एपेक नेपाल स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा एपेक राष्ट्रिय काव्यमहोत्सवको आयोजना गर्दै छ । साउन १२ गते, शनिवार काठमाडौंस्थित नेपाल पर्यटन बोर्डमा आयोजना हुने उक्त कार्यक्रममा सातै प्रदेशका १४ कविले आफ्ना कविता प्रस्तुत गर्दैछन् । त्यसमध्ये एक हुनुहुन्छ –हेमप्रकाश मन्जिल ।

प्रस्तुत छ, कवि प्रज्वल अधिकारीले हेमप्रकाश मन्जिल  सँग गरेको कुराकानी :

कर्णाली प्रदेशमा बसेर कविता लेखिरहनु भएको छ । नेपाली गजलमा महत्त्वपूर्ण भूमिका निभाउँछ यो प्रदेशले । यो प्रदेशमा बसेर कविता लेखिरहनु भएको छ के कस्ता चुनौती र अवसर छन् ?

– कविता लेखेर ठूला छापा माध्यम तथा पब्लिकेशन सम्म पुग्न मुश्किल हुने, देशमा हुने ठुला साहित्यिक प्रोग्राममा अवसरको कमी हुने जस्ता चुनौतीहरू छन् ।

कर्णाली प्रदेशमा नसुनिएका, नलेखिएका र देशका अन्य भेगका मान्छेहरूले नभोगेका उत्पीडनका, विभेदका, भोकका, रोगका, अभावका कथाहरू छन्, यिनै कथाहरूलाई लेख्न सक्यो भने अवसरको रूपमा लिन सकिन्छ होला ।

तपाईं कविता किन लेख्नुहुन्छ ?

– ठ्याक्क यही कारणले कविता लेख्छु भन्न मुश्किल कुरा हो

कहिले आत्मसन्तुष्टि लागि लेखिन्छ, कहिले विभेद, उत्पीडन, रोग, भोकका विषयले हिर्कायो भने लेखिन्छ ।

खासमा आफ्नो हृदयको आवाज सुन्नको लागि कविता लेख्छु ।

एपेक नेपालले तपाईंको प्रदेशबाट प्रतिनिधि कविको रूपमा यहाँलाई सम्झेको छ कस्तो लाग्दैछ ?

– मेरो लागि यो अवश्य खुशीको कुरा हो । नेपाली कवि र कविताको लागि एपेक नेपालले यो बृहत् कार्यक्रम आयोजना गरेकोमा एपेक नेपाललाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।