निलो आकाश पूर्णिमाको त्यो रात । जुनको मधुर किरणको उज्यालोमा यो धर्ती मस्त हुँदै मौनताको सिरानी हालेर सुत्न खोज्दै गरेको त्यो बखत । पृथ्वीको एउटा सुन्दर देश नेपालको मध्यपुर्वी भेकमा पर्ने कलकल बग्ने पुन्यवती खोलाको सामिप्यमा अति रमणीय एउटा गाउँको एउटा घरको एउटी पाँच दशक जिन्दगीको वसन्त फटाएकी प्रिय आमा । ७औं सन्तान जन्माउन प्रशव वेदना खेपिरहेको बेला । जुनेली रात मौनता साँधिरहेको । ती आमामा परेको प्रशव पीडा आफ्नो भागमा लिन नसके पनि । आमाको पीडामा सहानुभूति जनाएको आभाश झल्किन्थ्यो । सुडेनी आमा गाउँमै नहुँदा । यातायातको व्यवस्था गाउँमै नहुनुको कारण थुप्रै पीडा खेपेर । बिहानीपख आमाले एउटी प्यारी छोरीको जन्म दिए ! मिरमिरेको साथमा पूर्व क्षितिजबाट अरुणको लालिमा प्रकाशको रुप धारण गरी पोखियो धर्तीमा । वैदिक विधिको अनुशरण गर्दै सुनपानी छर्केर सुतक चोख्यायो । ढाइ केजी जत्तिको स्यानी काली-काली हिस्सी परेकी छोरीको नामकङ्न गरियो गुरुले । पात्रो पल्टाएर राखेको नामलाई सुरक्षित राखेर । न्वारानमा राखेको नाम बाहेक काली बाबाले दिएको नाम पाएँ ।

गाउँ नजिकैको सामुदायिक पाठशालाबाट प्रारम्भ हुन्छ कालीको औपचारिक शिक्षा । घरको आँगनदेखि पाठशालाको प्राङ्गणसम्मको यात्रा । सानो मान्छेको सानो टाउको भित्र रहेको सानो मस्तिष्कमा शिक्षकले दिएको प्रारम्भिक ज्ञान ग्रहण गर्नु बनेको छ दैनिकी । हप्ते छुट्टीमा बालसखीसँगै गाउँ नजिकैको जङ्गलमा पाठा र बाच्छीसँग रमाउनु अनि बनको चरीसँगै गाउने कोसिस गर्नु बनेको छ उनको दैनिकी । वर्षातको झरीले पखालेर सुकिलो बनाएको बनपाखा । बनपाखामा रम्दै गरेको नानाथरीको चरा-चुरुङ्गी । फुल्न खोज्दै गरेको रंगिबिरंगी बनफूलहरु । बनको काखमा माली गाईसँग रम्दै जिन्दगीको दूरी नाप्दै छिन् काली ।

पूर्णिमाको रात सिङ्गो आकाशमा चन्द्रमाको एकल राज । टाढाको ताराहरु चन्द्रमाको उज्यालोमा लजाएर लजालु घुम्टोमा लुकिरहेको छ । यस्तै शुभ समयको अवसरमा १४ वर्ष अगाडि जन्मेकी काली । काली १४ औं वसन्त पूरा गरेर भोलिबाट १५औं वसन्तमा टेकिने छ । बितेको जिन्दगीको वसन्तहरु अधिकांश खुसीयालीमा रम्दै , पीडा र दु:खदेखि निक्कै टाढा रहेर जीवन बाँचेकी ।

आज जन्मदिन कालीको । बिहानै आमा र बासँग घरदेखि नजिकै रहेको देवीको मन्दिरमा गएर गर्छन् पूजा । सम्भवत देवीमा खुसी भएर लाली लाई सुखशान्तिको लागि एक डालो जत्ति आशीर्वाद दियो होला । जुनडालो भरी फूल अक्षता लिएर गएको थियो । २०५० साल उस्तै वर्ष । पहिले-पहिलेको जस्तै । तर कालीको लागि त्यो वर्ष पीडाको वर्ष । आफूले आफैंलाई भन्दा उनलाई बेंसी माया गर्ने उनको प्रीय बाबालाई मृत्युले अंगालेको वर्ष ।

जिन्दगीभरि कहिल्यै निको नहुने मुटुको पनि मुटुमा नदेखिने विशाल चोट बोक्न विवस भएकी थिएन् काली । पीडा दाइ थियो त्यो बिहानी । सदाझैं बिहानको नित्यकर्म सक्काएर स्कुल जाने तरखरमा थियो काली । एक्कासी बाबाको छाती दुखेको चित्कारले घरमा रहेका सबैको ध्यान भङ्ग गरायो । दाज्युहरु हतार हतार बाबाको कोठामा पुगे । बाबा के भो ? के भो भन्दा भन्दै ।

बाबाको हातको इसाराले छाती देखाएकाले सिधैं अनुमान लाउन सकिन्थ्यो । हृदयघात भएको हो ।

सुविधा सम्पन्न अस्पताल धेरै टाढा नभए पनि यातायातको असुविधाको कारण डाक्टरकोमा पुर्‍याउन सकेन बेलैमा । जसको कारणले सदाको लागि ढले एउटा जिन्दगी ।

बिदा लिए बाबाले सबैबाट सदाको लागि त्यो घरबाट । आमा रोइन् । दिदीहरु रोए । हाम्रो समाजको अन्धविश्वासको उपज हो छोरा मान्छेको मन सार्‍हो हुन्छ भनेर भनेकाले होला कालीको दुई दाइ बाहिरी रुपले देख्ने गरी नरोए पनि मनमनै धेरै रोए । काली पनि खुब रोए, बाबा-बाबा भन्दै बिलौन गरेर थुप्रै रोए । जन्मदै ल्याएको मृत्युले अरुलाई कति दुखाए त्यो यकिन भन्न नसके पनि त्यो घरको त्यो विशिष्ठ व्यक्तिको मृत्युले लाली र लालीको आमाको भने मन नै च्यात्ने गरी कारुणिक तरिकाले दुखाए । मृत्यु सत्य हो जिन्दगीको । यसलाई स्वीकार्नु नै पर्छ ।

स्वीकारे मन भारी बनाएर सबैले । विधिवत् अन्त्यष्टी गरे परम्परालाई स्वीकार्दै । चित्तामा पल्टेको पार्थिक शरीर जले केही खरानी भएर धर्तीमा मिले केही धुँवा बनेर आकाशमा बिलाए ।

सोकाकुल परिवारलाई थुप्रैले दिए समवेदना । टाढाको मान्छेले नजिकको मान्छेले !

बाबाको मृत्युपछि लालीको आमाले आफूले आफैलाई कहिले गरेन माया । पहिला धूम्रपान मध्यपानदेखि कोशौँ टाढा रहेकी उनी पतिको मृत्युसँगै शरीरलाई नमिल्ने नचाहिने कुलतसँग आफूले आफैलाई समर्पित गरेको थियो । आमाको परिवर्तित व्यवहारले कालीको जीवनमा निक्कै नराम्रो गरेको थियो असार । दाइहरु आ-आफ्नै जिन्दगीमा भुलिसकेका । दिदीहरु सबै आ-आफ्नो घरमा पुगेर घरजम गरेर व्यतित गर्दै थियो जिन्दगी । बग्रेल्ती बिग्रेको घरको परिवेशले कालीको स्कुलले यात्रा पूर्ण रूपमा भयो बन्द । अब कालीको जिम्मेवार आमाको हेरचाह गर्ने । आमाको भागमा परेको जिउनी जग्गा भोकचलन गरेर कृषि पेशालाई अंगाल्ने ।

खुल्न नसकेको बादलले छोपेको बिहानीपखको आकाशजस्तै हल्का अन्तर्मुखी लजालु स्वभावकी काली । उमेरले जवानीको खास्टो ओढाएर मनमा यौवनको कोपिला फक्रिए पनि परिबन्धको सिर्केनीमा कसेको हुनाले मनमा उर्लेको उधुम रहर र आकांक्षाको छालहरुलाई भावनामा निर्माणाधीन विवसताको तटबन्धमा थुनाउन हुँदै थियो राजी । बाबाको मृत्युसँगै फेरिएको दैनिकीले कालीले आफ्नो जिन्दगीको धार परिवर्तन मात्रै गरेको थिएन आमाको खुसीको निम्ति आफ्नो खुसीको बध गर्नसम्म जानिसकेको थियो ।

स्तब्ध थियो पुरै देश । लामो इतिहास बोकेको शाह वंशी राजा विरेन्द्रको पुरै परिवारको आफ्नै निवासमा चिहान भएको थियो । नेपालीको त्यो सोकाकुल कालो वर्ष यो कथाको अप्रीय पात्र कालीको निम्ति जिन्दगीको र्को अध्याय बनेर आइपुग्छ ।

पारिवारिक सम्बन्धदेखि केही टाढाको कुटुम्बसँग विवाह गर्ने कुरा छिन्छ । आमाको चाहनालाई कदर गर्दै विवाहको निम्ति मौन स्वीकृत दिन्छे काली ।

साझको समय आइपुग्यो जन्ती । रितअनुसार जन्ती पर्साइयो । विधिको अनुसशरण गर्दै पूरा गरे सारा काम । भोलिपल्ट अरुणोदय सँगै बिदा गरे कालीलाई । दुलही लिएर गए दुलाह पक्ष खुसी हुँदै लागे बाटो । दुलहीपक्ष खुसी र दुखको मजधारमा परे ।

नयाँ ठाउँको नयाँ घरमा नयाँ सम्बन्धको साथ जिन्दगीको नयाँ अध्यय सुरु भयो कालीको । ठिकठाकै परिवार । आफूले नभएर आमा र दाइले छानेको जीवन साथी बाहिरी रुपले हेर्दा राम्रै । सिन्धुको टाढा बस्तीको भए पनि बसाइ काठमाडौं । राम्रै प्राइभेट कम्पनीको नोकरी जीवन साथीको । झट्ट हेर्दा निक्कै राम्रो देखिन्थ्यो कालीको नयाँ परिवार । काली खुसी नै थिई । खुसीको साथमा कोर्दै गरेको सुदुर जिन्दगीको कोरा कल्पनामा निर्माणाधीन प्रिय जिन्दगीको कथामा डुबुल्की मार्दै गदगद नै थिइन्।

अपसोच कालीको खुसी धेरै टिक्न सकेन । उनको जीवन साथीको अन्तै कतै सम्बन्ध रहेको बुझ्नमा आयो । कुराहरू बुझ्दै जाँदा कालीसँग गाँसेको सम्बन्ध स्वयं दुलहाको भन्दा पनि उनको परिवारको खुसीको कारणले भएको कुरा बुझ्न धेरै कुर्नु परेन । फेरि एक पटक निराशाको बादल छायो कालीको जिन्दगीमा । उनले टिक्न चाहेर पनि नियतिले धेरै दिन टिक्न दिएन त्यो टाढाको नयाँ घरमा । विधातालाई साक्षी राखेर एउटा सानो बहानाको कुम्लो बोकेर फर्के फेरि आफ्नै आफू जन्मेको प्रिय गाउँमा । कानुनको पाना पल्टाएर पाउने अधिकारको पछि लागिनन् काली । भौतिक स्रोत साधनको हकदाबी गर्दै गरिनन् । उनीले सम्बन्ध निर्जीव भौतिक स्रोतसाधनसँग नभएर सजीव मन भएको मान्छेसँग गाँसेको थियो । तर जुन व्यक्तिले उसको जीवनलाई जरुरत नसम्झेकोले उहीँ आफ्नै आमाको काखमा फर्कनुको अरु विकल्प थिएन कालीलाई ।

थोरै खुसी धेरै पीडाको साथ लागेर बढाउँदै गरेको जीवन यात्रामा निरन्तर लागि रहे काली बग्दै गरेको नदीजस्तै बनेर । समयसँगै बदलेको परिस्थिति । परिस्थिति सँगै राजनीतिले परिवर्तन गरेको समाज । गाउँदेखि सहरमा बसाइँ सर्ने ओइरो यो लुकाउन नसक्ने यथार्थ हो । त्यहीँ यथार्थको हुलमा मिस्सिएर कालीको एउटी दिदिको बसाइ राजधानी सहर काठमाडौं थियो । घरमा आमासँग मात्रै बसेर लामो जिन्दगीको कथा पूरा नहोला भनेर दिदी-भेना सँगै काठमाडौं गएर केही गर्ने बनायो योजना । सुनायो दाइलाई आमालाई आफ्नो मनको मनको कुरा । दाइ र आमाको स्वीकृति लिएर पसे लाली सपनाको सहर काठमाडौं ।

केही समय दिदी र भेना सँगै बसेर गुजारा चलाउन गरे सानो तिनो काम । साइबर सम्मको कर्मले सहरमा हातमुख जोर्न र बस्ने कोठाको भाडा तिर्न सकेको थियो ।

जेनतेन चलेकै चलेकै थियो जिन्दगी । महिनामा एक दुई पटक आमालाई भेट्न गाउँ जान्थी काली । आमाको साथमा पोख्थे पीडा मनको । आमाको मक्किँदै गरेको जिन्दगी अनि आफ्नो बड्दै गरेको जिन्दगीको तुलनामा अदृश्य कोरा कल्पनामा डुबेर कैयौं रातहरुलाई बिना निन्द्राले कटाउँथी ।
देशमा भएको राजनैतिक उथलपुथलले निम्ताएको असरल्ल अर्थतन्त्र । दिन प्रतिदिन बढ्दै गरेको बेरोजगार नामको रोग । प्रविधिले मार्दै गरेको फड्को । समयसँगै मौलाउँदै गरेको महत्त्वकांक्षाको बाछिटाहरु । आदि आदि कारणवश वैदेशिक रोजगारको निम्ति अबैध बाटो अपनाएर फाट्टफुट्ट नेपाली दिदीबहिनीहरु मध्यपूर्वी एसियाली मुलुकहरूमा घरायसी कामदारका लागि जान थालेका थिए ।

काली दिदी र भेनाको आपसी सल्लाहबमोजिम वैदेशिक रोजगारको निम्ति बिदेश जाने निधो गरी । आर्थिक कारोबार सँग गाँसेको दिदी नाताको एउटी अधबैंसे महिलाको साथ लागेर दिल्लीको बाटो हुँदै मध्यपूर्वी एसियाली एउटा कट्टर ईस्लाम देशमा गरी जाने निधो । वैधानिक रुपले घरेलु कामको लागि खाडी मुलुकमा जान प्रतिबन्धजस्तै थियो । त्यसैले हवाइमार्ग छलेर स्थलगत मार्ग चुनेर जाने भई ।

२०६० को माघ महिना । सुदुर खुसीको खातिर काली क्षणिक सम्बन्ध बाँधेर आएकी एउटी दिदीको साथ लागेर रात्रि बस चढेर लागिन् दिल्ली । सुनसान रातको मौनता चिर्दै रात्रिबस थानकोट कटेर मुग्लिन हुँदै थुप्रै घण्टाको यात्रापछि पुग्यो दिल्ली । दिल्लीको केही दिनको बसाइपछि उडिन् पुग्नु पर्ने मुलुकमा । पुगे पुग्नु पर्नेमा ठाउँमा । ऊ पुग्नुअघि नै उनीलाई लिन शीरदेखि पाउसम्म कालो बुर्खा ओडेकी इस्लाम महिला पर्खिराकी थिए । ती महिलाले लिएर गई ।

सुरु भयो कालीको पुनः फेरि जिन्दगीको नौलो अध्यय । परदेश नयाँ ठाउँ , नयाँ परिवेश ,नयाँ वातावरणसँग गरिन् सम्झौता । कोर्न थालिन् कथा जिन्दगीको नयनरुपी आकाशबाट अविरल वर्षेका आँसुको मसीले ।

कामहरु सहज थिएन । बोल्ने भाषा बिलकुल फरक । थुप्रै असहज अफ्ट्यारो पलहरुसँग लड्दै-भिड्दै जिन्दगी नामको नाउमा तैरिरहे तैरिरहे । १२-१५ घण्टासम्म खट्नु पर्थ्यो । खट्दा खट्दै गलेको शरीर थाकेर थकाइ समेत थाक्थ्यो । विचित्र लाग्दथ्यो कालीलाई के जिन्दगी भनेको यही हो ?
गर्थे प्रश्न आफैंले आफैंलाई ।

नियतिको खेल पनि गज्जबकै हुँदोरहेछ । जो सोझो उसैको मुखमा घोचो भने जस्तै । त्यो ठाउँमा पुगेर काम गरेको केही महिना हुँदै थियो । अचानक कालीको स्वस्थमा केही खराबी आयो । सुक्खा खोकी बेला-बेलामा आउने ज्वरोले बिस्तारै बिस्तारै बिस्तारामा पुर्‍याए कालीलाई । अस्पतालमा लगे मालिकले । चेकजाँच गरे राम्रैसँग । रिपोर्ट आयो बल्ल थाहा भयो कालीलाई क्षयरोग लागेको कुरा । क्षयरोग त्यस्तो प्राणघातक रोग त होइन तर ठिक हुन लामो समयसम्म नियमित औषधि सेवन गर्नु पर्ने भएकोले साथै यस्तो खालको बिरामीलाई त्यो देशको नियमले आफ्नै देश फर्कनु पर्ने भनेपछि काली स्वदेश फर्कनुको विकल्प भएन ।

अन्ततः फर्किन् आफ्नै जन्मभूमि । आमा र आफ्नो टुटेको खुसीमा आर्थिक उन्नतिको बहार ल्याएर उमङ्गको रोधी राख्ने सपना अधुरो छोडेर शरीरभरि रोग बोकेर आउनु पर्दा कती दुखी थिए उनी उनीलाई नै थाहा होला ।

अधिकार जमाएर सिधै जाने दैलो करिब-करिब थिएन नै । मानवीय सभ्यताले सिँचेर मानवताको वकालत गर्दै सम्बन्धको रंगले पोतेको दैलोहरु भने थुप्रै थियो उनको लागि । सम्भवत त्यसैले काली सिधै दिदीकोमा गएँ । पोखे मनको व्यथा । अनि लागे उपचारको लागि ठिमीमा स्थित राष्ट्रिय क्षयरोग केन्द्रमा । डाक्टरको सल्लाह बमोजिम गरे उपचार । ६ महिनासम्म नियमित लिएको औषधिले ठिक भयो काली । कालीको जिन्दगीमा क्षयरोगले हारे काली जिते । खुसी भए सबै, विशेष खुसी आमा भए कालीको । रोग निको पार्न डाक्टर छन् । रोग निको पार्ने औषधि बने । तर मान्छेको भाग्य न कसैले बदल्न सक्छ न स्वयं आफैंले ।

काली स्वदेश फर्केको १ वर्ष भैसकेको थियो । पुनः फेरि वैदेशिक रोजगारको लागि जाने योजना बुन्दै गर्दा फेला पर्‍यो एकजना भरपर्दो एजेन्ड । एजेन्ड चिनेजानेकै भएकोले निर्धक्क भएर दोस्रो पटक परदेश जाने भइन् । यो पटक भने वैधानिक बाटो अर्थात् नेपाल सरकारको श्रम स्वीकृत लिएर मध्यपूर्वी एसियाको खाडीमा पर्ने राम्रै इस्लाम देशमा पुगे काली । यो पालाको काम पहिलाको हिसाबमा राम्रो पर्‍यो । समग्रमा पहिलेको भन्दा राम्रो थियो ।

समय चलिरहेको हुन्छ आफ्नै गतिमा निरन्तर । निरन्तर बगेको समयसँग पौडन जान्नेहरु जिन्दगीको गहिराइमा पुगेर जिन्दगीको मजा लुटिरहेको छन् । पौडन नजान्नेहरु किनारामा नै डङ्गङ्ग ढलेर जिउँदो लास बनेर अरुको प्रगतिमा आरिस गर्दै मृत्यु कुर्न विवश हुन्छन् । सम्भवत काली खुसी छिन् । बन्नै लागेको घरबार बन्न नपाउँदै भत्किनु । केही गर्छु भनेर परदेश पुगेर केही गर्न नपाउँदै फर्कनुको घाउ । बिस्तारै बग्रेल्ती बिग्रेको जिन्दगीको बग्ररेखा सरल रेखामा परिमार्जित हुँदै गर्दा होला अभिनय गरेर होइन भित्रैबाट भएको थियो काली खुसी । कुनै सालको नयाँ वर्ष धुमधामले मनाउँदै थियो । प्रवासी नेपालीहरुले परदेशमा । नेपालबाट चर्चित कलाकारको आगमनले त्यो कार्यक्रममा भएको थियो सुनमा सुगन्ध । सयौंको भिडमा हराउँदै थिई काली । साथीहरुसँग आएको त्यो कार्यक्रमको लुड्दै थियो मजा । कार्यक्रमको अन्ततिर एक जोडी आफूलाई नै हेरिरहेको नजरमा ठोक्किन पुग्यो कालीको नजर । दुई जोडी नजर केही बेर हेराहेर भयो । काली लाजले भुतुक्कै भएर रातोपिरो हुन पुग्यो ।

परदेशमा नेपाली-नेपाली बोल्न कुनै रगतको साइनो चाहिँदैन । राष्ट्रिय सम्बन्ध नै काफी हुन्छ । राष्ट्रिय सम्बन्धको फाइदा लिँदै ती अन्जान नजर कालीको छेउमै आएर बोल्न थाले ।

‘तपाईंको नाम ?’

काली लजाउँदै, मेरो नाम काली हो !

अनि तपाईंको नाम ?

‘मेरो नाम किरण हो !’

किरण ले सोध्यो, ‘नेपाल कुन ठाउँदेखि ?’

काली लजाउँदै बोलिन्, ‘घर भएको ठाउँदेखि हेहे…!’

‘अनि तपाईं नि ?’ किरण बोले कपि पेस्ट हेहे…..!

कार्यक्रम सकियो सबै लागे आ-आफ्नै वासस्थानतर्फ । एकै छिनको भेटलाई राम्रो मित्रतामा बदलेर । एक अर्काको नम्बर आदनप्रदान गरे । बोल्दै गर्ने भाका राखेर किरण र काली पनि छुटे ।

काली खुल्दै थियो झरीपछि खुलेको आकाशजस्तै गरी । पट्यारलाग्दो मरुभूमि बिचमा कृत्रिम बगैंचामा फुल्दै गरेको फूलजस्तै फुल्ने कोसिस गर्दै थिइन् उनी । हिजोको पीडा र व्यथाको ट्युमरहरुलाई वर्तमानमा आयोजित खुसीयालीको यज्ञहोममा जलाएर भविष्यमा सिमित अदृश्य कोरा खुसीयालीमा गुन्गुनाउँदै छोट्याउँदै छ यात्रा जिन्दगीको ।

नौलो अनुभूति खेप्दै किरण सँगको नयाँ मित्रताले काली हराउँदै छु आफूभित्रै । उता किरण पनि कालीसँगको मित्रताले दङ्ग छन् ।

शुक्रबार अरबी मुलुकहरुमा हप्ते छुट्टीको दिन । औपचारिक रुपमा भेट्दै छन् आज काली र किरण । दोस्रो भेट हो । फोनमा वार्तालाप धेरै पटक भैसकेको थियो । एउटा ठाउँमा भयो भेट । खुलेर गर्‍यो कुरा । मनका कुरा भेटेर प्रत्यक्ष साटासाट गरे । दिन ढले सँगै पुनः भेट्ने वाचा गरेर छुटे । फोनमा बोल्ने क्रम निरन्तर चल्दै थियो । एक दिन किरण ले सिधै कालीलाई प्रेम प्रस्ताव राखे ! एक्कासि कल्पना भन्दा टाढाको किरणको कुराले कालीलाई झस्कायो । अतीत वर्तमानको अतिथि बनेर मौनता छाएको सुस्त मनको तरेलीमा तुफानजस्तै छाल बनेर उर्लिरह्यो । किरणको मीठो कुराको गहिराइमा बिस्तारै बिस्तारै डुब्दै गई काली । हरेक छुट्टीको फाइदा लुट्दै सुन्दर क्रीक पार्क ,जाबेलपार्कदेखि सफा पार्कको थुप्रै रुखको छहारीमा बसी कोर्न तल्लिन भयो सुदुर भविष्यको सुन्दर सपनाहरु । विशाल शान्त सागरको किनारमा बसेको अनिगिन्ती मीठो पलहरुलाई मनको आर्क्याबभरि सजाएर सुरक्षा गरिरहे । दिन दुईगुणा रात चौगुणा मौलाउँदै गए मायाको मुनाहरु ।

निरन्तर कुदिरहेको समयसँगै कुदिरहे काली र किरण आ-आफ्नो कर्मको साथ झाङ्गिदै गएको प्रेमलाई गोडमेल गर्दै । काली र किरण भेटेको दिन महिना हुँदै वर्ष बितिसक्यो । एक बिना र्को अपुरो अधुरो हुने भन्दै खाए थुप्रै कसम । कालीले घर फर्कने कुराको प्रस्तावहरु धेरै पटक राखी किरणसँग । नयाँ जिन्दगीको प्रारम्भ आफ्नै ठाउँमा गएर इष्ट-मित्र अनि समाजलाई साक्षी राखेर घरजम गरिखाने कुराको बारेमा । तर किरण ले धेरै पटकको कालीको प्रस्तावलाई थुप्रै बहाना देखाउँदै टारिरहे । कताकता कालीको मनमा शंका नामको अघोषित संस्थाले डेरा जमाउन थाल्दै थियो । किरणको समयसँगै बदल्दै गरेको व्यवहारले । हुन पनि दुईजना बिचको सम्बन्ध बारेको कुरा थाहा पाउने सिवाय काली र किरण बाहेक अरु कोही थिएनन् । एकले अर्को प्रति गरेको अदृश्य विश्वास बाहेक अरु केही ठोस प्रमाण थिएन । दुई जना बिचको सम्बन्धलाई कायम राख्ने । धेरै पटक टुटेको मन किरण मार्फत पनि टुट्लाकी भनेर मान्दै थियो डर ।

चिसो मौसम आकाशमा धुम्म बादल छाएको मानौं भर्खरै मुसुलधारे पानी पर्लाजस्तो । हुन पनि खाडीमुलुकमा मनसुन हुँदैन । पानी पर्ने भनेको छिटफुट जाडो महिनामा मात्रै हो । मौसमजस्तै कालीको मनको आकाशमा पनि बादल छाएको छ । केही दिनदेखि किरणको फोन नलागेको कारणले । किरणको फोनको प्रतीक्षा गर्दा गर्दै थुप्रै दिन बितिसक्दा पनि न फोन आउँछ न फोन जान्छ । खोजी गरौँ कसरी कहाँ गएर गरौँ । विश्वासको तराजुमा जोखेको सम्बन्धमा तिन पुस्ते जन्म कुण्डलीको जरुरी नभएको ठानेर । दुबैको सहमतिमा प्रेमको प्रस्ताव पारित गरेका थिए मन मन्दिरको देवीथानलाई साक्षी राखेर । तर अभागी काली टुटेर जोडिन खोज्दै गर्दा पुनः टुट्न विवश हुँदै थिई ।

गोरेटोमा भेटेको थियो दोबाटोमा पुगेर बिछोडियो । नाम किरण भनेको थियो । नेपालको ठेगाना घर भएको ठाउँमा भनेर हाँसेर टारेको थियो ।
दिन हप्ता हुँदै महिना बिते तर किरणको न फोन आयो न म्यासेज आए । टुटिसकेको मन फेरि फेरि टुट्नु कुन ठूलो कुरा भयो र ! समाले आफैंले आफैंलाई । किन किन त्यो ठाउँ जुन ठाउँमा किरणको झुठो आश्वासनको प्रतिध्वनिहरु गुन्जिरकोले होला । पटक्कै बस्न मन लागेन । फलश्वरुप आफ्नै जन्मभूमि फर्कने निधो गरियो । फर्के चाजोपाँजो मिलाएर । यात्रामा संयोगले भेटेर गाँसेको मित्रता हुँदै प्रेमको बन्धनमा बाँधेको सम्बन्धलाई प्रवासको प्रवासी चिहानमा दफन गर्दै ।

काली स्वदेश फर्केर आमासँगै बस्न थाल्छिन् । उमेरले डाँडापारि पुगेको घामजस्तै आमाको सेवामा तल्लीन हुन थालिन् । हाम्रो समाज एकले अरुको कुरा काट्न कति माहिर हुन्छ भनिरहन जरुरत नपर्ला । काली माइती घरमा बसेको नजिकैको आफ्नाले अफ्ट्यारो महसुस नगरे तापनि आफैंलाई असजिलो लागेर फेरि काठमाडौंमा आएर बस्न थाल्छे । सानोतिनो काम गर्दै मौका मिल्ने बित्तिकै आमालाई भेट्न पुग्छे गाउँ । यसरी नै जिन्दगी चल्दै गर्दा थुप्रै क्यालेन्डरको पाना फाटिसकेको थियो ! जीवनको आरोह-अवरोहमा नगरे समस्यारुपि पहाडहरुको पर्व । नगरे अनायसै संयोगबस ठोक्किन आएको सम्बन्धमा बिछोडको पीडाले सताएको मुस्किल समयको पर्व । खरो-दरो लडिरहे काली जीवनसँग । लडिरहे अखडामा लड्दैं गरेको कुस्तिबाज जस्तै गरी ।

काली आफ्नाहरुको छत्रछायाँमा रहे पनि कताकता आफैंले आफैंलाई एक्लो एक्लो पाए ।

अनिश्चित भविष्यको लागि सुनिश्चित सुरक्षित जिन्दगीको खातिर फेरि परदेश लाग्ने गर्छे निधो । न भन्दै सबैकुरा मिलाएर पुनः एक पटकको लागि जान्छे परदेश ।

आज काली तेस्रोपटकको वैदेशिक रोजगारको शिलशिलामा टाढा छन् आफ्नाहरुदेखि । हजारौं माइल टाढाको दुनियाँमा मृत्यु कुर्ने बहाना स्वरुप दैनिकीसँग ठोक्किएर आएका कामहरुसँग लुकामारी खेल्दैछिन् । टाढाको देशमा आएका थुप्रै वर्ष बितिसकेको छ । झण्डै-झण्डै तीन दशक पार गरेको जिन्दगी बोकेर जिउँदै छिन् काली । परार साल अर्थात ०७७ कार्तिक महिना कालीको लागि बडो दुख्ने साल बनेको छ । बाबाको मृत्यु भएको २७ वर्षपछि कालीकी आमाले सदाको लागि सबैलाई छोडेर देवलोकमा जानुभएको छ । कोरोनाको कारण आमाको अन्त्यष्टिमा स्वदेश फर्कन सकिनन् । आमाको मृत्युमा पार्थिक शरीरको छेउमा बसी धित मरुन्जेल रुन नपाएकी काली साँच्चै अभागी काली बनेकी छिन् !

जिन्दगीमा थुप्रै पटक थुप्रै-थुप्रै प्रिय वस्तुहरु गुमाउँदै/ गुमाउँदै रुदा/रुँदै हाँस्न सिकेकी काली आफ्नाहरुदेखि धेरै टाढा बाँच्नको लागि बाँचिरहेकी छिन् । थाहा छैन धेरै भोलिहरुले जिन्दगीलाई कहाँ पुर्‍याएर विसर्जन गर्ने हो !