आज लक्ष्मी पूजा-
हरियो गोबरले लिप्नु पर्ने हो आँगन
तर लिपेको छैन
उजाड उराठ भएका छन् आँगनको अनुहार ।
लिप्ने छोराछोरी छैनन् घरमा
छोराछोरी-
सपनाहरु खोज्दा-खोज्दै अलमली रहेको छ
पराईको बेनाम शहर-शहरमा
अचेल फुल्दैनन् मखमली र सयपत्री
आँगन डिल र करेसा बारीमा
फुलुन पनि कसरी ?
फुल फुलाउन बेर्ना सार्दै गोडमेल गर्ने हातहरु
अचेल-
हजार होईन
लाख को संख्यामा बसाइँ सरेका छन्
अरबको उजाड मरुभूमिलाई हराभरा बनाउन ।
झ्यालमा बालेको दियोमा तेल सकिदा
तेल थप्ने छैनन् साना भुराभुरी घरमा-
होस पनि कसरी-
बैंसलाई थारो बनाएर
तन्नेरी उमेर खर्चदै छ अरुको बिरानो मुलुकमा-
घर-घरका बिरासत थाम्ने
भोलिका भविष्यहरु
आज लक्ष्मी पूजा-
साँच्चै-
लक्ष्मीको नामै नसुनेका देशबाट
पूजा र पुकार हरुले
रगतपसिना सँग साटेर
पठाएको रेमिट्यान्सलाई लक्ष्मी भनेर पूजा गर्दैछन्
एउटि बुढी आमा!
अनि आर्को बुढा बा-
वृद्धावस्थामा एक्लै-एक्लै
वृद्धाआश्रम जस्तो हुँदै गएको एक लास घरमा ।
थाहा छैन !
लक्ष्मी माँ छन् कि छैनन्
लक्ष्मी माँ प्रसन्न भएर प्रशस्त धनको
वर्षा गर्छ्की गर्दैनन्
तर मलाई थाहा छ।
धन कमाउन घर छोडि निस्केका
छोराछोरीहरु-
कति आधा जिन्दगी बोकेर फर्केका छन्
कति रातो बाकस बनेर
सपनाहरूलाई बाकसभित्र उकुसमुकुस तुल्याए फर्केका छन्
कति दलालको फन्दामा परी
नर्क जस्तै दलदलमा डुबेर
घर फर्कने झिनो आशा बोकि
त्यो दिन पर्खी रहेका छन्
जुन दिनको घाम सँगै पुग्नेछन् –
आज लक्ष्मी पूजा-



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१३ कार्तिक २०८२, बिहीबार 







