलिदानजस्तो पनि लाग्छ,
तर, ती छर्किएका पवित्र पानीहरू थिएनन्,
ढोका, दलिन र भित्ताहरूमा रातो लागेका व्यक्तिगत
बलिदानजस्ता।
सहादतजस्तो।
उसको अनुहार।
यसर्थ कविलाई बलिदानको उत्सव मनाउन मन लाग्छ,
यस बेला ठूलो उत्सव मनाएर, ठूलै नृत्य गरे पनि
हुन्छ,
अनि, गीत गाएर राता फूलहरूका, अग्लोजस्ता,
उफ्रिएको खुट्टाहरू पनि होउन्, गालाहरू
चम्केका
आमाको आत्महत्यालाई सामाजिकतासित जोडेर हेर्छन् कवि। आमाको आत्महत्या त्यसबेला परकीय चापको परिणति लाग्छ कविलाई। आमाको आत्महत्या बल्लभको परिवारमा घटित पारिवारिक दुर्मृत्यु भए तापनि कवि वैयक्तिक तहबाट अलि मास्तिर उठेर पारिवारिक दुर्मृत्युलाई समष्टीकृत तुल्याउँदै सम्पूर्ण नेपाली आमाहरूको प्रत्यक्ष-परोक्ष आत्महत्यालाई समेत मूर्त्याउन पुग्छन्।
कवि मानसमा आमाको आत्महत्या गाडेघाउ भएर बसेको छ। कवि घाउबाट मुक्ति चाहन्छन्, सक्तैनन्। उसको चेतनालाई आमाको दुर्मृत्युले सधैँ ठुङ्गी बस्छ। आत्महत्यासित प्रत्यक्ष-परोक्ष कारणहरू तथा तिनका प्रभावहरू खेलाइबस्छन् कवि। आमाको आत्महत्या फगत् बल्लभको आमाको आत्महत्या भए तापनि आमाको बँचाइ, आमा बाँचेको देश–काल–वातावरण, आमाको सङ्घर्ष-स्वाभिमान, समाजव्यवस्था, राजनीति, पितृसत्ता, घार्मिक आडम्बर, लैङ्गिक असमानता आदि पक्ष वा तरङ्गहरू केलाइबस्छन् कवि। यसरी आमाको आत्महत्या र तिनका सम्भाव्य कारणहरू केलाइबस्दा पितृसत्तात्मक देशमा नेपाली आमाहरू प्रत्यक्ष-परोक्ष आत्महत्या गर्न विवश बनेको तथा आफ्नो चेतना र सम्वेदनाले आमापीडालाई पक्रेर पनि केही गर्न नसकेको विकल्पहीनतालाई अभिव्यक्ति दिन्छन् कवि,
मेरो बाउ जेनेरेसनले मर्न बाध्य गरिएकी मेरी
आमा।
घरको एउटा कोठामा पस्दा कविलाई आमाको सम्झना आलो भएर आउँछ। मानिसहरू मेरो आमाले आफ्नै देशमा आत्महत्या गर्नुपऱ्यो भनेर व्यङ्ग्यमिश्रित टिप्पणी गरिरहेका हुन्छन्। अरूका आमाहरूले यो देशमा आत्महत्या गर्न नपरोस् भनेर कवि खुकुरी धुन्छन्, रगतमुक्त तुल्याउने कोसिस गर्छन्। आफूसँग पैतृक सम्पत्तिको रूपमा यही अभिशप्त खुकुरी मात्र रहेको र आफ्नो सबेभन्दा ठूलो कर्तव्य यो खुकुरीलाई अभिशाप्तमुक्त तुल्याउनु रहेको आत्मबोध गर्छन्। कविलाई के लाग्छ भने जबसम्म देशमा पितृसत्तात्मक र अमानवीय व्यवस्था कायम रहन्छ तबसम्म आमाको आत्महत्याको घटना दोहोरिरहनेछ, छोराहरूले खुकुरी धोइरहनुपर्नेछ। त्यसेले यो सबैको आमाले आत्महत्या गरेको देश हो। अकर्मण्य व्यवस्थाले एकमुठी बिरालोरूपी शोषकहरूको पक्षपोषण गर्छ, उनीहरू आमाको आत्महत्यामा राजनीति गरेर आफ्नो दुनो सोझ्याउँछन्। निमुखा–शोषितहरू देशबाट पलायन हुन बाध्य छन्।
विस्वासहरू खण्डित छन्, रगताम्मे छन्। कवि भन्छन्- तिमी र म विश्वासका त्यही भग्नावशेषहरू बोकेर अन्योलमा बसिरहयौँ। उसको अनुहार बलिदानीको झैं थियो। हामी निष्ठुर र सङ्कटमय समय भोगिरहेका थियौँ तर हामीलाई थाहा थिएन। चोकभरि वेदना गन्हाइरहेथ्यो, बलिदानको रगत बगिरहेथ्यो तर हामीले बलिदानी चिनेनौँ। अहिले डढेलो नसल्केको भए तापनि यो भोको छ। आमाको गलाबाट ओर्लिएका रगतका सर्पहरूले मलाई बेर्न थालेको छ, तिमी भने दरबारमा मौज गरिबस्यौँ। सुखद् भोलिको कामना गर्दै म त्यही सर्पसित खेलिरहेछु। आमाको लाससँग बसिरहुञ्जेल तिमीहरूलाई सन्तोष लाग्दोरहेछ, मलाई भने विषालु सर्पहरूसँग डर लाग्छ, कतै रगत कुल्चिन्छु कि भनेर डर लाग्छ।
वास्तवमा मलाई मेरो देशमा डर लाग्छ,
मलाई अनेकौं सर्पहरुको रातो र विषालु डर लाग्छ,
मलाई हिँड्न डर लाग्छ,
मलाई,ओर्लिन उक्लन डर लाग्छ,
मलाई, रगत कुल्चिन्छु कि भन्ने डर लाग्छ,
मलाई, मेरो देशमा डर लाग्छ
सबैलाई रातो रगत चाहिन्छ। रातो रगत नभइ कुनै शुभकार्य चल्दैन। कवि भन्छन् – रातो रगतले नै मलाई अक्षर लेख्न सिकाएका हुन्। त्यसैले अब उत्सव मनाउँदा हुन्छ। कान्ति आफ्नै चालढालमा आइरहेछ तर हामीले देखिरहेका छैनौ। मलाई लाग्छ, यो बग्दै गरेको रातो खोला मेरी आमा हो, यो मेरो आमाले आत्महत्या गरेको देश हो। मैले क्रान्तिको पूर्वाभास पाइसकेको छु। अब क्रान्तिको महान् उत्सव हुनेछ। सुतेका सबै स्वर र अनुहारहरू उठनेछन्।
चलमलाउने छन् बिउँझनलाई,
चलमलाउने छन् जिउनलाई
यी सबै सङ्घर्षहरुसित एउटा ठूलो ब्यङ्ग गर्दै
ती परका एक जमात भोज खाने मानिसहरुलाई –
देश छोडेर चराचुरुङ्गीहरु अज्ञात दिशातिर भाग्न थाल्छन्
बासस्थान छोडेर सबै आकारहरु बरालिन थाल्छन्,
जङ्गलका बतासहरु जस्तै रुखहरूमा हराउन थाल्छन्।
अथवा
आत्महत्या, कहिले फूलको कोपिलाजस्तो फूल भएर
फक्रिन चाहन्छ
आत्महत्या, कहिले विशाल गगनचुम्बी भवनहरु भएर
उभिन चाहन्छ
आत्महत्या, कहिले ठूलो पैरो भएर जान चाहन्छ
आत्महत्या, कहिले सडकभरि ओच्छिन चाहन्छ
आत्महत्या, कहिले ठूलो डढेलो भएर जान चाहन्छ,
आत्महत्या, क्यानभासमा रातो भएर पोतिन चाहन्छ,
आत्महत्या, महान् लहर भएर सागरमा बहकिन चाहन्छ
आत्महत्या, यहाँ जसले पनि जहिले पनि हुन चाहन्छ।
आत्महत्या, तिम्रो बुँइगलको सिलिङ्मा कहीँ
सिउरिएको छ,
लाग्ने हतियार भएर ब्युँझने छ |
गएर हेर, – कसैले खुकुरी लुकाएको त छैन,
[सायद तिम्रो आमाले लुकाएको होली,]
पल्लो कोठाबाट आवाज आउन्जेल नपर्खिनु
त्यसबेला – तिम्री आमा मरिसकेकी हुन्छे,
उसले आत्महत्या गरिसकेकी हुन्छे,
कवितामा आद्योपान्त राता-रगताम्मे बिम्ब, प्रतीक र मिथकहरूको खोलो बग्छ, जसबाट जीवनको आद्यस्वरूपलाई प्रकट गर्ने प्रयास भएको छ,
सेतो भैरवलाई रातो रगत
कालो भैरवलाई रातो रगत
सेतो कालीलाई रातो गरग
रातो कालीलाई रातो रगत
त्यो नीलो नदीलाई रातो रगत
जेउसलाई रातो रगत
मिनर्भालाई रातो रगत
डाइनोसिसलाई रातो रगत
कवि बल्लभ बिम्बले कविता लेख्छन्। उनको यस कवितामा पनि बाक्लो बिम्बघारी पाइन्छ। कवि स्वयम् चित्रभाषाको पक्षपाती भएको हुँदा यस कविताको शब्दमा मात्र होइन, पङ्क्तिमा मात्र होइन सिङ्गो पङ्क्तिपूञ्जनै बिम्बमा प्रस्तुत गर्ने कलात्मक उद्योग छ। आमाको आत्महत्या र त्यसबाट निसृत अनुभूतिको सम्पूर्णतालाई तत्क्षण बिम्बको सघन प्रयोगबाट अभिव्यक्ति दिने कलाले यो कविता निकै सूक्ष्म र अमूर्त बनेको छ। अनुभूतिको सम्पूर्णता र तात्क्षणिकतालाई जस्ताको तस्तै उतार्ने अभिप्रायले चित्र भाषाको तकनीकलाई यस कवितामा प्रयोग गरिएको छ,
जाऊ, नजन्म,
धन र ऐश्वर्य भए पनि त्यो पापी छ
त्यहाँ नपस्नू |
उत्तरीय महाद्वीपमा नजानू,
धेरै दिन बाँच्न सके तापनि त्यहाँ पाप छ
दामिनयान नपस्नू,
लुपाको पूर्वी महाद्वीप नजानू
भाले र पोथी पौडी खेलिरहेका हाँसका छन्
त्यहाँ पाप छ नपस्नू,
नाकमा दुखका गीतहरु सुन्नुपर्ने छ |
काला घरहरुका ठाउँ
पीडाहरुका ठाउँ
सेता घरहरुका ठाउँ
पृथ्वीका अँध्यारा प्वालहरुका ठाउँ
काला बाटोहरुको ठाउँ, नपस्नू,
आफुलाई सबै पर्खाल र बारहरुले छेकेर बाँधुन्
जाडो प्रशस्त हुने छ,
तातो पनि हुने छ, नपस्नू,
प्रेमहरुले लखेट्ने छन्, नपस्नू,
नपस्नू त्यस्ता पुलहरूमा जहाँ आत्महत्या गर्न बाहेक केही
गर्न सकिन्न ,
नपस्नू, ती ढोकाहरुमा बलिया साँग्लीहरुले बाँध्लान्
नपस्नू, रुखका महान् टोड्काहरुमा
नपस्नू, ती जाल लगाएका माकुराका हातहरुमा
नपस्नू, अक्टोपसले आहाल बसिरहेको कालो खोलामा
तिमीलाई निल्ने छन् राता घाउहरुले
जम्मै पानी रातो भएर रङ्गिउन्जेल,
तिम्रा रगतहरु बगिसकेका हुने छन्।
वास्तवमा ‘मेरी आमाले आत्महत्या गरेको देश’ कवि ईश्वर बल्लभको नितान्त व्यक्तिगत जीवनमा घटेको दुर्घटनामा आधारित छ। त्यसर्थ कविको व्यक्तिगत जीवनका पृष्ठभूमि नचिहाई यस कविताको आस्वादन–अध्ययन सम्भव छैन। कविले त्यस पारिवारिक दुर्मृत्युलाई आयामेली दृष्टिभङ्गीबाट पर्गेलेर सोही दृष्टिभङ्गीअनुकूल रूपायन दिएका छन्। अर्थात् आमाको त्यस आत्महत्यामा झ्वाम्म विचरण गर्दा देखिएका नानाथरिका विकिरणात्मक अनुभूतिहरूको तत्क्षण र चित्रात्मक अनुभूतिको सारसङ्क्षेप नै मेरी आमाले आत्महत्या गरेको देश हो। यसमा आमाको आत्महत्या, आत्महत्याको पछाडि अन्तर्निहित प्रत्यक्ष–परोक्ष कारणहरू तथा ती कारणहरूसित सम्बन्धित विभिन्न सामाजिक, नैतिक, राजनैतिक आदि पक्षहरूको इतिवृत्तात्मक संश्लेषण गरिएको छ। अत: यो कविता नेपाली साहित्यकै एउटा दुर्लभ साबिती कविता हो।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।