हो, म अवसरवादी हुँ,
जनताको पीडामा मलम लगाउन खोज्नु,
अन्धकारमा आशाको बत्ती बाल्न खोज्नु,
न्यायको बाटोमा सत्यको साथमा हिँड्नु,
अवसर हो भने, त्यो अवसर म रोज्छु !
हो, म अवसरवादी हुँ,
किनकि म सुशासन खोज्छु,
किनकि म विधिको शासनको सम्मान गर्छु,
किनकि मलाई जनताको आँशु सुकाउनु छ,
र मलाई थाहा छ,
यो परिवर्तनको घडी, कसैले रोकिदियो भने,
फेरि भ्रष्टहरूको दिन आउनेछ, सर्वत्र अँध्यारो छाउनेछ ।
तिमीहरू मलाई हाँसोमा उडाउन सक्छौ,
“अवसरवादी !” भनेर चिच्याउन सक्छौ,
तर म मौन रहन्न,
किनभने, मनौता पनि स्वीकृति हो ।
मौनता पनि अपराध हो ।
म अवसरवादी हुँ,
शब्दमा होइन, संकल्पको अर्थमा ।
म चाहन्छु अवसर, देशलाई फेरि उठाउने,
युवालाई आस्था दिलाउने,
राजनीतिलाई जनसेवा बनाउने ।
यदि सेवा गर्नु अपराध हो भने,
म त्यो अपराध स्वीकार्छु ।
यदि परिवर्तनमा विश्वास राख्नु पागलपन हो भने,
म पागलपन स्वीकार्छु ।
किनकि मैले देखेको छु,
बढ्दो भीडमा बारुदी आँखा,
लाचार आमा, रित्तो काख
र मानेको छु – देश मरेको छैन,
देश त केवल निदाएको छ ।
त्यसैले हो, म अवसरवादी हुँ,
सपनाको पुनर्जन्मको अवसर खोज्दै
जब एकदिन, यो देश बिउँझन्छ,
त्यो बिहानको घामसँगै
मेरो नाम “अवसरवादी” करार हुँदा पनि,
सबै भन्दा खुशी मै हुनेछु ।
– “अवसरवादी” सुमना श्रेष्ठ
(यो कविता आफ्नो फेसबुकवालमा साझा गर्दै पूर्व सांसद् सुमना श्रेष्ठ लेख्छिन्: ‘महाकवि लक्ष्मीप्रसाद देवकोटाको “पागल” कविताबाट प्रेरित)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२४ मंसिर २०८२, बुधबार 







