गाउँमा खासै राम्रो भाइको पढाइ, छैन भन्छन् बाले
भविष्यमा प्रगतिको सिँढी चढाइ, छैन भन्छन् बाले
घरबाट स्कूल स्कूलबाट घर, यत्ति नै चलिराछ
गाउँदेखि अलि परसम्मको देखाइ, छैन भन्छन् बाले
सात कक्षा पुग्दा पनि, नेपाली मात्रै जेनतेन हेर्छ
विश्वभर फैलेको अङ्ग्रेजी लेखाइ, छैन भन्छन् बाले
गन्हाउने ओठमा सुर्ती च्याप्दै, शिक्षक कक्षामा छिर्छन्
किमार्थ ऊ धुमपानसँग पराइ, छैन भन्छन् बाले
चिट चोर्न नदिएमा शिक्षक नै, कुट्ने पो कुरा गर्छ
शिक्षक बाआमा कसैको नि डराइ, छैन भन्छन् बाले
अभाव भए पो सिक्थ्यो होला, घरैको खाजा खानलाई
बाआमाले गरेको दु:खको बुझाइ, छैन भन्छन् बाले
मोबाइलबाटै गृहकार्य गर्न, स्कूलको उर्दी छ रे
आफ्नै दिमाग प्रयोग गर्ने गराइ, छैन भन्छन् बाले
खाना पकाउन कसेर लगाउन, हुँदैन पो भन्छ
पक्कै नि असल संस्कारमा लगाइ, छैन भन्छन् बाले ।
गोदावरी न.पा., ललितपुर



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२७ कार्तिक २०८२, बिहीबार 




