तीन करोड मानिसको भीडमा
साँच्चै म एक नेपाली खोजिरहेको छु।
अरे के भन्छ र ?
नेपाली खोजिरहेको रे !
तिमीलाई लाग्दो हो,
यो बौलाएको छ कि क्या हो?

शायद हो
किनकि चेतनाविहीन भीडमा,
म चेतनाको खोजी गरिरहेको छु।

म सहरका गल्ली चहार्छु,
सडकमा धूलोसँगै हिँड्छु,
भट्टीमा पस्छु,
चिया पसलमा कान थाप्छु।
तर भेटिन्छ
सस्तो गफ, खोक्रो राष्ट्रवाद,
लोभ र लाजको व्यापार।
जताततै अनुहार छन्
तर आत्मा छैन,
देशको गन्ध छैन।

म सुन्छु
बायाँका नाराहरू,
दायाँका घोषणाहरू।
भेट्छु
राजनीति गर्ने,
जातको नाममा देश बाँड्ने,
पार्टीको पगरी बाँध्ने।
भेटिन्छन् त
दायाँका सेनानी,
बायाँका ठेकेदार,
जातका सौदागर,
धर्मका जालसाज।
राजावादी, पार्टीवादी,
परिवारवादी, विदेशवादी,
लुटवादी, झूटवादी, मौकावादी
सबै ‘वादी’ नै ‘वादी’।

तर पनि म पागलझैँ खोज्दै छु—
त्यो एक आत्मा,
जो बाँचिरहेको होस् नेपालमा,
नेपालका लागि।

हिजोको वीरता
आजको डरले छोपिएको देख्छु।
शहीदका सपना
दलालहरूको भाषणमा हराएका भेट्छु।
बाघहरूको देशमा म देख्दै छु—
चोर बिरालोहरू म्याऊ गर्दै छन्।

तर म अझै खोजिरहेछु
त्यो एउटा नेपाली,
जो आँखा उघारोस्,
छाती तानेर कराओस्
‘म नेपाली हुँ’
अनि साँच्चै नेपाली भएर देखाओस्।
एक यस्तो नेपाली—
जसको शिर गर्वले उठोस्,
जसको हृदयले नेपाल बोकोस्।

फेरि पनि भन्छु—
म एक नेपाली खोजिरहेको छु।
त्यो, जसको रगतमा देश बगोस्,
जसको हाँसोमा हिमाल उभियोस्,
जसको खुट्टाले मातृभूमि नापोस्,
शब्दले मात्र होइन, धर्म, कर्म र इमानले।
जसले नेपालको कुरा गरोस्,
जसले भनोस्—
‘म नेपाली हुँ’।