भालुले फुटाएको एउटा आँखा लिएर
रुपबहादुर रारामा घोडा डोर्याउँदैछ
भालुले चिथोरेको कुरुप अनुहार बोक्न
ऊ अस्वथामाझैँ अभिषप्त छ
रुपबहादुर
मलाई घोडा चढ्न आग्रह गर्छ
एउटा निरीह प्राणी माथि चढ्न
मलाई कताकता हीनताबोध हुन्छ
म घरी रुपबहादुरलाई हेर्छु
घरी उसको घोडालाई हेर्छु
दुवै उस्तै लाग्छ
बाध्यताले डोरिएका
घोडाको मुखमा
रुपबहादुरले लगाम लगाएको छ
रुपबहादुरको मुखमा
बाध्यताले लगाम लगाएको छ
पानी नपाएका खेतका गह्राहरूझैँ
उसका पैताला पटपटी फुटेका छन्
भालुले फुटाएको आँखा रारा तालझैँ गहिरो छ
जहाँ छलबलिएका छन्
अनेकौं दुःखका छालहरू
ऊ घोडा डोर्याउँदै मसामु आउँछ
फेरि दोस्रो पटक घोडामा चढ्न आग्रह गर्छ
मलाई उसको दुब्लो घोडा चढ्न दया लाग्छ
अहँ म उसको घोडा चढन सक्दिनँ!
उतिखेरै मयलले कटकटिएका हातले
अर्को लिखुरे घोडा डोर्याउँदै
अन्दाजी बाह्र वर्ष जतिको बालक
मेरो समीप आउँछ
आफ्नो घोडा चढ्न आग्रह गर्छ
लेख्दालेख्दै कापी सकिएर
कापी किन्ने पैसा कमाउन हिँडेजस्तो
अनि
अंग्रेजी शिक्षकको प्रश्नले डराएर
पढदा पढदैको कक्षा हापेर आएजस्तो
ऊ फेरि दोस्रो पटक आफ्नो घोडा चढन आग्रह गर्छ
म दोधारमा पर्छु
हामी तीन जनाबीच
फेरि चौथो पात्र आई पुग्छ
त्यस्तै चौध पन्ध्र वर्ष जतिको
जसको नाक मुन्तिर
सिंगानको सेतो टाटा चम्किएको छ
च्यात्तिएका कपडा लगाएको
उसले पनि उही आग्रह दोहोर्याउँछ
आग्रहको भुमरीमा परेर
म घोडा मालिकहरूलाई हेर्छु
तिनका घोडाहरूलाई हेर्छु
घोडाले समेत आग्रह गरेझैँ लाग्छ!
म अनिर्णयको बन्दी बनेर
गोव्रे सल्लाको फेदमुनि
चउरमा थपक्क बस्छु
उतिखेरै राराबाट हावाको चिसो सिरेटो
हल्का कुहिरो बोकेर आउँछ
र
हामीलाई छोपिदिन्छ
एक्कासि म निर्णय सुनाउँछु
म आज रारा जान्नँ
यतै बस्छु
उत्तिखेरै
एउटा होटेलवाला च्याप्प मेरो हात समाउँछ
म घोडाझैँ डोरिएर उसकै पछि लाग्छु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१० कार्तिक २०८२, सोमबार 










