स्थायी बसोबास इटहरी भएका रुद्र अधिकारी ‘निर्दोषी’ को जन्म भने छथर, ओखे-१, तेह्रथुममा भएको हो । हाल अधिकारी संयुक्त अधिराज्यको लण्डनमा बस्नु हुन्छ । साहित्यमा अति नै सक्रिय किसिमले लाग्नु भएको अधिकारीले लघुकथा-लेखनमा धेरै पुरस्कारहरू पनि पाउनु भएको छ ।
उहाँले लेख्नु भएको लघुकथासंग्रह ‘दृष्टि’ हाम्रो लघुकथा केन्द्र, दक्षिणकाली, काठमाडौंले यसै वर्ष (२०८० सालमा) प्रकाशित गरेको छ । लघुकथा लेखनमा आफ्नो छुट्टै शैली, विषय र प्रस्तुति प्रयोग गर्नु हुने अधिकारीका लघुकथाहरू पाठक वर्गमा निकै लोकप्रिय पनि छन् । यस बाहेक उहाँले गीत, कविता, भजन, मुक्तक र कथा पनि लेख्नु हुन्छ । विगतमा, नाटक लेखन, निर्देशन, अभिनय साथै म्युजिक भिडियोको निर्माण समेत गर्न भ्याउनु भएको छ ।
प्रस्तुत छ साहित्यपोस्टका लागि विश्वराज अधिकारीले साहित्यकार रुद्र अधिकारीसँग गरेको कुराकानी ।
आफ्नो बारेमा छोटकरीमा भन्नुहोस् न ।
– म अहिले कच्चा पदार्थ जस्तै छु, अन्तिम उत्पादन नबनेसम्म आफ्नू बारेमा भन्न पनि गाह्रो हुँदो रहेछ । वास्तवमा म आफैलाई सिर्जना गर्दै छु । अन्वेषण जारी छ ।
आफैले आफैलाई सिर्जना गर्दै छु भन्नुभयो, यो कसरी सम्भव हुन्छ ?
– सम्भव छ । सिर्जनाले पहिचान बन्दै गएको छ मेरो । यो सत्य हो । अहिले पनि म को हुँ ? भनेर आफूले आफैलाई चिन्ने प्रयासमा छु । सिर्जनामा आफैलाई खोज्दै सिर्जना गरिरहेको छु ।
लण्डनसम्म कसरी आइ पुग्नु भयो ? नियति वा इच्छाले तानेर ?
– (हाँस्दै) हवाई जहाज चढेर आएको । मेरो मतलब म वैधानिक रूपमा नै लन्डन आएको हो । तथ्याङ्क अनुसार सन् २०२३ जुनसम्ममा ५२,५३० आप्रवासीहरू अवैधानिक रूपमा बेलायतमा प्रवेश गरेका थिए । ती मध्ये ८५% साना डुङ्गाहरू मार्फत आइपुगेका थिए । हजारौं/लाखौंको संख्यामा यसरी ज्यान जोखिममा राखेर बाध्यतावश होस वा रहर र अध्ययनको लागि होस्, आप्रवासीहरूको आउने क्रम जारी नै छ ।
जीवनमा कहिलेकाहीँ अपर्झट निर्णय लिनु पर्दो रहेछ । त्यसैको उपज हो मेरो लण्डन आगमन । विदेश जाने मेरो न कुनै पूर्व योजना थियो न त इच्छा नै । नियति भनौं भने नियतिलाई दृढ इच्छा शक्तिले वशमा राख्न सकिन्छ भन्ने मान्यतालाई म विश्वास गर्छु । मैले नेपालमा हुँदा आर्थिक, सामाजिक र शैक्षिक गतिविधिहरू गरिरहेको अवस्था थियो । उस बेला मनमा नआएको होइन ‘नेपाल जस्तो अविकसित देशमा मानिसले यति धेरै कार्य गर्न सकिन्छ भने बेलायत जस्तो विकसित देशमा पुगियो भने त के चैँ गर्न सकिँदैन होला !’ ‘यही भावनाले मलाई लण्डन ल्याएको हुनु पर्छ ।
लण्डनमा बस्ने नेपाली समाज अति नै हाँसिखुसीमा बाँचेको देखिन्छ । त्यस्तो हो ?
– मिठो प्रश्न । हाँसो पनि दुई प्रकारको हुँदो रहेछ । एउटा फेसबुक, इन्स्ट्राग्राम, वा टिकटकमा देखिने बनावटी र अर्को वास्तविक । हुन त हामी नेपालीहरूको इमानदारिता, सोझोपन, मेहनत, लगनशीलता र गोर्खालीहरूको बहादुरीले गर्दा होला, छुट्टै पहिचान बनेको छ । वास्तवमा अलिकति दुख गर्छु भन्नेलाई लन्डनमा हाँसिखुसीमा बाँच्न गाह्रो भने छैन ।
अहिले नेपालीहरू किन लस्कर लागेर विदेशतिर लागेका होलान् ? नेपालमा बेरोजगारी भएर वा विदेश जाने तीव्र इच्छाले गर्दा ?–
– युद्ध, बाध्यता, रोजगारी, शिक्षा र अवसरको खोजीमा मानिसहरू युरोप, अमेरिका, अस्ट्रेलिया लगायतका विकसित विदेशतिर ज्यान जोखिममा राखेर जाने गरेको पाइन्छ । ठूलो महत्त्वाकाङ्क्षा नहुनेहरू केही वर्ष छिमेकी देश भारत र खाडी मुलुकमा गएर दुख गर्न र नेपाल फर्किएर बाँकी जीवन परिवारसँगै बिताउने सोचमा रहन्छन् । भनिन्छ, दुखको मूल कारण तीव्र इच्छा हो । विदेश नगई नछोड्ने तीव्र इच्छा हुनेहरूले कतिपय मानव तस्करीलाई मोटो रकम बुझाएर घर खेत लिलाम मात्र गरेका छैनन्, ज्यानै गुमाएका छन् । यी सबै समस्याहरूको मूल जरो राजनैतिक अस्थिरता हो । आफ्नो सुनौलो भविष्यको सुनिश्चितता गर्ने आधारशिला, वातावरण र सम्भावना नदेखेर नेपालीहरू विदेशतिर लागेको भन्ने बुझाइ हो मेरो ।
विश्वव्यापी पासपोर्टको आधिकारिकता क्रममा नेपाल पुच्छरमा छ । देशको आर्थिक संवृद्धि र विकास गर्न सके देश भित्र नै रोजगारी सृजना हुन सक्ने र पासपोर्टको आधिकारिकता पनि बढ्न सक्छ । जसले गर्दा ‘बाह्र वर्षमा खोलो पनि फर्कन्छ’ भने जस्तै स्वदेश फर्कने नेपालीहरूको लस्कर नलाग्ला भन्न सकिँदैन ।
‘नेपाली समाज अहिले चरम निराशमा डुबेको छ ।‘ यो भनाइ तपाईंलाई सही लाग्छ ?
– एक हदमा यो भनाइ सही हो तर निराश भएर हरेस नै खानु पर्ने अवस्था छ भन्ने चाहिँ लाग्दैन । हुन सक्छ यो निराशाको चरमता अब बन्ने समृद्ध नेपालको संकेत हो । विगतका केही परिघटना र राजनैतिक उथलपुथलले नेपालीहरूको चेतनाको स्थिर अदृश्य रूपमा माथि उठाएको छ । राजनीतिक स्थिरता सँगै आर्थिक संवृद्धिको योजनालाई कार्यान्वयन गर्न सके चरम निराशमा डुबेको नेपाली समाजलाई आशामा बदल्न बेर लाग्दैन । भनिन्छ ‘सुरु गर्न कहिल्यै ढिलो हुँदैन ।”
अब केही साहित्यिक कुरा गरौं । वर्तमानको नेपाली साहित्यले नेपालीहरूलाई कस्तो सन्देश दिए जस्तो लाग्छ ?
– तपाईँको प्रश्नजस्तै ‘नेपाली समाज अहिले चरम निराशामा डुबेको छ‘ भने अनुसार चरम निराशामा डुबेको समाजबाट सिर्जित वर्तमानको नेपाली साहित्यले नेपालीहरूलाई कसरी सकारात्मक सन्देश दिन सक्छ ? भन्ने प्रश्न उब्जन्छ । यो कटु सत्य पनि हो । तर यो निराशा नेपाली साहित्यका लागि शक्तिमा बदल्ने कसी हुन सक्छ र भइरहेको पनि छ । वर्तमानको नेपाली साहित्यले नेपालीहरूलाई मलम पट्टी लगाउने काम गरेको छ । नेपाली साहित्यको उन्यनमा भएको सक्रियताको दृष्टान्त सामाजिक माध्यममा छताछुल्ल देख्न सकिन्छ।
साहित्यमा लाग्न तपाईंलाई कुन परिस्थिति वा कस्तो घटनाले प्रेरित गर्यो ?
– परिस्थिति वा घटना भन्दा पनि विद्यालय पढ्दादेखि जुनियर रेडक्रस सर्कल लगायत विभिन्न संघ संस्थामा आबद्धता हुँदै गइयो । साहित्यिक कार्यक्रममा सहभागिता र आयोजना, दिनचर्या नै बन्दै गएको थियो । हवाई पत्रमा रचना प्रेषणबाट शुरु भएको लेखन भित्ते पत्रिका प्रकाशन, पुस्तकालयको स्थापना हुँदै देशमा कु भएको तथा पत्र-पत्रिका र सञ्चार माध्यम निषेध भएको बेलामा सम्पादक भएर कम्प्युटर प्रिन्ट गरी “लोकतान्त्रिक दैनिक” पत्रिका प्रकाशनको जोखिम समेत उठाइएको थियो । यसरी समयले साहित्यमा लाग्न प्रेरित गर्यो ।
तपाईँले आफ्नो नामको पछाडि निर्दोषी लेख्ने गर्नु भएको छ । किन निर्दोषी लेख्नु भएको होला ?
– निर्दोषी भन्दा धेरैले ‘तिम्रो कुनै दोष नै छैन त ?’ भन्ने प्रश्न गर्ने गर्छन् । ‘यो त घमन्डीपन भएन ?’ भन्ने प्रश्न पनि उठ्न सक्छ । कुनै परिस्थितिमा म दोषी नहुँदा पनि तेस्रो पक्षको नजरमा म दोषी जस्तो देखिएको हुन्छु तर यथार्थमा म निर्दोष हुन्छु । यसरी भुलवश वा परिस्थितिवश दोषी देखिएको अवस्थामा म निर्दोष छु है भन्ने आशयमा निर्दोषी लेखेको हुँ ।
तपाईंले लघुकथा लेख्दा कस्ता विषयहरू उठान गर्नु हुन्छ ?
मेरा लघुकथामा अधिकांश विषयहरू सामाजिक हुने गर्छन् । केही पृथक् र तेस्रो कोणबाट प्रस्तुत गर्ने मेरो प्रयास हुन्छ । समस्याको उठान मात्र नगरेर समाधान समेत दिने मेरो कोसिस रहन्छ ।
साहित्य-लेखनमा तपाईंलाई मन परेको क्षेत्र कुन हो ? कथा, लघुकथा, कविता, वा नियात्रा ?
– सबै विधाहरू मेरा लागि हातका औंला समान हुन् अर्थात् उत्तिकै मन पर्छन् । पछिल्लो समयमा लघुकथा मेरो लागि मन पर्ने विधा भएको छ । लघुकथाको स्वाद चटनी वा डिजर्ट अथवा मिठाई खाए जस्तो ।
साहित्य कसको लागि सिर्जना गर्नु हुन्छ ? आफ्नो आत्म सन्तुष्टिको लागि वा समाजको हितका लागि ?
– एक तिर दुई निसाना ।
सञ्चार र मनोरञ्जनको दृष्टिकोणले तपाईंलाई कथा र लघुकथा मध्ये कुन चाहिँ बढी प्रभावकारी हो जस्तो लाग्छ ?
– जटिल प्रश्न । कथा र लघुकथा दाजुभाइ हुन् । दुवै आख्यान विधाका पक्षपाती हुन् । एकको अर्कासँग तुलना नै गर्न मिल्दैन । सञ्चार र मनोरञ्जनको दृष्टिकोणले मात्र हेर्दा कथा र लघुकथा मध्ये छोटो आयाम, एक-दुई मिनेटमा नै पढिसकिने र अन्त्यमा झड्का दिने भएकोले होला बढी प्रभावकारी लघुकथा हो जस्तो लाग्छ । खेलाडीलाई तुरुन्त शक्ति दिन ग्लुकोज खान दिए जस्तो ।
आफ्ना रचनाहरूमा साहित्यकारहरूले आदर्श र नैतिकताका जत्ति कुरा गरेको पाइन्छ सोही अनुसार त्यस किसिमका साहित्यकारहरू आदर्श र नैतिकवान् भएको पाउनु भएको छ ?
– यसमा मेरो फरक विचार छ । साहित्य र साहित्यकार फरक कुरा हो । अर्थात् सर्जक र सिर्जना एउटै होइनन् । सर्जक व्यक्ति वा व्यक्तिगत हुन्छ सिर्जना बाहिरिए पछि सामूहिक वा सार्वजनिक हुन्छ । त्यसैले, कसले लेखेको हो ? लेखक कत्तिको आदर्शवान् र नैतिकवान् छ ? भन्ने नजरबाट हेरिनु हुँदैन । फगत साहित्यको रूपमा मूल्याङ्कन गरिनु पर्छ । यसो भनिरहँदा मैले साहित्यकारहरू आदर्श र नैतिकवान् नहुँदा पनि हुन्छ भन्न खोजेको होइन । साहित्यकारहरू आदर्शवान् र नैतिकवान् नहुने हो भने न पाठकको मन जित्न सकिन्छ न त विश्वास हासिल गर्न ।
साहित्य नभएमा समाज कस्तो होला ?
– पानी बिनाको माछो जस्तो ।
केही परदेशका पनि कुरा गरौं । ब्रिटिस साहित्यसँग तुलना गर्दा नेपाली साहित्यलाई कहाँ पाउनु हुन्छ ?
ؘ– नेपाली साहित्य पनि कम ओजको छैन । तर, हामीले उठाउने विषयवस्तु र हाम्रा सिर्जनाहरू अन्तर्राष्ट्रियकरण गर्न कतै हामी चुकिरहेका त छैनौं ! विगतलाई बिचार गरौं त ! लक्ष्मीप्रसाद देवकोटा, वालकृष्ण सम, पारिजात, विश्वेश्वरप्रसाद कोइराला, गुरुप्रसाद मैनाली वा माधव घिमिरे बेलायत, युरोप वा अमेरिकामा जन्मिएका भए उनीहरूको सिर्जनाले कुन स्थान पाउँथ्यो होला ? नेपाली साहित्यको विकास कछुवाको चालमा चलिरहेको छ भने ब्रिटिस साहित्य बुलेट ट्रेनको गतिमा ।
साहित्य लेखनमा ब्रिटिस लेखकहरूले उठाउने मुद्दा र नेपाली लेखकहरू उठाउने मुद्दा बिच के समानता छ के भिन्नता पाउनु भएको छ ?
– नेपाली लेखकहरू भारतीय साहित्यबाट बढी प्रभावित भएको पाइन्छ । नेपाली लेखकहरू अन्धविश्वास, कुरीति, कुसंस्कृति, विकृति, विसङ्गति, धार्मिक, पौराणिक, सांस्कृतिक र राजनैतिक मुद्दामा बढी केन्द्रित हुने र सोही विषयलाई तलमाथि गरेर अलिकति फरक शैलीमा प्रस्तुत मात्र गर्ने गरेको पाइन्छ । सिर्जनशीलता र नयाँ विषयवस्तु पस्किन नसक्दा नेपाली लेखक भन्दा पाठक अगाडि पुगेको देखिन्छ । ब्रिटिस लेखकहरूले भने कतिपय पूर्वीय दर्शन र साहित्यबाट विषयवस्तुलाई टिपेर पश्चिमा दर्शन र साहित्यसँग फ्युजन गरेर नयाँ-नयाँ साहित्यको रसास्वादन गराइरहेको पाइन्छ । ब्रिटिस साहित्यमा स्वैर कल्पना र भय जस्ता मुद्दाहरू लेखक र पाठक वर्गका रोजाइका विषय बनिरहेका छन् । यसरी, म ब्रिटिस र नेपाली लेखकहरूले उठाउने मुद्दाहरूमा समानता भन्दा पनि गहिरो खाडल देख्दछु ।
ब्रिटिस लेखकहरू साहित्य मार्फत पाठकहरूलाई कस्ता सन्देश दिन चाहन्छन् ?
– उदाहरणको रूपमा दुई लेखकको सन्देशलाई लिँदा । चर्चित ब्रिटिस लेखक स्टीफन किङका कथाहरूमा असल र खराबका बीचको सङ्घर्षलाई व्यापक रूपमा उठाइएको पाइन्छ । अर्की बहुचर्चित लेखिका जेके रोलिङले आफ्नू सपना पुरा गर्न आफू र आफ्नू सपनामा विश्वास गरेर लगनशील भएर निरन्तर लागिरहनु पर्छ भन्ने सन्देश दिने खोजेको पाइन्छ ।
ब्रिटिसहरू विश्वका अति स्वतन्त्रता उपभोग गर्ने नागरिकहरू मध्ये पर्दछन् । उनीहरूले उपयोग गरिरहेको स्वतन्त्रता उनीहरूको साहित्य सिर्जनामा कत्तिको देख्न पाइन्छ ?
– व्यक्तिवाद, मूर्खता, औपचारिकता, प्रयोगात्मकता र प्रतीकवादलाई आधुनिक ब्रिटिश साहित्यका मुख्य विशेषताको रूपमा लिने गरिन्छ ! स्वतन्त्रतालाई व्यापक रूपमा प्रयोग गरेको पाइन्छ । कुनै पक्ष वा विपक्षमा खुलेर लेख्नु ब्रिटिस लेखकहरूको विशेषता नै हो ।
अन्त्यमा, पाठकहरूलाई केही भन्ने इच्छा छ ?
– किताब कसैले किन्दैन, किताब लेख्नु र प्रकाशित गर्नु बेकार छ, पैसाको मात्र नाश भन्ने मानसिकताबाट माथि उठ्नु पर्ने बेला आएको छ । वर्तमान परिस्थितिमा, नेपाली लेखकहरू आफैलाई समीक्षा गर्ने बेला आएको छ । अब उपरान्त पाठकहरूको रुचि र स्तरलाई ख्याल गरेर आफूले पनि अध्ययन, अनुसन्धान गरेर, साहित्यको सिर्जना गर्न सके मात्र पठन संस्कृतिको विकास हुन्छ र पाठकले पुस्तक किनेर पढ्ने छन् ।
धन्यवाद !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।