अदम्य साहस छातीमा बोकी युद्ध लड्न जान्छ छोरो
वैरीको सर्वनाश गर्न कठिन गिरि चढ्न जान्छ छोरो ।

सबै कला सिकेर अन्ततोगत्वा युद्ध जित्ने कला सिक्नलाई
ऋषिमुनि तपस्वीहरूकोमा हरदिन पढ्न जान्छ छोरो ।

आफैंले शत्रुलाई परास्त गरी संसारभर फैलिन
रणभूमिमा सबैभन्दा अगाडि बढ्न जान्छ छोरो ।

हजारौँ बम-गोली, तोप र बारुदहरू खाएर पनि
हिम्मतको पर्वत सामुन्नेमा बोकी अड्न जान्छ छोरो ।

लाखौँ निहत्थाको घरबार, वस्तुभाउ जोगिन्छ भने
आफैँ डढेलोको रापभित्र हरदम डढ्न जान्छ छोरो ।

आफूभन्दा माथि राष्ट्र सम्झेर जीवन बिताएन भने
नालीभित्र गन्हाएको सिनोसरह सड्न जान्छ छोरो ।