
खै के दशैं, के तिहार !
के चाड, के पर्व !
रहरलाई बन्धकी राखेर सफल सपनाहरू खोज्न
घर छोडी निस्केको परदेशीको
उस्तै छ, सबै दिनहरू
उस्तै छ, हरेक रातहरू
डिउटी जाऊ
कोठामा आऊ, खाना पकाऊ अनि खाऊ
अनि फेरि काममा जाऊ
महिना, वर्ष बितेको पत्तो हुँदैन
हरेक दिन हतारमा बिउँझनु पर्ने बिहान
चर्को स्वरमा बज्ने सिरानीको आलार्म
मज्जा पुग्ने गरी सुत्न नपाएको अनिदो रात
यहाँ दशैं, तिहार, मेला, महोत्सव
मीठो याद बनेर आउँछ
मीठो सपनाहरू बनेर झक्झकाउँछ
एक्लै एक्लै निर्जन उराठ सिमापारिको
व्यस्त उदास उदास नवरात्रिका साँझहरू
सूर्य अस्ताएर तारा नखसेको समुद्रसँग जोडेको आकाश
मन भारी भएको छ
हिमाल जत्तिकै ठूलो सम्झनाको थुप्रोले थिचेर
आफ्नाहरूको भाइबर र म्यासेजरमा आएको
तारन्तारको खबरले
पक्षीको प्वाँख पैंचो लिएर
भुरुरुरु…… उडेर स्वदेश पुग्ने मन हुन्छ
राष्ट्रिय बाध्यता नामको
वैदेशिक रोजगार निर्जीव प्राणीलाई दोषी बनाउँदै
मरुभूमिमा रगत पसिनाले लेख्दै गरेको
हृदय विदारक अपुष्ट गरिवीको कथालाई थाँति राख्दै
कल्पनासँग
उधारो उल्लास सापटी लिएर
आँशु नदेखाएर रुने गरेको हुन्छु
पर्खिरहनेहरूको पर्खाइ बनेको छु,
धेरै टाढा परिबन्धको पिंजडामा फँसेर मन मारेर बाँचेको छु
बिल्कुल आत्मियताको खडेरी परेको
प्लास्टिकको पुत्लाजस्तै मन भएका मान्छेको खटनमा
सीमित खुसीमा
असीमित सुदूर सपनाहरूमा बाँच्दैछु
हाम्रो क्यालेन्डर नचल्ने भएर
उनीहरूको क्यालेन्डरमा नअटाएको
हाम्रो दशैं, तिहार, उमंगमयी शारदीय हर्सोल्लाष
केही आउँदैन खुशी बोकेर
उनीहरूको करेसा बारीमा
उमेर पुगेर सयपत्री, मखमली फुल्दैन
उनीहरूको बस्ती र गाउँ-गाउँमा
मठ-मन्दिर, देवी-देउताको बास हुन्न
आफ्नै प्रकारको संस्कार छन्
उनीहरूको संस्कार संस्कृतिमा
हाम्रो आस्था बोकेको कुनै पर्व पर्दैनन्
बिरामी परेको छ, उत्साह
थला परेको छ रहर
पोहोर साल आफ्नाहरूसँग राखेको भाका भएको छ अधुरो
यसपालि पनि म पुग्ने छैन
गाउँ माथिको दुर्गा भवानीको मन्दिरमा
यसपटक पनि पोहोर जस्तै
आमाले भिडियो कलमार्फत
मोबाइल स्क्रिनमा लगाएको टीकाले बुझाउने छु चित्त
फाटेको भाग्यमा फटाहा शासकको
दुस्साहसपूर्णको वैदेशिक श्रम सम्झौता रहिन्जेल
एक-दुई होइन लाखौंलाख युवायुवतीको
दशैं अनि तिहार
आपत्तिजनक रूपमा अपहरणना परेको छ
मन टुटेको छ
आँशु रित्तेको छ
पोलिथिनको झोलामा पोको पारेको
खाना खाएर
यसपटकको दशैं-तिहार पनि सनैंयाको रमल्लामा
आफ्नै रगत पसिना मदिरा सम्झेर पिउँदै
मातेर दशैं मनाउने छु
नाचेर तिहार मनाउने छु ।
सुशील लामा
पाँचखाल, काभ्रेपलान्चोक
हालः लिमासोल, साइप्रस



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

