
महँगो गाडीको झ्यालबाट
हेरिरहेको छ संसार
ऊ बसेको काख
अरबपतिको थियो
जिब्रो निकालेर स्यास्या गर्छ
छेउछाउकाले फोटो खिच्दा
मक्ख परे झैँ
गमक्क परे झैँ
ऊ मालिकको छातीमा घुस्रिन्छ
उसलाई हाड हैन
मासु मात्रै मन पर्छ
पौवामा सुत्ने बानी नभएको उसलाई
पौवा फोहोर लाग्छ
आफ्नै आची पनि
गनाउँछ धनीको कुकुरलाई
एकदिन छिमेकीको घरमा
सडक कुकुर घुस्दा
खेदाउँछ मालिकले
ऊ आफ्नो मालिकलाई सम्झन्छ
र आनन्द लिन्छ
अचानक सडक कुकुरले
भुक्दा उसको मालिक आउँछ
र उसको नाम लिँदै नकराउन भन्छ
तब मैले कराएको हैन भन्न खोज्दा
सडक कुकुरकै स्वर निस्कन्छ
तब मालिक झर्किँदै आउँछ
नकरा भनेको सुन्दैनस्
तब ऊ निराश हुन्छ
सडक कुकुर सडकको राज गर्दै
आँखाबाट हराउँछ
धनीको कुकुर धनीकै बन्धकमा
ऊ सिमानाभित्र बसेर
संसार नियालिरहँदा
सडक कुकुर निर्भीक भएर
पुच्छर हल्लाउँदै
सडकमा नाचिरहन्छ
धर्ती छोएर आकाश हेरिरहँदा
धनीको कुकुर कृत्रिम घाँसमा
लम्पसार भइरहन्छ
दैनिक नयाँ साथी बनाइरहँदा
मालिक र मालिकका परिवारसँग मात्र
दिन बिताउँछ धनी कुकुर
सडक कुकुर आफ्नै संरचनामा
कुकुरको जीवन व्यतित गरिरहँदा
मान्छेको संरचनामा बाँचिरहेको हुन्छ धनीको कुकुर
सुन्दरताले सधैं खुशी पार्दो रहेनछ
स्वतन्त्रताले खुशी बनाउँदो रहेछ….
चन्द्रमा हेरेर भुकिरहँदा
कुकुर हुनुको गौरवले छोइरहन्छ सडक कुकुरलाई
मालिकले बाहिर लगे मात्र संसार देख्ने
धनीको कुकुरलाई के थाहा
आकाश कत्तिको फराकिलो छ भनेर
म्यान्मार



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

