अस्ति बास खोज्दै चराहरू आएका थिए,
उसले कुन्नि किन इन्कार गर्‍यो।
हिजो जनावरहरू साथी बन्न आएका थिए,
उसले आतङ्कको सुसेली सुसेल्दा।

उसले खसेको पातलाई
केवल आफ्नै बनाउनको निम्ति
हावासँग खेल्न पठाएन।

आफूले ओगट्ने आयतन कम नहोस् भनेर,
दुनियाँले सोच्न एउटा पनि विकल्प नपाओस् भनेर,
एउटा फलको पनि बीउ सक्दै निकालेन।

‘आकाशको फल आँखातरि मर’ भनेझैँ,
उसले फूल सबैभन्दा अग्लो हाँगामा फुलायो।

झन् दरिलो र फराकिलो हुँदै गएको
जराबाहेक अहङ्कार पनि थियो।

मेरो सामु छाती चौडा पार्दै हिँड्नेहरू अल्झेर

लडून् भनेर एकदिन उसले कलिलो हाँगाहरू फ्याँक्यो।

अचम्म!
कलिला हाँगाहरू बलिया बन्चरो बने,
र गिँड्न थाले असन्तुष्टिका सकसहरू,
चिर्न थाले बोक्राले लुकाएको दैत्य-मुखुन्डो,
र ढालीछाडे तानाशाहको उचाइ।

त्यसबखत,
कलिला हाँगाका बलिया बन्चरोले
मेटेको एक इतिहास थियो –
“जे कथ्य, उहीँ सत्य!”