काठमाडौँकी लक्ष्मी श्रेष्ठ हाल संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहरमा बस्नुहुन्छ । पेसाले बैङ्कर श्रेष्ठ न्युयोर्क सहरस्थित अमेरिकाको ख्याति प्राप्त बैङ्क ‘बैङ्क अफ अमेरिका’मा काम गर्नुहुन्छ । साहित्यमा अति रुचि राख्ने श्रेष्ठका ‘ढुकढुकीमा सुन्दरीजल’ र ‘तिम्रो सम्झनामा’ नामक कवितासङ्ग्रह प्रकाशित छन् ।

प्रस्तुत छ, हालै ‘न्युयोर्क कोरोना डायरी’ प्रकाशनमा ल्याउनुभएकी श्रेष्ठसँग साहित्यपोस्टका लागि विश्वराज अधिकारीले गरेकाे कुराकानीकाे सम्पादित अंश;

अचेल के गर्दै हुनुहुन्छ?

हजुर आज भोलि म आफ्नो काम, घरपरिवारमा व्यस्त छु साथसाथै अर्को वर्ष कथासङ्ग्रह निकाल्न चाँजोपाँजो पनि मिलाउँदै छु ।

तपाईँले नेपालमा पनि बैङ्किङ क्षेत्रमा काम गर्नुभयो । अमेरिकामा पनि बैङ्किङ क्षेत्रमा काम गर्दै हुनुहुन्छ । दुवै देशका बैङ्किङ कारोबारमा केकस्ता अन्तर देख्नुहुन्छ?

हुन त संसारको बैङ्किङ डेबिट र क्रेडिटमा नै आधारित हुन्छन् तर डेबिट र क्रेडिटलाई सञ्चालन गर्ने सिस्टममा फरक छ । नेपालका प्रायः सबै बैङ्कहरूका ढोकाहरू साँचोले खोलिन्छ भने यहाँ कम्बो यानि नम्बरको कम्बिनेसनबाट खोल्नुपर्छ ।

नेपालको बैङ्किङ क्षेत्र अहिले कुन स्तरमा छ?

अहिलेको समयमा नेपालको बैङ्किङ क्षेत्रले पनि ठुलो फड्को मारेको मैले महसुस गरेकी छु ।

लक्ष्मी श्रेष्ठ

नेपालको बैङ्किङ क्षेत्रमा केकस्ता सुधारहरू आवश्यक रहेको देख्नुहुन्छ?

मैले नेपालको बैङ्किङ छोडेको अहिले १६ वर्ष भैसकेको छ । त्यत्तिखेर बैङ्कका व्यवस्थापन कमिटीमा भएका मान्छेहरूलाई, व्यवस्थापन समूहका नजिक भएका मान्छेहरूलाई राम्रो/सही धितो या धितोबिना नै आँखामा पट्टी बाँधेर ऋण दिने परीपाटि व्याप्त थियो । जसको परिणाम केही बैङ्कहरू झन्डै-झन्डै डुब्ने स्थिति भएकाले नेपाल राष्ट्र बैङ्कले आफ्नो नियन्त्रणमा लिन बाध्य भएको थियो । सायद त्यो बेलादेखि बैङ्कहरूले खोलाको बगरजस्तो जग्गा, पित्तलमा सुनको जलप लगाएको गहनाहरूजस्ता धितो राखेर कर्जा प्रबाह गर्ने कार्यलाई निषेध र निरुत्साह गरेको हुनुपर्छ भन्ने मेरो ठहर छ ।

तपाईँले यहाँ बैङ्कमा जागिर पाउन केकस्ता चुनौतीहरू पार गर्नुपऱ्यो साथै कसरी आफ्नो नेपालदेखि अपनाएको बैङ्किङ पेसालाई नै अघि बढाउन सक्षम हुनुभयो?

हजुर मैले यो कुरा मेरो पुस्तक “न्युयोर्क कोरोना डायरी” मा पनि उल्लेख गरेकी छु । कुनै पनि काम सुरु गर्न मेरो विचारमा सबैभन्दा पहिलो र ठुलो कुरा आफूभित्र एउटा बलियो आत्मविश्वास हुनु अत्यन्तै जरुरी छ ।

हुन त म पनि नेपालको एउटा साधारण सरकारी स्कुल र कलेजमा पढेको विद्यार्थी हुँ । त्यसैले अङ्ग्रेजीमा पोख्त हुने त सवाल नै भएन तर पनि सानैदेखि अङ्ग्रेजी मेरो सबभन्दा रुचि भएको विषय भएकाले पढ्न लेख्न यसमा म धेरै अभ्यास गरिरहन्थेँ । एसएलसीको परीक्षामा पनि मेरो अङ्ग्रेजी पढाउने गुरु श्री हरिशरण ढुङ्गानाले भन्नुभएको अझै याद छ, “लक्ष्मी तिमीले त अङ्ग्रेजीमा तिम्रो साथीहरू सबैलाई जितेछौ । ”

मेरो बाबा मलाई सधैँ सम्झाउनुहुन्थ्यो, “बच्चा, अङ्ग्रेजी या कुनै पनि भाषा भन्ने कुरा बुझ्न र सिक्न त्यसमा अभ्यास गर्नु नितान्त जरुरी हुन्छ । त्यसैले अङ्ग्रेजी पढ्ने मात्र हैन बोल्नुपर्छ । बोल्न कहिल्यै सङ्कोच नमान्नू । यदि तिमीले बोल्न सङ्कोच मान्यौ भने कहिल्यै सिक्न सक्दैनौ । यो पनि याद राख । यो तिम्रो आफ्नो मातृभाषा हैन । त्यसैले मिलेन भने अरूले जिस्काउलान् भनेर सोच्दै नसोच्नु । यदि तिमीले बोल्दा मिलेन भने जान्ने मान्छेहरूले तिमीले बोलेको कुरा सच्याइदिन्छन् ।” मेरो बाबाको यो कुराले मेरो मनमा सानैदेखि बलियो जरा गाडेको थियो ।

क्यानाडा वर्ल्ड युथ र सामाजिक सेवा परिषद्‌को आयोजनामा “युवा क्रियाकलाप समन्वय समिति” बाट सन् १९८९ मा परीक्षा र अन्तर्वार्ताको माध्यमबाट छनोटमा परेर साढे तीन महिनाका लागि क्यानडा जाने सुअवसर जुऱ्यो र साढे तीन महिना नेपालमा काभ्रेको मेथिनकोट गाउँमा आफ्नो क्यानडियन काउन्टर पार्ट जेनिफर डिभ्रिस लगायत अरू क्यानडियन साथीहरू र नेपाली साथीहरू, दाजुभाइ, दिदीबहिनीहरूसँग बिताएँ । त्यो अपूर्व क्षणले पनि मेरो जीवनमा ठुलो भूमिका खेल्यो ।

नेपालमा सन् १९९४ मेरो बैङ्किङ पेसाको सुरुवातमामा नेपाल बङ्ग्लादेश बैङ्कमा काम पाउन अङ्ग्रेजी भाषाले निकै ठुलो र महत्त्वपूर्ण भूमिका खेल्यो । म किटान गरेर भन्न सक्छु यदि म अङ्ग्रेजी बोल्न नजान्ने भएको भए पक्कै मैले त्यो रिसेपस्निस्ट पदमा काम पाउने थिइनँ ।

यसरी मैले सन् २००५ मा अमेरिका आएपछि पनि बैङ्किङ क्षेत्रलाई नै निरन्तरता दिने विचारले अमेरिकामा काम गर्ने पर्मिट पाएपछि अनलाइनमा निवेदनहरू भर्दै पठाउन थालेँ । अरू धेरै ओटा कम्पनीहरूमा अन्तर्वार्ताका लागि त बेलाए तर काम दिएनन् तर निराश भने हुँदै भइनँ । निवेदनहरू भर्दै, पठाउन छोडिनँ पनि ।

त्यसपछि २००५ को नोभेम्बर महिनाको अन्तिमतिर बैङ्क अफ न्युयोर्कले अन्तर्वार्ताका लागि बोलायो । त्यही बेलाको त्यो २ ओटा अन्तर्वार्ता मेरो जीवनमा कोसे ढुङ्गा साबित भयो ।

त्यसकारण हाम्रो नेपाली दाजुभाइ र दिदीबहिनीहरू जो आफ्नो अमेरिकी सपना बोकेर अमेरिका आउन चाहनुहुन्छ, म के सुझाउन चाहन्छु भने, तपाईँहरू अरू कुराहरू सिक्नुभन्दा पहिला अङ्ग्रेजी बोल्न सिकेर आउनुस् । अङ्ग्रेजी बोल्न धक नमान्नुस् । जानी नजानी पनि बोल्ने अभ्यास गर्नुस् । यहाँ आएपछि आफू नेपालमा जुन पेसा अपनाइरहनुभएको थियो त्यसैलाई निरन्तरता दिने कोसिस गर्नुस् । कम्पनीहरूमा आवेदन भर्न कदापि नहिचकिचाउनुस् । मनमा धैर्य र आत्मबलले भर्नुस् । यहाँ तालिमहरू लिनुपर्छ भने लिनुस् । “मसँग यहाँ पढेको प्रमाणपत्र नभए पनि मेरो यो क्षेत्रमा यत्रो अनुभव छ” भनेर आफ्नो आत्मबल र आत्मविश्वासलाई चुस्त र दुरुस्त राख्नुस् । पक्कै पनि तपाईँ आफ्नो क्षेत्रमा अगाडि बढ्नुहुनेछ र सफलता प्राप्त गर्नुहुनेछ । कर्म गर्नुस् र कर्ममा विश्वास गर्नुस् ।

मैले त आफ्नो पेसालाई निरन्तरता दिन सकेँ भने तपाईँले नसक्ने त कुनै सवाल नै छैन । तपाईँहरू त झन् मभन्दा पनि धेरै पढेलेखेको र धेरै अनुभवी पनि हुन सक्नुहुन्छ । हैन त?

अन्तर्वार्ताकार- विश्वराज अधिकारी

अमेरिकी जीवनलाई ज्यादै सरल एवं विलासी मानेर अमेरिका पस्न खोज्नेहरूको एउटा ठुलो हुल नै छ नेपालमा । के साँच्चिकै अमेरिकी जीवन ज्यादै सरल एवं विलासपूर्ण छ?

अमेरिका एउटा साधन सम्पन्न देश पक्कै हो । उदाहरणका लागि नेपालमा मोटर साइकल किनेर चढ्न पनि साइत हेर्नुपर्ने हाम्रा नेपाली दाजुभाइ अनि दिदीबहिनीहरू अमेरिका आएर काम गरेर राम्रो क्रेडिट स्थापना गर्न सकेको खण्डमा लाखौँ रुपियाँ पर्ने मूल्यवान् गाडीहरू अमेरिकाको चिल्लो सडकमा गुडाउन सपना देख्नु पर्दैन ।

यसैलाई विलासी जीवनको परिभाषाले परिभाषित गर्ने हो भने हो अमेरिका विलासी देश हो । यहाँ काम गरेपछि कोही भोको बस्नु पर्दैन । जीवन सरल या कठिन ? यो प्रत्येक मान्छेहरूको आआफ्नै भोगाइ र जीवनप्रतिको धारणामा भर पर्ने कुरा हो जस्तो मलाई लाग्छ ।

‘अमेरिकामा पैसा रुखमा नै फलेको हुन्छ, केवल टिपे हुन्छ’ नेपालमा यस किसिमको जनधारणा रहेको पाइन्छ । यो जनधारणा यथार्थ हो वा भ्रम हो?

यो धारणा मान्न म बिलकुल तयार छैन । किनकि अमेरिकामा डलर रुखमा हैन, कडा परिश्रमको नुनिलो पसिनामा मात्र झुल्छ । यहाँ कडा परिश्रम गरेर, पसिना बगाएर आफ्नो कर्ममा जुटेपछि मात्रै तलब पाक्छ । त्यसैले म भन्छु यो धारणा केवल भ्रम मात्र हो । मलाई लाग्छ अरू खेतीभन्दा भ्रमको खेती लगाउन सजिलो हुन्छ किनकि यसलाई गोडमेल गर्नु नै पर्दैन ।

तपाईँले लेख्नुभएको ‘न्युयोर्क कोरोना डायरी’ लाई धेरै पाठकहरूले रुचाए । नेपाल तथा अमेरिका दुवैतिर यो पुस्तकले राम्रो चर्चा पायो । यो कृति तपाईँले संस्मरण हो वा इतिहास हो भन्ने कुरा उल्लेख गर्नुभएको छैन । बरु डायरी भन्नुभएको छ ? खासमा यो कृति के हो?

हजुरको यो हौसलामन्द प्रतिक्रिया र प्रश्नका लागि धेरै-धेरै धन्यबाद साथै आभार व्यक्त गर्दछु । हजुर मेरो यो कृतिलाई म मेरो डायरी नै भन्न रुचाउँछु ।

म कुनै इतिहासविद् नभै एउटा साधारण मान्छे भएको कारणले मैले इतिहास लेखेको भन्न असमर्थ छु । कोरोना महामारीको विषम परिस्थितिबाट गुज्रनुपर्दाका मेरा भोगाइहरू कालान्तरमा गएर हाम्रा भावी सन्तानहरूका लागि इतिहास सावित हुन पुग्यो भने मेरो मेहनत सफल भएको ठान्नेछु ।

यदि यस कृतिलाई डायरी भन्नुहुन्छ भने डायरी किन भन्नुभएको?

किनकि यो कृति मेरो उल्लिखित दिनहरूको दैनिकीभित्र पर्ने तिथिमिति सहितको अभिलेख भएका कारणले यसभित्र त्यो दिनमा मैले गरेका संस्मरणहरू कोरिन पुगेका हुन् ।

चर्चित समालोचक खेमराज पोखरेलले तपाईँको यस कृति ‘न्युयोर्क कोरोना डायरी’ को समीक्षा गर्दा त्यसलाई संस्मरण भन्नुभएको छ? पोखरेलको सो भनाइसँग सहमत हुनुहुन्छ?

साहित्यकार तथा प्रखर समालोचक आदरणीय खेमराज पोखरेल दाइले “न्युयोर्क कोरोना डायरी” को समीक्षा गर्दा संस्मरण भनेर उल्लेख गर्नु भएको कुरामा सहमत या असहमत भन्नुभन्दा पनि मेरो लेख्ने ढङ्ग नै नपुगेको भन्दा कसो होला ? म साहित्यको विद्यार्थी हुँ, हरेक दिन आफ्ना अग्रजहरूबाट केही न केही सिकिरहेछु र उहाँहरूबाट यसरी नै साथ र हौसलाहरू पनि पाइरहने विश्वास गर्दछु ।

खेमराज पोख्रेल दाइले यत्ति राम्रोसँग सूक्ष्म तरिकाले “न्युयोर्क कोरोना डायरी” को समीक्षा गर्नुभएको छ कि यो पढ्दा मेरो आँखाहरू रसाएका छन् । किताबको समीक्षा गर्दा उहाँले मेरो किताब मात्र हैन मेरो मन पनि पढ्न भ्याउनुभएको छ साथै लेखकले कुन मुडमा र कसरी लेखेको छ त्यो पनि प्रस्ट पार्नुभएको छ । आफ्नो अनुजहरूलाई हौसला दिन यसरी निःस्वार्थ रूपमा कृति समालोचना गर्ने क्षमता र भावना सायदै बिरलै औँलामा गन्न सक्ने समालोचकहरूमा हुन्छ जस्तो मलाई लाग्छ । आफ्नो अमूल्य समय खर्चेर मेरो कृतिको समीक्षा गरिदिनुभएकामा दाइप्रति साह्रै आभारी छु ।

साहित्यमा अति नै सक्रिय देखिनुभएको पाइन्छ । यो सक्रियता चर्चित हुनका लागि हो वा साहित्यप्रतिको गुरुत्वाकर्षणले हो?

हा… हा… हा.. फेरि पनि यो गज्जबको प्रश्नका लागि धन्यबाद । म आफ्नो कर्ममा विश्वास राख्ने अनि साहित्यमा बामेसर्दै गरेको मान्छे । खासै अझै केही गर्न सकेको जस्तो पनि लाग्दैन । नेपाली साहित्यमा साह्रै लगाब भएको साथै लेखन मेरो बाल्यकालदेखिको सोख भएकाले आफ्नो सोख पूरा गर्न जानी नजानी लागिपरेको छु । चर्चित बनाउने खालको साहित्य सृजना गर्ने मेरो ढङ्ग नै पुगेको छैन । त्यसैले म इमानदारीका साथ भन्छु यो मेरो साहित्यप्रतिको लगाव या गुरुत्वाकर्षण नै हो ।

‘न्युयोर्क कोराना डायरी’ लेख्न के कुराले तपाईँलाई प्रेरित गऱ्यो?

पक्कै पनि कोरोना कहरले निम्त्याएको विषम परिस्थितिले ।

‘न्युयोर्क कोराना डायरीमा’ मानवीय समवेदना र मनोविज्ञानलाई अति सूक्ष्म किसिमले अवलोकन एवं विश्लेषण गर्नुभएको छ । केकस्ता घटनाहरूले तपाईँलाई त्यति भावुक हुन प्रेरित गऱ्यो ?

मेरो विचारमा यदि मान्छेभित्र मानवीय वेदना र समवेदना नहुने हो भने सायद मान्छे अरू जीवजन्तुभन्दा केही फरक हुँदैनथ्यो होला । कोरोना कहरको विषम परिस्थितिबाट गुज्रेर घरभित्र बन्दी जीवन बिताउनुपर्ने बाध्यतालाई आत्मसात् गर्नुपर्दा मेरो मन मस्तिष्कमा मानवीय भावना, मनोभावनाका थुप्रै छालहरूले एकपछि अर्को गर्दै थुप्रै तरङ्गहरूका ज्वारभाटाहरू उठाउँदै लगे ।

हरेक दिन संसारका लाखौँ मान्छेहरू कोरोनाको सिकार बन्दै गएको देख्दा र सुन्दा अनि आफूले चिनेजानेका मान्छेहरूलाई पनि आफ्नो सिकार बनाएको खबरले बेला-बेलामा मन हतासिन्थ्यो । चञ्चल मन भूत, वर्तमान र भविष्यको संसारमा डुल्थ्यो । कहिलेकाहीँ त कतै समाचारमा म पनि आउने त हैन भन्ने त्रास जाग्थ्यो भने आँखाले देख्न नसकिने सूक्ष्म कीटाणुले संसारलाई नराम्रोसँग हल्लाएको देख्दा कहिले हाँसो पनि लाग्थ्यो । त्यही समयको परिणाम हो, यो मेरो “न्युयोर्क कोरोना डायरी” नामक पुस्तक ।

तपाईँले कविताहरू पनि लेख्नुभएको छ । न्युयोर्क कोरोना डायरीले भने निकै चर्चा पायो । अब भविष्यमा के केवल संस्मरण लेख्नमा जोडदिने विचारमा हुनुहुन्छ कि?

हजुर संस्मरण मात्र हैन । मलाई कविता विधा अत्यन्तै मन पर्ने बिधा भएकाले म कविता लेख्छु । प्रस्ट भन्नुपर्दा म चर्चा बटुल्नका लागि लेख्न जान्दिनँ साथै पाठकहरूलाई यस्तो रसको कविता मन पर्छ होला भनेर अध्ययन गरेर त्यसैअनुरूप लेख्न पनि जान्दिनँ । जुन बेला जुन भावनाका लहरहरू मेरो मनमा उठ्छ र मलाई लेख्न झकझकाउँछ म लेखिहाल्छु । आधा रातमा बिउँझेर पनि मैले कविता लेखेकी छु । मेरा कविता या लेखहरू प्रायःजसो समसामयिक हुने भएकाले मेरा पाठकहरूले मन पराइदिनुहुन्छ । त्यसमै मेरो मन खुसी हुन्छ । कविताबाहेक म कथा, गीत, मुक्तक र हाइकुमा पनि कलम चलाउँछु जानी नजानी । ५ ओटा गीतहरू युट्युबमा छन् भने छैटौँ गीत पनि निकट भविष्यमा निस्कन तयार हुँदै छ । कथासङ्ग्रह अर्को वर्ष निकाल्ने सुरसारमा छु । त्यस्तै कविता, मुक्तक र हाइकु पनि लगभग सङ्ग्रह बनाउन पुग्ने जति सङ्ग्रहित भैसकेका छन् । नेपाली साहित्यमा सकेसम्म र भ्याएसम्म अझै धेरै इँटाहरू थप्ने ठुलो धोको छ ।

न्युयोर्क कोरोना डायरीमा तपाईँले आफ्नी आमाका अनेक प्रसङ्गहरू जोड्नुभएको छ ? आफ्नी आमाको व्यक्तित्वबाट तपाईँ अति प्रभावित हुनुको कारण के होला?

हजुर सबै मान्छेहरूको जीवनमा प्रायःजसो कोही न कोही रोल मोडलहरू हुन्छन् । त्यस्तै मेरो जीवनमा पनि मेरी आमा मेरो रोल मोडेल हुनुहुन्छ । उहाँको स्पष्ट विचार, सबैलाई सहयोग गर्ने सहयोगी भावना, अरूलाई परेको पिरमर्का पनि आफ्नैजस्तो ठान्ने, सबै मान्छेहरू एउटै हुन्, कोही साना र ठुला हुँदैनन् भनेर समान व्यवहार गर्दै मायाँ, दया र सद्भाव राख्ने “नबिराउनू नडराउनू” केही गरी बिराइहाल्यो भने माफी माग्न कहिल्यै नहिचकिचाउनू भन्ने उहाँको अतुलनीय व्यक्तित्वबाट म अति नै प्रभावित भएकी हुँ, छु र रहनेछु । साथै सकेसम्म यी कुराहरूलाई मैले मेरो जीवनमा आत्मसात् पनि गर्दै आएकी छु र भविष्यमा पनि गर्दै जानेछु ।

न्युयोर्कलाई आधारभूमि बनाएर लेखिएको यो कृति ‘न्योयोर्क कोरोना डायरी’ ले नेपाली जनजीवन मात्र हैन सम्पूर्ण अमेरिकामा कोरोनाबाट प्रभावित मान्छेहरूको व्यथा पनि बोलेको छ । त्यसैले यसलाई अङ्ग्रेजीमा अनुवाद गर्ने विचार पनि राख्नुभएको छ कि?

हजुर मेरो मनकै कुरा सोध्नुभयो । मलाई पनि लागेको छ यसलाई अङ्ग्रेजीमा पनि अनुवाद गरेर अमेरिकी बजारमा ल्याऊँ । यसका लागि पक्कै पनि साधन र स्रोत जुटाउने कोसिस गर्नेछु ।

लेखकले आफ्नो सन्तुष्टिका लागि लेख्ने हो वा जनचेतना विकासका लगि लेख्ने हो ?

मेरो विचारमा लेखकले पहिला आफ्नो आत्म सन्तुष्टिका लागि आफ्नो विचार लेख्छ र पाठकहरू माँझ पुऱ्याउने कोसिस गर्छ । जब पाठकहरूमाँझ पुग्छ त्यसले जनचेतना विकाशका लागि मद्दत गर्छ ।

अमेरिकामा भर्खर हिँड्ने थालेका बालबलिकाहरू पनि कथाका किताब पढेर (चित्र हेरेर) मात्र राति सुत्न ओछ्यानतिर लाग्छन् । पठनसंस्कृति यति बलियो छ अमरिकमा । फुर्सद भयो कि अमेरिकीहरू त्यो फुर्सदको समयलाई पढ्नमा उपयोग गर्छन् । नेपालमा यस्तो पठनसंस्कृतिको विकास गर्न के गर्नुपर्ला?

पक्कै नेपालमा पनि पठनसंस्कृतिको विकास गर्न सकिन्छ । नेपालमा पनि थुप्रै नेपाली पुस्तकहरू पाइन्छन् । प्रायः हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू किताब किनेर पढ्न त्यति रुचाउँदैनन् । कतै भेटिहाल्यो भने पढि पनि हाल्छन् । हाम्रो नेपाली समाजमा थोरै प्रतिशतमा मात्रै किताब किनेर पढ्ने पाठकहरू भेटिन्छन् । अमेरिकामा कफी खाने पैसा सँगालेर पनि किताब किनेर पढ्छन् भने नेपालमा चिया, कफी, जाँड, रक्सीमा जत्ति पनि पैसा खर्च गर्न पटक्कै हिचकिचाउँदैनन् तर १००/२०० खर्च गरेर किताब किन्न कन्जुस गर्छन् ।

पहिलो कुरा हामीले हाम्रो मनःस्थितिलाई नै बदल्नु आवश्यक छ । आफूलाई मन परेको विधालाई कन्जुस्याइँ नगरी किनेर पढ्ने बानी बसाल्नुपर्छ । यसो गर्दा लेखकले एउटा पुस्तक निकाल्न बर्सौँदेखि गरेको परिश्रम सफल हुन्छ ।

अर्को कुरा सानै बच्चादेखि नै सबैले आआफ्ना ससाना बच्चाहरूलाई हरेक दिन सुत्ने बेलामा अमेरिकामा जस्तै सबै आमाबाबाहरूले किताब पल्टाएर कथा, कविताहरू सुनाउने बानी बसाल्ने हो भने त्यो बच्चालाई ठुलो भएपछि पनि किताब पढ्ने बानी बस्न सक्छ भन्ने मलाई लाग्छ ।

शैशवकालमा बालबलिकाहरूले बढी समय आमासँग बिताउने हुनाले बालबालिकहरूमा पठनसंस्कृतिको विकास गर्न आमाहरूको भूमिका महत्त्वपूर्ण हुन्छ । यो भनाइसँग सहमत हुनुहुन्छ?

मेरो विचारमा बालबालिकाहरूमा पठनसंस्कृतिको विकास गर्न आमाको मात्रै होइन बाबाको पनि उत्तिकै ठुलो हात हुन्छ । हुन त आमाले आफ्नो सन्तानका लागि गर्न नसक्ने कुरा केही छैन र हुँदैन पनि तर नेपालको सन्दर्भलाई हेर्ने हो भने अझै पनि हाम्रा धेरै दिदीबहिनीहरू निरक्षर नै छन् । त्यसैले पक्कै पनि निरक्षर आमाहरूले आफ्ना सन्तानहरूलाई व्यावहारिक ज्ञान त दिन्छन् जुन कुरा मान्छेहरूको जीवनमा अपरिहार्य कुरा हो । यदि कोही किताबी ज्ञानमा मात्र निपुण छ र व्यावहारिक ज्ञान छैन भने मेरो विचारमा त्यो मान्छेलाई जीवनमा अगाडि बढ्न निक्कै गाह्रो हुन्छ । त्यसैले सा़क्षर आमाहरूले त बालबालिकाको पठनसंस्कृतिको विकास गर्न पक्कै पनि महत्त्वपूर्ण भूमिका निभाउन सक्छन् तर आमाको मात्र नभै बाबुको पनि यसमा महत्त्वपूर्ण भूमिका हुन्छ र निभाउन अत्यन्तै जरुरी हुन्छ ।

नेपालमा आम व्यक्तिहरूले जति अन्य वस्तुहरू खरिद गर्नमा पैसा खर्च गर्छन् त्यति खर्च किताब किन्नमा गर्दैनन् । यो भनाइ उचित हो?

यो भनाइ एकदम उचित हो । यसको उत्तर मैले माथिका प्रश्नमा पनि दिइसकेकी छु । त्यसैले हामी नेपालीले हाम्रो यो मानसिकतामा नै आमूलपरिवर्तन ल्याउन अत्यन्त जरुरी छ । सबै किताब त किनेर पढ्न सम्भव हुँदैन तर आफूलाई मन पर्ने विधा मात्रै पनि किनेर पढ्ने बानी बसाल्यौँ भने लेखकको परिश्रमको फल सफल हुन्छ ।

त्यसैले हाम्रो नेपाली दाजुभाइ, दिदीबहिनीहरूलाई मेरो दश औँला जोडेर विन्ति गर्छु, यहाँहरूले चुरोट, खैनी, जाँड, रक्सीमा पैसा बरबाद नगरी त्यो पैसाले आफूलाई मनपर्ने विधाको किताब किनेर पढ्ने बानी बसाल्नुस् । त्यसैले तपाईँहरूको सबै किसिमका तल-तलहरू मेटाउन मद्दत गर्नेछ । किताबमा यत्ति शक्ति र तागत हुन्छ, तपाईँहरूको जीवनमा आइपरेका हर दुःख, बाधा र चुनौतीहरूसँग सजिलै जुध्न सक्ने शक्ति दिन्छ भन्न म पटक्कै हिचकिचाउँदिनँ । यसै गरी पत्रपत्रिका पनि पढ्ने गर्नुहोस् ।

लक्ष्मी श्रेष्ठ विश्वराज अधिकारी