यौन शाश्वत सत्य हो । यौनबाट कोही पनि अछुतो छैनन् । स्त्री र पुरुषको यौनिक क्रियाकलापबाट मात्रै मानवको सृष्टि हुन्छ । हामी पनि हाम्रा बाबु र आमाको यौन समागमबाट नै जन्मेका हौं । आमाको योनिबाट नै जन्म हुन्छ हरेक प्राणीको ।
हाम्रा दृष्टिकोणमा यौनलाई अनैतिक कार्य मानिए तापनि हामी सबै भित्रभित्रै जन्मदेखि मृत्युपर्यन्तसम्म यही क्रियाकलापमा अभ्यस्त छौं । भर्खरै जन्मेको र सानो दूध खाने बच्चामा पनि यौनेच्छा हुन्छ । उसले पनि आमाको शरीर स्पर्श र सामिप्यबाट यौन तृप्ति लिन्छ । प्रायः बच्चाले आमाको काखमा सुतेर दुध चुसिरहँदा उसले एक हातले आमाको अर्को स्तन खेलाउँछ वा लात्तीले आमालाई हानिरहन्छ । यसो गर्नु उसले यौन सन्तुष्टि लिनु हो । दूध चुस्दा बच्चालाई मात्रै होइन आमालाई पनि सूक्ष्म रूपले यौनको परिपूर्ति भैरहेको हुन्छ । यौन मनोविज्ञानका पिता मानिने सिग्मण्ड फ्रोयडले आफ्नो दर्शनमा यो कुरा भनेका छन् ।
हाम्रो समाजमा सबैभन्दा लुकाइएको र सबैभन्दा बढी खोजिएको वस्तु नै यौन हो । यौनविना कुनै जीव र जीवात्माको अस्तित्व नै अधुरो र अपूर्ण मात्र हुँदैन; बरु जीवनको अस्तित्व नै समाप्त हुन्छ । मानव जीवनको लक्ष्यभूत चार प्रमुख कुरा मध्ये ‘काम’ वा यौनलाई मुख्य रूप मानिन्छ ।
यौन र प्रेम मन नपराउने मान्छे पनि भेटिन्नन् । फरक यति हो कि कसैले पनि निर्धक्क भन्न सक्दैनन् । भन्दैनन् । यौनसँग सम्बन्धित विषयमा कुरा गर्ने व्यक्तिलाई कि त बिग्रेको मानिन्छ वा अपराधी जस्तो व्यवहार गरिन्छ । त्यसैले लुकिछिपी यसैको सोच, अध्ययन र उपभोगमा लाग्छन् । यदि एउटा पत्रिकामा सबै लेख अन्य विषयवस्तुका छन् र एउटा मात्र लेखमा यौनको एक शब्द कतै छ भने पनि पाठकको रुचि त्यहीं तानिन्छ र पहिले त्यही पढ्छ तर पनि ऊ डराउँछ सबैको सामु पढ्न । श्रीमद्भगवद् गीताको पुस्तकभित्र यौनको किताब लुकाएर पढ्छन् मान्छेहरू ।
यौन प्राकृतिक, जैविक र दैहिक आवश्यकता हो । यसको दमन भने आपराधिक हुन्छ । सांसारिक मोह, बन्धन सबै त्यागेर, इन्द्रिय दमन गरेर परमात्मा प्राप्तिका उद्देश्यले समाज र परिवारबाट अलग भएर हिँडेका जोगी, सन्त, महन्त पनि भित्रभित्र प्रेम र काममा नै लिप्त भएर व्यभिचार गरिरहेको घटना प्रशस्त भेटिएका छन् । यसले के प्रष्ट हुन्छ भने ‘मनले म इन्द्रियलाई जित्छु वा आफ्नो वशमा राख्छु’ भने तापनि शरीरले नै जित्दोरहेछ ।
सबैको रूचि भएको, तर कसैले पनि बोल्न नचाहने वा सामाजिक बन्देजको रूपमा लिइने यौनलाई साहित्यको विषय बनाएर लेख्न भने छुट छ । अङ्ग र क्रियाकलापको वर्णन नलेखेर, विम्ब र आलंकारिक भावमा उत्कृष्ट यौन साहित्य लेख्न सकिन्छ । सभ्य तरिकाले कलात्मक रूपमा प्रस्तुत गर्दा त्यो अश्लील नहुने साहित्यकारको तर्क पनि छ ।
यौन साहित्यको इतिहास हेर्दा महर्षि वात्सायनले करीब दुई हजार वर्षअघि (इन्साइक्लोपिडियामा इसाको तेस्रो शताब्दीको मध्य भागतिर) लेखेको ‘कामसूत्र’ लाई प्रहिलो काम शास्त्रको रूपमा लिन सकिन्छ । हुन त प्रमाणको आधारमा वात्सायनको काल निर्धारण हुन सकेको छैन तापनि यस ग्रन्थलाई नै विश्वको पहिलो यौन संहिता पनि मानिन्छ । यसमा यौन वा प्रेमको मनोशारीरिक सिद्धान्त तथा प्रयोग विधिको विस्तृत व्याख्या तथा विवेचना गरेको पाइन्छ ।
प्राचीन नेपाली चित्र, मूर्ति आदिमा पनि यौनको प्रचुर उपस्थिति प्रष्ट छ । अझ अनौठो त के छ भने हाम्रो हिन्दू धर्म नै यौन केन्द्रित छ । हामीले सबैभन्दा पवित्र मानेको मन्दिरमा भगवानको प्रतीक मानेर सबैभन्दा फोहोरको रूपमा लिएका लिङ्ग र योनीको पूजा गरिन्छ । पशुपति लिङ्गको प्रतीक तथा गुहेश्वरी योनिको प्रतीक देवी देउता हुन् भन्ने प्रत्यक्ष प्रमाण हुन् । शिव र शक्ति लिङ्ग र योनीका प्रतीक हुन् । लिङ्ग र योनि भनेकै यौनको यथार्थ स्वरूप हो ।
हिन्दू धर्मका आराध्य देवता मानिएका शिवको मूर्तिको पूजा हुन्न । व्यापारिक उद्देश्यले बनाइएका शिवको काल्पनिक मूर्तिलाई पार्क, मदिरको प्राङ्गण तथा धनाढ्य व्यक्तिको बैठकमा राखिन्छ । त्यस्ता मूर्तिको दर्शन मात्रै हुन्छ । नत्र शिवको असली पूजा भनेको त उनको उन्मत्त लिङ्गको मात्रै हो । त्यो पनि सम्भोगरत अवस्थाको । शिवलिङ्गको पूजा भनिनु नै सम्भोगरत् लिङ्ग तथा योनिको पूजा हो । शिवको लिङ्गको मात्रै पूजा हुन्न । सँगसँगै पार्वतीको योनी पनि हुनैपर्छ । सबै शिवलिङ्ग पार्वतीको योनि जोडिएकै हुन्छ । शिवलिङ्गको पानी बग्ने भागमा शिवको लिङ्ग प्रविष्ट गराइएको अवस्थाको हुन्छ । यौनको यो भन्दा नाङ्गो र यथार्थ रूप अन्यत्र कतै पाइन्न । हामी धर्मको रूपमा यस्ता शिवलिङ्गको दर्शन पूजापाठ बच्चादेखि किशोरकिशोरी, अधबैंसे, बूढाबूढी सबैले समान रूपमा मान्छौं ।
तर यौनको कुरालाई छलफल मात्रै पनि महापाप वा अपराध जस्तो ठान्छौँ । यसबाट के प्रष्ट हुन्छ भने हिन्दू धर्म यौन जीवनको बारेमा कठोर छैन तर, बिस्तारै समाज यो विषयमा कठोर बन्दै गयो । पूर्वीय विद्वानहरूले यौनलाई बाहिर प्रकट गर्नै नहुने कुराको रूपमा चित्रण गर्न थाले । समाजले त्यसैलाई स्वीकार्यो । फलतः हामी यौनप्रति कठोर बन्दै गयौं ।
त्यसको अलावा प्राचीन र मध्यकाल युगमा बनेका विभिन्न देवी देवताका मन्दिरका टुँडालमा कामसूत्रमा वर्णन गरिएका यौन समागमका विभिन्न आशनका चित्र, मूर्ति पनि छ्याप छ्याप्ती देखिन्छ । कलामा, धर्ममा यसरी खुल्ला रूपमा यौन विषय पाइए तापनि र पूर्वीय दर्शनमा यौनको विषद् चर्चा भएपनि नेपाली समाजले ‘यौन’ चर्चालाई अझैसम्म खुलेर स्वीकार गरेको पाइँदैन ।
समाजमा जस्तै आधुनिक नेपाली साहित्यमा पनि यौनले दर्बिलो स्थान लिन अझै सकेको देखिँदैन । अझ, यौनलाई मात्रै मुल धार बनाएर लेख्ने साहित्यकार त झन् किटान गरेर नै भन्दा पुष्कर लोहनीबाहेक अन्य छैनन् भन्दा पनि हुन्छ ।
नेपालमा यौन साहित्यको इतिहास हेर्दा धेरै पुरानो देखिंदैन । १९७४ सालमा प्रकाशित ‘सूक्ति सिन्धु’ लाई नै यौन साहित्यको पहिलो कृति मानिन्छ । यस कृतिमा २३ जना कविहरूको प्रेमिल यौन कविताहरू संकलन थियो । यो कृति कुनै कविको एकल कवितासंग्रह भने थिएन । र, यो कृति कविहरूले स्वेच्छाले लेखेका पनि थिएनन् । तात्कालीन शासन भार सम्हालेका भोग विलास र मोज मस्तीमा रमाएका राणाहरूले नै आफ्नो मनोरञ्जनका लागि विभिन्न कविलाई यौन विषयमा कविता लेख्न लगाएका थिए । समग्र कविताको संग्रहको नाम दिइयो ‘सूक्ति सिन्धु’ ।
महिलापुरुष बीचका प्रेम, प्रणय, कामकला, महिलाका नख शिख वर्णन गरिएका कविताहरू थिए त्यस संग्रहमा । सम्भवतः नेपाली साहित्यमा यौन विषयमा लेखिएको पहिलो पुस्तक त्यही नै हो । त्यसैले यौन विषयमा लेख्ने सर्जकहरू यस कृतिलाई प्रेम साहित्यको एक अभिन्न अङ्ग पनि मान्दछन् ।
राणाहरूले दरबारको मनोरञ्जनको लागि मात्रै लेखाएको हुनाले ‘सूक्ति सिन्धु’ दरबारबाहिर निस्कन पाएन । त्यसैले त्यसबखत उक्त सङ्कलन सर्वसाधारणले पढ्न पाएनन् । ‘सूक्ति सिन्धु’ ताका नै श्रृंगार रसमा साहित्य लेख्न रुचाउने प्रखर कवि मोतीराम भट्टको नेतृत्वमा थुप्रै शृङ्गारिक कविता, गजल समस्या पूर्तिका रूपमा लेखिएका थिए । तर, ती रचनामा पनि तीक्ष्ण यौन अभिव्यक्ति भएका कारणले नै सुक्तिसिन्धुलाई जस्तै राणा सरकारले प्रतिबन्ध लगाएको थियो । पछि २०१८ सालमा आइपुग्दा पनि दौतलविक्रम विष्टको यौन कथा प्रकाशन गरेबापत् ‘बगैँचा’ द्वैमासिक कार्बाहीमा परेको थियो ।
शालीन र शिष्ट तरिकाले मान्छेभित्र रहेको यौनमनोभावनालाई प्रस्तुत गर्नु यौन साहित्य हो । अष्ट्रियन दार्शनिक सिग्मण्ड फ्रोयडले व्यक्तिका यौन आवेग, संवेग र क्रियाकलापलाई सूक्ष्म रूपमा केलाएर तर्क र तथ्यसहितको एउटा छुट्टै दर्शनको व्याख्या गरे । उनको त्यो दर्शन “फ्रोयडको यौन मनोवैज्ञानिक सिद्धान्त” विश्वमा चर्चामा आयो । त्यसपछि विश्व साहित्यमा पनि उनको प्रत्यक्ष प्रभाव पर्यो । उनैको दर्शनको अनुयायी पनि देखिए ।
नेपाली साहित्यकार पनि फ्रोयडवादी दर्शनबाट प्रभावित भए । फ्रोयडको मनोवैज्ञानिक दर्शनको अनुसरण गर्दै यौनलाई शिष्ट तथा मर्यादाका साथ आफ्ना कथा र उपन्यासमा प्रस्तुत गर्ने साहित्यकारमा विश्वेश्वर प्रसाद कोइराला नै प्रहिलो साहित्यकार हुन् । उनले नेपाली साहित्यमा फ्रोयडको यौनमनोविज्ञानमा आधारित कथाहरू लेखी मानवजीवनको एउटा पाटोलाई कथामार्फत् सशक्त ढङ्गले प्रस्तुत गरे ।
उनको १९९२ सालमा शारदा पत्रिकामा प्रकाशित यौन मनोविज्ञानमा लेखिएको ‘चन्द्रवदन’ कथा नै पहिलो यौन कथाको रूपमा सर्व स्वीकार्य छ । त्यसपछि उनको फ्रोयडवादी सिद्धान्तबाट प्रभावित ‘सुम्निमा’ र ‘तीन घुम्ती’ उपन्यास पनि यौनमनोविज्ञानमा आधारित छ ।
अस्वाभाविक र असाधारणीकृत तथा अमानवीय यौन चित्रणलाई साहित्यले स्वीकार्दैन । यस दृष्टिले कोइरालाले आफ्ना यौनमूलक कथामा मनोवैज्ञानिक सत्य प्रकट गर्ने क्रममा जीवनको स्वाभाविकतालाई विशेष ध्यान दिएका छन् ।
त्यसपछि तारिणिप्रसाद कोइराला, विजय मल्ल, भवानी भिक्षु, गोविन्द गोठाले, मनु ब्राजाकी, पोषण पाण्डे, पारिजात हुँदै पुष्कर लोहनी, दौलतविक्रम विष्ट, प्रेमा साह, सीता पाण्डे, परशु प्रधानलगायतले सिग्मण्ड फ्रोयडको सिद्धान्तलाई अँगालेको पाइन्छ । त्री–सखी (माया, पद्मावती र भागिरथी) का कुनैकुनै कथामा पनि सुक्ष्म यौन मनोविज्ञानको सुगन्ध भेटिन्छ । तात्कालीन परिवेशमा समाजलाई चुनौती दिंदै यौन साहित्य लेखेर प्रकाशन गर्नु सानो हिम्मतको कुरा भने थिएन । चुनौती स्वीकार गरेर नै लेखिरहे त्यसबेलाका साहित्यकारले ।
अहिले समाज थोरै परिवर्तन भएको छ । मान्छेमा बौद्धिक चेतनाको स्तर उच्च छ । तैपनि आजको स्वतन्त्र र स्वच्छन्द समाजमा यौन विषयमा बोल्नु, लेख्नु, कुरा गर्नुलाई अनैतिक जस्तै ठानिन्छ । अझसम्म पनि नेपाली समाजले यौनलाई उदार ढङ्गले ग्रहण गर्न सकेको छैन । त्यसको प्रभाव लेखक साहित्यकारमा पनि परेकै छ । तैपनि समयानुकूल बदलिँदो अहिलेका नयाँ पुस्ता र उनीहरूको सोच र चेतनास्तरले छ्लाङ मारेको छ । हाउगुजीको रूपमा रहेको यौनलाई यो पुस्ताले अति सामान्यीकृत गराइदिएको छ ।
यो कुरालाई मध्यनजर राख्दै अहिलेको पुस्ताका केही लेखक कथाकारहरूले यौनविषयमा खुलेर लेख्न साहस गरेका छन् । मणि लोहनी, कुमार नगरकोटी, डा. शशी थापा पण्डित, अनुपम रोशी, रत्न प्रजापति, रामलाल जोशी, खेमराज पोखरेल, मन्दिरा मधुश्री लगायतका कथाकारले यौनका विषयमा लेखेका छन् । तर जति खुलेर लेख्नुपर्ने हो, त्यति खुलेर, उन्मुक्त भएर लेख्न भने सकेका छैनन् ।
अहिले बजारमा यौन साहित्यसम्बन्धी पुस्तकको बाढी त आएको छ, तर मानक नै तयार गर्नेगरी तहल्का मच्चाउने र ‘अब भने नयाँ अध्याय शुरू भयो है’ भन्ने यौन मनोविषयमा आधारित पुस्तक आएका छैनन् । त्यसैले त नेपाली यौन साहित्य भने जस्तो गरी फस्टाउन सकेको छैन ।
अर्को कुरा प्रत्येक लेखक पनि यही समाजको सदस्य भएकोले यसका मूल्य मान्यताको धङधङीबाट मुक्त भएर समाजको सँघार नाघेर तथा स्वतन्त्रताको उडान भरेर लेख्न सकेका छैनन् । नेपाली साहित्यको यौन मनोवैज्ञानिक धारमा कोइराला, शमशेर र गोठालेले जस्तो मानक बनाएका थिए अहिलेसम्म पनि त्यही मानक कायम छ । त्योभन्दा पछिका कथाकारहरूले पनि यौनको पृथक मानक स्थापना गर्न सकेका भने छैनन् ।
विश्व साहित्यमा यौनकै विषयमा लेखेका कितावहरूले नोबेल पुरस्कार पाइसकेको इतिहास छ । अब लेखक स्वयं आफ्नो समाजप्रति इमानदार रहेर लेख्न जरुरी छ । केही गलत मान्यताहरूलाई भत्काउने गरी लेख्नुपर्ने आवश्यकता छ । केही नयाँ मान्यताहरूको निर्माण गर्नका लागि पनि लेख्नुपर्ने आवश्यकता छ अब ।
समयको मागलाई बुझेर अलिकति साहस गरेर लेखनमा समाजको पुरानो मान्यता भत्काउन खोज्यो भने एउटा ट्याग लगाइदिन्छ यो समाजले । बौद्धिक र उच्च भनिएका समाजका आदर्शको खोल ओढेका ढोगीँहरूले । अझै भनौं कम्मल ओढेर घिउ खानेहरूले । त्यसमा पनि महिला त झन् प्रत्यक्ष प्रहारमा परेका छन् । यो प्रहारको भुक्तभोगी म स्वयं पनि हुँ । त्यसैले त पुरुषको तुलनामा महिला साहित्यकार जसले यौन मनोविज्ञानमा साहित्य सिर्जना गरेका छन् पुरानोदेखि नयाँ पुस्तासम्म गन्दा एक हातको औंला पनि भरिन्नन् ।
प्रेम र यौन साहित्य हेर्दा फरक भए–देखिए तापनि सँगसँगै जन्मिएका जुम्ल्याहा जस्तै हुन् । किनभने प्रेमको पराकाष्ठा यौन हो । यौन हुन पहिले महिला पुरुष बीचमा प्रेम हुनपर्छ । मन र सोच मिल्नुपर्छ । रुचि मिल्नुपर्छ । एक अर्का प्रति आकर्षण हुनुपर्छ । दुवैलाई समान चाहना हुनुपर्छ । समान समर्पण हुनुपर्छ । प्रेम विकसित हुँदै गएर यौनमा टुङ्गो लाग्छ ।
साहित्यमा प्रेम र यौन भावमा लेखिएका सबै कथा यौन कथा भनिन्छ । यौन शब्द आउने बित्तिकै वा यौन विषयमा लेखिएका सबै रचनालाई यौन साहित्यमा गनिन्छ । तर त्यो कुन प्रकृतिको विषयवस्तुमा लेखिएको छ ? भनेर छुट्टयाइएको हुँदैन । यौन साहित्य वा खासगरी यौन कथामा तीन वटा अलगअलग धार हुन्छ ।
पहिलो धार यौन मनोविज्ञान हो । फ्रायडको मनोविश्लेषण सिद्धान्तका अनुसार मानिसका असंख्य दमित इच्छाहरूको विशाल भण्डार मन हो । यौन कथा–उपन्यास फ्रोयडीय मनोविश्लेषणका साथसाथै यौनसम्बन्धित शिष्टताको घेराभित्र संरचित विषयमा लेखिन्छन् ।
फ्रोयडको विचारमा मनुष्यको मूल प्रवृत्तिहरूमा एक प्रवृत्ति हो रति । पूर्वीय साहित्यले पनि रति वा श्रृंगारको महत्वलाई ध्यान दिएको छ । मनोवैज्ञानिक साहित्यमा महिला र पुरुषका पारस्परिक आकर्षण विकर्षणका रहस्यमयतालाई खोतलेर मानवप्राणीका विभिन्न मानसिक रूपहरूलाई पनि उद्घाटन गरेर शृङ्गारिक रसमा लेखिन्छ । पात्रको विभिन्न रूपलाई मनोविश्लेषण गरेर बिम्ब र भावमा चित्रण गरिएको हुन्छ । कतिपय पात्र आत्मरतिमा रमाएका हुन्छन् । प्रत्यक्षभन्दा पनि यौन कल्पनामा डुबेर, अन्तर्मनमा रमाएर नै तृप्त हुन्छन् । बाह्य प्रकट पनि हुँदैन । नत कुनै कुचेष्टा नै गर्छन् ती पात्र ।
यौन साहित्यको दोस्रो धार हो यौन दर्शन । पूर्वीय होस् या पाश्चात्य होस् सबैले यौनलाई जैविक आवश्यकताको रूपमा व्याख्या गरेका छन् । इण्डिपस ग्रन्थीको विकास हुँदै जाँदा त्यसले अनेक किसिमका चाहानाहरू उत्पन्न हुन्छन् । यो चाहना बाल्यकालदेखि नै स्वप्रेममा निर्माण हुन्छ । त्यो पछि गएर स्वलिङ्गी तथा उमेर वृद्धिसँगै परलिङ्गी प्रेम हुन थाल्छ । विपरीत लिङ्गप्रति स्वभाविक आकर्षण हुन्छ । काम भावना जागृत हुन्छ । परिपक्व हुँदै जाँदा स्वभाविक क्रमिक परिवर्तनको साथमा स्थान्तरीकरण हुँदै जान्छ । यदि यसो भएन भने स्त्री र पुरुषको स्वास्थ्यमय जीवनको लक्षण नभएर बाधक हुन्छ । अनि अनेक किसिमको मनोरोग र विकृतिहरूको समेत शिकार हुने गर्छ ।
यौन मनोविज्ञान र यौन अपराधको बीचमा यौन दर्शन आउँछ । फ्रोयडीय धारणा अनुसार मानिसभित्र कामवृत्तिको भूमिका सर्वोपरी रहन्छ । यौन मानव जीवनमा अपरिहार्य हो तर पनि हामीले यौन सिद्धान्त, यौन दर्शन, यौन क्रियाकलाप सही ढङ्गले जानेका नै हुदैनौँ । परम्परागत मूल्य मान्यता भत्काएर बहस र छलफल गर्दैनौं । कथा–साहित्यमा यस्ता सामाजिक परम्परा र सांस्कृतिक मान्यताबाट निस्केर यौनको महत्त्व, तथ्य र कारणसहित लेखिन्छ । यसमा व्यक्ति आत्मरतिबाट बाहिर निस्कन्छ । कल्पना गरेर र कुण्ठित भएर बस्दैन । यौनलाई पवित्र ठान्छ । यौन मानव जीवनमा अपरिहार्य हो भन्ने विश्लेषण गर्छ । आफ्नो जीवनमा यौनको स्वतन्त्र भएर उपभोग गर्छ । यौनावेग रोकेर दमीत कामवासना बोकेर बस्दैन । यौनको सहज आपूर्ति गर्छ र फलतः ऊ तृप्त र स्वस्थ भएर बाँच्छ । यौन दर्शनमा साहित्य लेख्नु चुनौतीपूर्ण हुन्छ । किनभने हाम्रो समाज त्यति उदात्त भैसकेको छैन यौनको मामलामा ।
यौन सन्दर्भको तस्रो धार यौन अपराधका विषय हुन् । कथामा यौनको अलावा यौनाङ्ग र यौन क्रियाकलापको मात्रै सपाट वर्णन गरिएका कथा यौन कथा नभएर यौन अपराध कथा मान्न सकिन्छ । कथामा अश्लील यौन चित्रण र उदात्त क्रियाकलाप हुन्छ । त्यस्ता कथामा न मानवजीवनको स्वाभाविकता प्रष्टिन्छ न कला पक्ष नै सुन्दर हुन्छ ।
व्यक्तिभित्र भएका यौन चाहानाहरू कुण्ठित हुँदा उनीहरूमा बेचैनीको अवस्था सिर्जना हुन्छ । उनीहरू मानसिक र मनोवैज्ञानिक रोगी हुन्छन्, जसका कारण दिमागले अचेतन रूपमा अनेक किसिमका व्यवहारहरू गर्छ । यौन प्राप्तिमा बल प्रयोग गर्छन् । अनि सामान्यदेखि जघन्य अपराध पनि गर्न पुग्छन् । सत्य घटनामा आधारित तथ्यकथामा छापिने यौन कथा यौन अपराध कथा हुन् ।
यौन अपराध नियन्त्रणमा कडा कानूनको सजाय भन्दा पनि मनोवैज्ञानिक उपचारको जरुरत हुन्छ । नैतिक शिक्षा र सामाजिक सद्भावको विकासबिना यस्ता आपराधिक गतिविधि रोक्न सकिँदैन । स्कुलमा पनि नैतिक शिक्षाको आवश्यकता पर्छ । तर दिइँदै आएका नैतिक शिक्षालाई समेत बन्द गरेर निरस विषयलाई पाठ्यक्रममा राख्ने गर्छौं । यो गलत हो । पश्चिमा मुलुकमा भन्दा पूर्वीय मुलुकमा यौन अपराध, बलात्कार र यौन हिंसाका घटना धेरै हुनेगर्छ । किनभने पश्चिमाहरू यौनको मामलामा उदार छन् । जीवनमा यौनको आवश्यकता, महत्व र उपादेयताका बारेमा जानकार छन् । त्यसैले यौन मनोरोगबाट मुक्त छन् ।
पूर्वियाहरू यौनको मामलामा सङ्कीर्ण छन् । यौनलाई अझैसम्म हाउगुजीको रूपमा लिन्छन् । यस विषयमा बहस छैन । ज्ञान छैन । धेरैमा यौन अतृप्ति छ । तृप्तिको उपाय छैन । शरीरका स्वभाविक चाहना दमीत छन् । अनि मनोरोगी हुन्छन् । अन्त्यमा अपराधी र हिंस्रक बन्दछन् ।
अर्कोतर्फ, समाजमा हाम्रो पनि प्रमुख भूमिका हुन्छ भनेर मनोवैज्ञानिकहरू बताउँछन् । हामीले पनि यौनापराधिक गतिविधि रोक्न सक्छौं । घरमा आफ्ना सन्तानहरूलाई यस्ता घटनाहरूबाट दुरुत्साहन गर्न बाल्यावस्थादेखि नै यौन शिक्षा सिकाउनुपर्छ । फ्रोयडीय मनोविज्ञान बुझेर सोही अनुसार व्यवहार गर्नुपर्छ ।
—–
प्रस्तुत ‘सदृश्य पर्दा’ यौनकथाको पुस्तक हो । यौनका जटिलतम् समस्याहरूलाई कथाको माध्यमबाट अभिव्यक्त गर्ने मनसाय हो कथाकार द्वयको । पुस्तक सहलेखन हो कथाकार खेमराज पोख्रेल र कथाकार विश्वराज अधिकारीको । दुवै स्रष्टाका छ–छ वटा कथा यस संग्रहमा सङ्गृहीत छन् । स्वाभाविक छ कि दुवै स्रष्टाको लेखन धार र शैली भने फरक छ । ‘सदृश्य पर्दा’ यौनकथा संग्रहभित्र प्रवेश गर्दा कथाकार खेमराज पोखरेल तथा कथाकार विश्वराज अधिकारीको कथाको विषयवस्तुको भावभूमि तथा कथा बुन्ने प्रवृत्ति फरकफरक छ ।
हाल अमेरिकामा बसोबास गरिरहेका कथाकार खेमराज पोखरेल मूलतः त्रिभुवन विश्वविद्यालयका इतिहासका अवकास प्राप्त प्राध्यापक हुन् । जीवनको उत्तरार्धमा आएर साहित्यकार भए । साहित्यका बहु बिधामा कलम चलाएका उनले हालसम्म १५ वटा साहित्यिक कृति प्रकाशन गराइसकेका छन् ।
यथार्थमा ‘हरफनमौला’ प्रकृतिका उनले कथा, लघुकथा, इतिहास, नियात्रा र समीक्षाका संग्रहहरू प्रकाशन गरिसकेका छन् । योपल्ट उनी यौन कथाकारका रूपमा यो कथासंग्रह ‘सदृश्य पर्दा’ लिएर उभिएका छन् । उनीभित्र जस्तो स्व छ त्यही रूपमा उनको त्यो स्व लेखनमा इमानदारीपूर्वक प्रस्तुत भएका छन् ।
यो संग्रहमा खेमराज पोखरेल यौन दर्शनका कथा लिएर आएका छन् । उनका कथा हेर्दा उनलाई यौन क्रान्तिकारी कथाकार भन्न सकिन्छ । मान्छेका मनमा प्राकृतिक रूपमा कामेच्छाको प्रबल भूमिका हुन्छ जुन मनोवैज्ञानिक र जैविक यथार्थ हो । मान्छे भित्रका कुण्ठित र दमित वासनावृत्तिले निकासको मौका खोजिरहेको हुन्छ । यस्तै प्रवृत्तिलाई आफ्नो कथामा प्रयोग गरेका छन् उनले ।
नेपाली साहित्यमा अहिलेसम्म जति यौन साहित्य लेखिए प्रायः यौन मनोविज्ञानमा मात्रै लेखिएका छन् । यौन दर्शनमा कमै मात्रै लेखिएका छन् । यो कथासंग्रह ‘सदृश्य पर्दा’ भित्र सङ्गृहीत खेमराजका छ वटै कथा यौन दर्शनमा लेखिएका छन् । प्रेम र यौनबाट नै जिवनेच्छा जागृत हुने, यौनबाट नै जीवनमा मधुरता, आनन्द, उत्पेरणा र जीवनदायिनी उर्जा प्राप्त हुने कुरालाई पोखरेलले कथामा पस्केका छन् ।
उनका पात्र यौन अतृप्ति भएर कल्पनामा झोक्राएर, रोगी भएर बस्दैनन् । कुन्ठा बोकेर यौन अपराध गर्दैनन् । जीवनका महत्त्वपूर्ण आवश्यकता गाँस, बास, कपास जस्तै सहवास पनि हो भनेर बुझ्छन् र यौन कर्म गर्छन् । तृप्त हुन्छन् । सहज जीवन बाँच्छन् । एक बारको जुनी मज्जाले रमाएर बाँच्नुपर्छ भन्ने मान्यता राख्छन् ।
पूर्वीय देशका मान्छे जब अमेरिका वा विदेश पुग्छन् अनि उनीहरूलाई थाहा हुन्छ आफ्नो यौन जीवनको भोगाइ । कति कुन्ठा र अतृप्तिमा बाँचेको रहेछु भन्ने । अधिकांश पूर्वीय देशका महिलाको यौन जीवन प्रायः वैवाहिक बलात्कार शैलीको हुन्छ । लोग्ने नामको लाइसेन्स धारी पुरुषले एकलौटी यौनसुख पाउँछ । श्रीमतीलाई कहिल्यै महत्व दिदैन । उपभोग गर्छ पुरुषले । अनि महिला परम्रागत संस्कारको धङधङीमा बाचेका हुनाले उदात्त भएर यौन कर्म गर्नु पाप वा अधर्म सम्झन्छन् । दुवैको यौन सुखमा अतृप्ति हुन्छ ।
त्यसैले जब कथाकार अमेरिका पुग्छन् तब बुझ्छन् जिन्दगीको सत्यता र यथार्थ । तर त्यहाँ पुगेर पनि त्यहाँको परिवेश, कानुन र स्वतन्त्रता अनुसारको जीवन कतिले रोज्छ्न भने कति संस्कारको धङधङीबाट मुक्त हुनै सक्दैनन् । त्यस्तै पात्रको यथार्थ छ कथामा ।
खेमराजले पौराणिक पात्र कामदेव र रतिको मिथक अहिलेका पात्रमा रूपान्तरण गरेका छन् । योनि पूजाको सत्यता बताएका छन् । रति वा यौनलाई रहस्यमय भनेका छन् । योनि अपवित्र होइन, न त यौन नै अपराध हो । विर्यलाई गौंण मानेर गर्भाशय महत्त्वपूर्ण हो भन्छन् । यो भन्नू महिलाको उच्च सम्मान गर्नु हो ।
अत्यन्तै सुन्दर मानिएका कामदेव र रति देवीको सौन्दर्य यौनले गर्दा नै भएको भनेका छन् । यो कुरा विज्ञानले पनि पुष्टि गरेको छ कि मान्छेको मन र शरीर दुवै स्वस्थ र सुन्दर हुन यौन आवश्यक छ ।
खेमराजका कथामा अध्यात्मवाद र भौतिक वादको गहिरो चिन्तन छ । हामीलाई जे बुझेजस्तो लाग्छ त्यो भ्रम हो हामीले हिँडिरहेको बाटो सही जस्तो लाग्छ त्यो पनि भ्रम हो भन्छन् उनी । उनको कथा लेखनको प्रवृत्ति कोरा कल्पनाभन्दा डायस्पोरिक यथार्थ चित्रण हो । सबै कथामा अमेरिकाको पृष्ठभूमि र विभिन्न ठाउँको परिवेश छ । उनी मानव पात्रको यथार्थ लेख्छन् । पात्र धेरैजसो डायस्पोरिक नै छन् । मानवेत्तर पात्र छैनन् । कथामा परम्परागतभन्दा भिन्न शैली छ । पात्र आधुनिक छन् । आधुनिक चिन्तन र मनन छ ।
खेमराजको मूल प्रवृत्ति भनेको यौन दर्शन हो । हाउगुजी र पापको रूपमा रहेको यौनलाई उनले अचम्मको दर्शन प्रतिपादन गरेका छन् ।
खेमराजको दर्शनले भन्छ — मान्छेले हाम्रो जीवन एकबारको जुनी हो भन्ने बिर्सन्छन् अनि आफ्नै जीवन विविध साङ्लोले बाँधेर आफ्नै पिरलोको खोर आफैं निर्माण गर्छन् । न त आध्यात्मवादले भनेको ‘आफैंलाई चिन’ भनेको कुरा बुझ्छन्, न त भौतिकवादले भनेको एकपल्टको जुनी हो मोज गर भन्ने कुरा बुझ्छन् । र, त्यसैत्यसै समग्र जीवनसँग डराएर आफूलाई सुली चढाउँछन् ।
नेपालबाट अमेरिका पसेका कथाकार खेमराज पोखरेलमा पश्चिमी खुला समाजको टड्कारो प्रभाव परेको छ । उनले जन्माएका पात्रहरू यौन अतृप्त छन् तर कुन्ठित भएपनि अन्तमा मुक्त भएका छन् । यौन उत्सुकता, यौन तृष्णा र यौन सुखापेक्षी देखिन्छन् । उचित पात्रसँग आफ्नो प्रस्ताव निर्धक्क राख्छन् अनि तृप्त हुन्छन् । बराबरीको सम्भोग गर्छन् । त्यसकारण कथाकार खेमराज पोखरेलको कथा लेखनको प्रवृत्ति यौन दर्शनमा आधारित छ भन्न कुनै समस्या छैन ।
—-
यसैगरी कथाकार विश्वराज अधिकारी पनि बहु विधामा कलम चलाउने स्रस्टा हुन् । उनले पनि साहित्यका लगभग सबै विषयमा कलम चलाएका छन् । उनले प्रकाशन गराएका चालीसवटाभन्दा बढी संग्रहले नेपाली साहित्यको भण्डार भरेका छन् । श्रीवृद्धि गरेका छन् ।
कथाकार अधिकारी तराईमा जन्मे हुर्केका हुन् । काठमाडौँमा जीवनयापन गरेका हुन् र हाल अमेरिकामा बसोबास गर्दै आएका छन् । त्यसैले उनको आँखामा तराइको मानचित्र थपक्क बसेको छ । धपक्क बलेको छ । अनि उनको कलममा तराइको जनजीवन दौडेको देखिन्छ ।
अधिकारी खासगरी तराई मधेस मूलका सामाजिक र सांस्कृतिक जीवनका यौन कथा लेख्छन् । उनका यस संग्रहका छ वटै कथाहरूले विभिन्न वर्ग, उमेर लिङ्गका व्यक्तिहरूको यौन मनोविज्ञानका विभिन्न पाटाहरूको यथार्थ चित्रण र विश्लेषण गरेका छन् । ‘सदृश्य पर्दा’ यौनकथा संग्रहमा समेटिएका उनका कथाहरू वास्तवमा तराईमा प्रचलनमा रहेका सांस्कृतिक यौनका कथाहरू हुन् । उनका कथाको विषयवस्तु परम्परादेखि चलेर आएका यौनजन्य संस्कृतिबाट प्रभावित तथा निर्देशित छन् ।
प्रत्येक मान्छे दुई वटा संसारमा एकैपटक बाँचिरहेको हुन्छ । एउटा दृश्य अर्को अदृश्य । कथाकार अधिकारी अदृश्य संसारको ऐना बनेका छन् यो संग्रहमा । त्यो ऐनाले समाजको सार्वजनिक नभएका रूप एवम् कुरूप अनुहारको सुन्दर तस्बिर परावर्तन गरेको छ ।
कथाकार अधिकारीका सबै कथा सत्यसँग नजिक छन् । सूक्ष्म विषयका छन् । पात्रहरू शुरुवातमा सामान्य र स्वभाविक लाग्छन् । पछि, क्रमशः दमित कामवासनाको सिकार हुन्छन् र यौन कुण्ठाले ग्रसित देखिन्छन् । तिनै यौनतृप्ति खोज्ने र यौन—कुण्ठित व्यक्तिले समाजमा घटाएका सांस्कृतिक घटनाले कथाको स्वरूप धारण गरेका छन् ।
कथाकार अधिकारीको मुख्य प्रवृत्ति यौनमनोविज्ञानको विश्लेषण गर्नु हो । समाजको सांस्कृतिक यौन जीवनको शल्यचिकित्सा गर्नु हो । उनले समाज र व्यक्तिको सूक्ष्म अध्ययनपछि त्यो अध्ययनलाई यौनकथामा उतारेका छन् । सामान्य व्यक्तिको आँखामा सामान्य लागेका घटना उनका आँखामा विशेष बनेका छन् । जसरी कवि, कथाकार वा साहित्यकारका आँखामा बिजाउने गर्छन् वा विशेष बन्ने गर्छन् । त्यसैले अधिकारीका यौनकथा सामाजिक यथार्थ चित्रणमा सफल छन् ।
विशेषज्ञहरू मनोविज्ञान मध्ये सबैभन्दा जटिल मनोविज्ञान यौन मनोविज्ञानलाई मान्छन् । यौन मनोविज्ञानमा बहस गर्न, लेख्न वा बोल्न मानव मनोविज्ञानको सुक्ष्म अध्ययन जरुरी हुन्छ । कथाकार अधिकारी समाज र मानव मनोविज्ञानको गहिरो अध्येता हुन् भन्ने देखिन्छ कथामा ।
स्थानीय रङ बटुलेर यथार्थको क्यानभासमा मिलाएर कथामा पोत्नु कथाकारको अर्को प्रवृत्ति देखिन्छ ।
धेरै शब्द बज्जिका भाषाका छन् । अर्काको मातृ भाषामा लेख्न सक्नु पनि उनको थप योग्यता मान्न सकिन्छ । कथावस्तुको टिपाइ तथा भाषाको समग्र हिसाबबाट हेर्दा कथाकार विश्वराज अधिकारीका कथालाई आञ्चलिक स्वादको पनि भन्न सकिन्छ ।
मधेसी बाजी समाजमा लोग्नेस्वास्नी बाहेकमा लुकेर गरिने, सहमतिमा गरिने र अरूको सहयोगमा गरिएका यौन सम्बन्ध कथाकारले आफ्नो कथामा विषयवस्तु बनाएका छन् । कथाको विषयवस्तु अनुरूप आएका स्वभाविक पात्र र पात्रको स्वतस्फूर्त सम्वादले विश्वराजका कथाका पात्रहरू स्वतन्त्र नै देखिन्छन् । कथाकारबाट निर्देशित छैनन् । सांस्कृतिक परम्पराको यौन पक्षका सत्य पात्रको कुरा भन्ने माध्यम बनेका देखिन्छन् कथाकार । हरेक कथामा आएका हरेक पात्रको यौन क्रियाकलाप र यौन मनोविज्ञान छर्लङ्ग देखिन्छ । यसरी हेर्दा कथाकार विश्वराज अधिकारी नेपालको तराईको आञ्चलिक तथा सांस्कृतिक विषय उठाउने कथाकार हुन् भन्न सकिन्छ ।
—-
अब अन्तमा, प्रायः हरेक व्यक्तिको समस्याको रूपमा रहेको यौन जस्तो विषयमा कथा लेख्नु चुनौतीपूर्ण हो । जे होस् यो आँट गरेकोमा कथाकार द्वय खेमराज पोख्रेल र विश्वराज अधिकारी बधाईका पात्र बनेका छन् ।
खासगरी धेरैले लेख्न नसकेका र समाजमा खोजीमा एक नम्बर तर बोलीमा लुकाइएको विषयमा कथा लेख्ने आँट कथाकार द्वयले गरेका छन् ।
पुस्तकमा संगृहीत कथाहरूमा हामी र हाम्रा नै यथार्थ छ । पीडा छ । समस्या छ । निकास छ । कथा पढ्दा लाग्छ हामीले नै भोगिरहेका, देखिरहेका हाम्रै कथा हुन् । हाम्रै समाजमा भएका र हुनेगरेका घटना हुन् ।
यो संग्रह स्वरूपमा एउटै देखिएता पनि यथार्थमा प्रवृत्तिका हिसाबले दुइटा कथासंग्रह भेटिन्छ । यस संग्रहभित्र दुई छोटा छोटा कथासंग्रह छन् । आकार, स्वाद र प्रस्तुतिमा फरक देखिन्छ । सामन्जस्यता भनेको एउटा मात्र छ त्यो हो– एउटै आवरणमा अटाइनु । कथाकार खेमराजका कथाले डायस्पोरिक आधुनिक यौनका विषय र समस्या उठाएका छन् भने कथाकार विश्वराजका कथाले नेपालको तराईमा प्रचलनमा रहेका सांस्कृतिक यौनलाई कथावस्तु बनाएका छन् । त्यसैले दुवै कथाकारको कथास्रोत, कथाप्रयोजन, कथाबुनौट तथा कथासन्देश सबै फरक छन् । समानताको कुरा भनेको यौनको त्यान्द्रो हो ।
जे होस्, ‘सदृश्य पर्दा’ का कथाहरूले फरक फरक स्वाद दिने छन् । यो संग्रहले नेपाली पाठकहरूको मनमा ठाउँ पाउने छ । समीक्षकहरूको ध्यान तान्ने नै छ । अनि, नेपालमा यौन साहित्यको इतिहास लेख्दा यो पुस्तक “सदृश्य पर्दा“ ले आफ्नो ठाउँ अवश्य लिने नै छ । चर्चा बटुल्ने नै छ भन्नेमा मेरो पूर्ण विश्वास छ । पुनः लेखक द्वयमा हार्दिक बधाई र कृतिको सफलताको शुभकामना !!
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।