उनी भन्दैछन्
नदेखिने र नमेटिने घाउ बिर्सेर
अझैँ युद्ध बाँकी छन् रे !
नयाँ नेपाल बनाउन
नेपाल आमाको मुहार फेर्न
गरिबीको खाल्डोमा जागेको गरिबको जिन्दगी उकास्न
अन्यायमा परेकाहरूको लागि
सर्लक्क न्याय दिलाउन
तिमीले गरेको युद्धको कारण
कति के भए ?
कतिले के-के मात्रै गुमाउनु परेन
छ लेखाजोखा ?
फगत हराइ गएको जिन्दगानीको
गरेको छ हिसाबकिताब ?

म प्रायः राति आकाश हेर्छु
ताराहरू टिमटिम चम्किएको पाउँछु
त्यहीँ ताराको हुलमा
कल्पना गर्छु
र सधैँ दिमागमा आउनुहुन्छ
उनले देखाएको बाटोमा हिँड्दाहिँड्दैँ
आधा बाटोमा
बेवारिसे लास बनेर गिद्ध र स्यालको आहारा बन्दै
महिनौँसम्म चिहान नपाएर कंकाल भएको
मैले गुमाएका मेरो आफ्नको
हृदय विदारक जीवनको कहानी
अनि म बाँचेर जीवन जिउँदै गरेको
मनभरि नदेखिने घाउको
खाटा बसेको पाप्रा उप्काउँदै गर्दा
उहाँ भन्नुहुन्छ अझै
अझै युद्ध बाँकी छन् रे !

कसैले कसैलाई दिएको
आश्वासन र आशीर्वाद
कामनाको कुरा फरक हुन्थ्यो
फर्केर विगत परिवर्तन गर्न सक्दिनँ
आशा छ समयले वास्तवमै सबै कुरा निको पार्नेछ
आशाको बल्छीमा जीवन उनेर
फगत काल्पनिक खुसी खोलाको किनारमा
जीवनलाई बिसाएर राखेको छु
घाउहरूबाट पुनः फेरि रगत, पिप नबगुन् भनी
तिनले देखाएका सिद्धान्तको चौतारी भत्काएर
ॐ माने पद्मे जप्दैँ
शान्तिको स्तुपा ठडाएको छु
मेरो मनको देउरालीमा
…उनी भने अझै युद्ध बाँकी छ भन्छन्
मेरो दिलको नदेखिने घाउ बिउँझाउन
थाहा पाउँदा पाउँदै
अन्तिम शाश्वत सत्य अँगालेर
बिभेदको दागहरू मेटिन्छ भन्ने कुरामा
तिमीलाई नदेखिने आस्थाको देउता बनाएर
परिवारको पीडा भुलेर
साशकले दिएको चोटको वजनभन्दा
तिमीले देखाएको मुक्ति मार्ग सहज सम्झेर
भेडाजस्तै बनेर तिम्रो पछि लागि
केही नराम्रो समय पाए पनि
केही राम्रो समय पाए पनि
सम्झनाहरू साझा गरेँ आफ्नालाई
मृत्युको खबरहरू साझा गरेँ आफन्तलाई
रगत बगाएको थियो पानीसरि
गिदी छरेको थियो मसिना ढुङ्गासरि
हातखुट्टा चुँडाएको थियो
रुखको डाली लाछेसरि
छन् अनेकौँ नदेखिने घाउ
र पनि…
तिमी भन्दैछौँ युद्ध अझै बाँकी छ ।

पाँचखाल-११,काभ्रेपलान्चोक
हाल- लिमासोल,साईप्रस